YouVersion लोगो
खोज आइकन

लूका 13:18-35

लूका 13:18-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब उहाँले भन्‍नुभयो, “परमेश्‍वरको राज्‍य केजस्‍तो छ? त्‍यसको तुलना म केसँग गरूँ? त्‍यो रायोको बीउको एउटा दानाजस्‍तो हो, जो एक जना मानिसले लगेर आफ्‍नो बारीमा रोप्यो, र त्‍यो बढ़ेर एउटा रूख भयो र आकाशका चराचुरुङ्गीहरूले त्‍यसका हाँगाहरूमा गुँड़ बनाए।” फेरि उहाँले भन्‍नुभयो, “परमेश्‍वरको राज्‍यलाई म केसँग तुलना गरूँ? त्‍यो खमिरजस्‍तो हो, जो एउटी स्‍त्रीले पच्‍चीस किलो पीठोमा मिसाई, र पूरै पीठो खमिरी भइहाल्‍यो।” अब सहर-सहर र गाउँ-गाउँ भएर यात्रा गर्दै शिक्षा दिँदै उहाँ यरूशलेमतिर जानुभयो। कुनै एक जनाले उहाँलाई सोध्‍यो, “प्रभु, के उद्धार पाउनेहरू थोरै छन्‌?” तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साँघुरो ढोकाबाट पस्‍ने प्रयत्‍न गर, किनकि, म तिमीहरूलाई भन्‍दछु, धेरै जना पस्‍न खोज्‍नेछन्, तर सक्‍नेछैनन्‌। घरका मालिकले उठेर ढोका बन्‍द गरिसकेपछि, तिमीहरू बाहिर उभेर यसो भन्‍दै ढोका ढकढक्‍याउनेछौ, ‘प्रभु, हाम्रा निम्‍ति ढोका खोलिदिनुहोस्‌’, र उनले जवाफ दिएर भन्‍नेछन्, ‘तिमीहरू कहाँबाट आएका हौ म चिन्‍दिनँ।’ “तब तिमीहरू भन्‍न लाग्‍नेछौ, ‘हामीले तपाईंकै सामुन्‍नेमा खायौं र पियौं, अनि हाम्रा गल्‍लीहरूमा तपाईंले शिक्षा दिनुहुन्‍थ्‍यो।’ “उनले भन्‍नेछन्, ‘म तिमीहरूलाई भन्‍दछु, तिमीहरू कहाँबाट आएका हौ म जान्‍दिनँ। दुष्‍ट काम गर्ने हो, मबाट दूर होओ।’ “जब तिमीहरूले अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्ताहरूलाई परमेश्‍वरको राज्‍यभित्र देख्‍नेछौ, अनि तिमीहरू आफैचाहिँ बाहिर फालिएका हुन्‍छौ, तब तिमीहरू विलाप गर्नेछौ र दाह्रा किट्‌नेछौ। मानिसहरू पूर्व, पश्‍चिम, उत्तर र दक्षिणबाट आएर परमेश्‍वरका राज्‍यको भोजमा बस्‍नेछन्‌। हेर, पछिल्‍लाहरूचाहिँ पहिला हुनेछन्, र पहिलाहरूचाहिँ पछिल्‍ला।” त्‍यसै बेला कोही-कोही फरिसीहरूले आएर उहाँलाई भने, “यहाँबाट निस्‍केर जानुहोस्, किनभने हेरोदले तपाईंलाई मार्न चाहन्‍छन्‌।” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “गएर त्‍यस स्‍याललाई भन, ‘हेर, आज र भोलि म भूतहरू धपाउँछु र निको पार्ने काम गर्छु, अनि तेस्रो दिनचाहिँ मेरो कार्य पूर्ण हुनेछ। तापनि आज, भोलि र पर्सि पनि म हिँड़ी नै रहनुपर्छ, किनभने यरूशलेमबाहिर कुनै अगमवक्ताको मृत्‍यु हुनै सक्‍दैन। “यरूशलेम, ए यरूशलेम, तँ अगमवक्ताहरूलाई मार्छस्, र तँकहाँ पठाइएकाहरूमाथि ढुङ्गा बर्साउँछस्‌! जसरी पोथीले आफ्‍ना चल्‍लाहरूलाई पखेटामुनि बटुल्‍छ, त्‍यसरी नै कति पल्‍ट मैले तेरा बालकहरूलाई बटुल्‍ने इच्‍छा गरें, तर तँ मानिनस्‌। हेर्, तेरो घर उजाड भएको छ। म तँलाई भन्‍दछु, जबसम्‍म तैंले ‘धन्‍य हुन्, परमप्रभुको नाउँमा आउने’ भन्‍दैनस्, तबसम्‍म मलाई देख्‍नेछैनस्‌।”

शेयर गर्नुहोस्
लूका 13 पढ्नुहोस्

लूका 13:18-35 नेपाली समकालीन संस्करण (NCV)

त्यसपछि येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्य केजस्तो छ? म यसलाई केसित तुलना गरूँ? यो त रायोको एउटा बीउजस्तो हो, जो कुनै मानिसले लिएर आफ्नो बारीमा रोप्यो; त्यो बढ्यो र एउटा रूख भयो, अनि आकाशका चराचुरुङ्गीहरूले यसका हाँगाहरूमा गुँड लगाए।” अनि उहाँले फेरि सोध्नुभयो, “परमेश्‍वरको राज्यलाई म केसित तुलना गरूँ? यो त त्यो खमीरजस्तै हो, जसलाई एउटी स्त्रीले लिएर करीब सत्ताईस किलो जति पीठोमा मिसाई अनि सम्पूर्ण पीठो छिचलुन्जेल राखी।” त्यसपछि येशू यरूशलेमतिर जाँदै गर्नुहुँदा उहाँ शहर-शहर र गाउँ-गाउँमा शिक्षा दिँदै जानुभयो। कुनै एक जनाले उहाँलाई सोध्यो, “प्रभु, के थोरै मानिसहरूले मात्र उद्धार पाउने हुन् र?” तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साँघुरो ढोकाबाट भित्र पस्‍न हर प्रयास गर, किनकि म तिमीहरूलाई भन्दछु, धेरैजना भित्र पस्‍न खोज्नेछन्, तर सक्नेछैनन्। जब घरका मालिक उठेर एकपल्ट ढोका बन्द गर्नेछन्, तब तिमीहरू बाहिर उभिएर यसो भनी विन्ती गर्दै ढोका ढक्ढक्याउनेछौ, ‘हजुर, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्।’ “तर तिनले जवाफ दिनेछन्, ‘तिमीहरू को हौ, वा कहाँबाट आएका हौ, म चिन्दिनँ।’ “तब तिमीहरूले भन्‍न लाग्नेछौ, ‘हामीले त तपाईंसँगै खायौं र पियौं, अनि तपाईंले हाम्रै गल्‍लीहरूमा शिक्षा दिनुभयो।’ “तर तिनले यस्तो जवाफ दिनेछन्, ‘तिमीहरू को हौ, वा कहाँबाट आएका हौ, म चिन्दिनँ। ए सबै दुष्‍ट काम गर्नेहरूहो, मबाट दूर होओ!’ “अनि जब तिमीहरूले अब्राहाम, इसहाक, याकोब र सबै अगमवक्‍ताहरूलाई परमेश्‍वरको राज्यभित्र भएका, तर तिमीहरू आफैलाई भने बाहिर फालिएका देख्नेछौ, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ। मानिसहरू पूर्व, पश्‍चिम, उत्तर र दक्षिणबाट आउनेछन् अनि परमेश्‍वरको राज्यको भोजमा बस्‍नेछन्। अनि हेर, पछिल्‍ला हुनेहरू पहिला र पहिला हुनेहरू पछिल्‍ला हुनेछन्।” त्यस बेला कोही फरिसीहरू येशूकहाँ आएर उहाँलाई भने, “यहाँबाट अरू कुनै ठाउँमा गइहाल्नुहोस्; किनकि हेरोदले तपाईंलाई मार्न चाहन्छन्।” उहाँले भन्‍नुभयो, “गएर त्यस फ्याउरोलाई भनिदेओ, ‘आज र भोलि म भूतहरू धपाउँछु र मानिसहरूलाई निको पार्छु, अनि तेस्रो दिनमा म आफ्नो लक्ष्यमा पुग्नेछु।’ जेसुकै आइपरे तापनि आज, भोलि र पर्सि म अघि बढिरहनु नै पर्छ, किनकि यो निश्‍चित छ, यरूशलेमभन्दा बाहिर त कुनै अगमवक्‍ताको मृत्यु हुँदैन! “ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्‍ताहरूलाई मार्छस् अनि तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्। मैले कतिपल्ट तेरा बालबच्‍चाहरूलाई एउटी कुखुरीले आफ्ना चल्‍लाहरूलाई पखेटामुनि बटुलेझैं बटुल्न खोजें, तर तिमीहरू राजी भएनौ। हेर्, तेरो घर तेरो निम्ति उजाड पारेर छोडिएको छ। म तँलाई भन्दछु, तैंले ‘प्रभुको नाउँमा आउनुहुने धन्यका हुनुहुन्छ’ भनी नभनेसम्म, तैंले मलाई फेरि देख्नेछैनस्।”

शेयर गर्नुहोस्
लूका 13 पढ्नुहोस्

लूका 13:18-35 पवित्र बाइबल (NERV)

त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य के जस्तो छ? त्यसलाई म केसित तुलना गरूँ? परमेश्वरको राज्य रायोको बीऊ जस्तै छ जो कुनै मानिसले लियो अनि आफ्नो बगैंचामा रोप्यो। त्यो बीऊ उम्रियो अनि बढेर रूख भयो। आकशका चराहरूले त्यसको हाँगाहरूमा गुँड लगाए।” येशूले फेरि भन्नु भयो, “म परमेश्वरको राज्यलाई केसित तुलनागरूँ? त्यो खमिर जस्तो हो, जो एउटी आइमाईले एउटा ठूलो भाँडोमा आँटासँग रोटी बनाउन मिसाउँछे। त्यो खमिरले सबै मुसेको आँटालाई फुलाउँछ।” येशू प्रत्येक गाउँ र शहरमा शिक्षा दिंदै जानुभयो। उहाँ यरूशलेम जान यात्रा गरिरहनु भएको थियो। कसैले उहाँलाई भने, “हे प्रभु कतिजना मानिसहरूलाई मुक्ति दिनु सकिन्छ? केवल केही?” येशूले भन्नुभयो, “साँघुरो ढोकाबाट नै पस्ने धेरै कोशिस गर, किनभने यही स्वर्गको बाटो हो। धेरै मानिसहरू त्यहाँबाट पस्ने कोशिस गर्छन्, तर कोही पनि सफल हुन सक्तैन। यदि कुनै घर-मालिक आफ्नो घर ढोकामा ताला लगाउँछ भने, तिमीले बाहिर उभिएर ढोका ढक्‌ढकाउनु सक्छौ, हे महाशय, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्। तर त्यो मानिसले भन्नेछन् म जान्दिन तिमी कहाँबाट आएका हौ?” तब तिमी भन्न शुरू गर्छौ, हामीले एकसाथ खायौं, पियौं। हाम्रो शहरका सडकहरूमा तपाइँले सिकाउनु भयो। अनि फेरि उसले भन्नेछ, म तिमीलाई चिन्दिनँ, तिमी कहाँबाट आएका हौ? मदेखि टाडा जाऊ। तिमीहरू सबैले नै भूल गर्छौ। “तिमीहरूले परमेश्वरको राज्यमा अब्राहाम, इसहाक याकूब र जम्मै अगमवक्ताहरूलाई भेट्नेछौं तर तिमीहरू बाहिर फ्याँकिनेछौ। तब तिमीहरू रूनेछौ औ दाह्रा किट्नेछौ। मानिसहरू पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट आउनेछन्। परमेश्वरको राज्यमा तिनीहरू कुर्सीमा आसन लिन्छन्। अहिले जो तल्लो स्तरमा बसेका छन् परमेश्वरको राज्यमा तिनीहरूले उच्च स्थानमा बस्न पाउनेछन्। अनि जो अहिले उच्च आसनमा बसेकाछन् परमेश्वरको राज्यमा तिनीहरू तल्लो आसनमा बस्नेछन्।” त्यसै बेला कोही फरसीरू येशूकहाँ आए अनि भने, “यहाँदेखि टाडा जाऊ अनि लुक। हेरोदले तपाईंलाई मार्न चाहन्छ।” येशूले तिनीहरूलाई भन्नुभयो, “जाऊ अनि त्यो स्याललाई भन, ‘आज र भोलि मानिसहरूमा भएको भूतहरू भगाउँछु अनि बिमारीहरू निको पार्ने काम गर्छु। तेस्रो दिन, मेरो सबै काम सिद्धिन्छ।’ तर आज र भोलि मैले मेरो काम गर्नै पर्छ। तब अर्का दिन, म जानै पर्छ, किनभने सबै अगमवक्ताहरू यरूशलेमा मर्नै पर्छ। “ए यरूशलेम, यरूशलेम! तिमीहरूले अगमवक्ताहरूलाई मार्छौ अनि परमेश्वरले तिम्रोमा पठाएका ती मानिसहरूलाई ढुङ्गाले हिर्काउँछौ। धेरै पल्ट तिमीहरूको मानिसहरूलाई मैले सहयोग गर्न इच्छा गरे। मैले तिनीहरूलाई कुखुराको पोथीले जसरी आफ्ना चल्लाहरूलाई पखेंटा मुनि भेला गर्छ त्यसरी नै भेला गर्न चाहान्थें। तर तिमीहरूले मलाई त्यसो गर्न दिएनौ। यसर्थ अब तिमीहरूको घर पूर्णरूपले उजाड़ हुनेछ। म तिमीहरूलाई भन्छु, यसकारण मलाइ तिमीहरूले भन्ने छैनौ कि, ‘स्वागत! परमेश्वले तिनलाई आशीर्वाद दिऊन् जो परमप्रभूको नाउँमा आँउछन्।’”

शेयर गर्नुहोस्
लूका 13 पढ्नुहोस्

लूका 13:18-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशूले अझै भन्‍दैजानुभयो, “परमेश्‍वरको राज्‍यलाई म केसँग तुलना गरूँ? परमेश्‍वरको राज्‍य कस्‍तो हुन्‍छ भने कुनै मानिसले बारीमा रायो छर्‍यो भने त्‍यो उम्रेर बढ्छ र ठूलो भएर त्‍यसको हाँगा-बिंगामा चरा-चुरुङ्गीले गुँड लाउँछन्।” येशूले फेरि भन्‍नुभयो, “परमेश्‍वरको राज्‍यलाई फेरि म केसँग तुलना गरूँ? यो त खमिर हालेको रोटीजस्‍तो हो। एउटी स्‍त्रीले अलिकति खमिर लिएर तीन डालो पिठोमा मिसाउँछे अनि पूरै पिठो फुलेर आउँछ!” येशू यरूशलेम जाँदाजाँदै सहर-शहर र गाउँ-गाउँमा पसेर मानिसहरूलाई शिक्षा दिनुभयो। त्‍यति बेला एक जना मानिसले उहाँलाई सोध्‍यो, “हजुर, के थोरै मानिसले मात्र मुक्ति पाउनेछन्?” येशूले जवाफ दिँदै भन्‍नुभयो, “साँगुरो ढोकाबाट भित्र पस्‍न बल गर। म तिमीहरूलाई भन्‍छु, धेरै जना साँगुरो ढोकाबाट भित्र पस्‍न खोजे तापनि पस्‍न सक्‍नेछैनन्। त्‍यतिखेर घरको मालिकले उठेर ढोका बन्‍द गर्नेछ अनि तिमीहरूले चाहिँ बाहिरबाट ढोका ढकढक्‍याउँदै भन्‍नेछौ, ‘ढोका खोलिदिनुहोस्।’ उनले भन्‍नेछन्, ‘तिमीहरू को हौ र कहाँबाट आएको हौ? म चिन्‍दिनँ!’ तिमीहरूले भन्‍नेछौ, ‘हामीले तपाईंसँगै बसेर खान्‍थ्‍यौं र तपाईंले हाम्रै गाउँ-घरमा शिक्षा दिनुहुन्‍थ्‍यो।’ तर उनले फेरि भन्‍नेछन्, ‘तिमीहरू को हौ? म चिन्‍दिनँ। ए दुष्‍ट काम गर्नेहरू हो, यहाँबाट गइहाल!’ अनि अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्ताहरूलाई परमेश्‍वरको राज्‍यभित्र देख्‍दा र आफैंचाहिँ बाहिर फ्‍याँकिंदा तिमीहरूले दाह्रा किट्दै रुवाबासी गरिरहनेछौ। मानिसहरू पूर्व, पश्‍चिम, उत्तर, दक्षिण, चारैतिरबाट आएर परमेश्‍वरको राज्‍यमा उहाँसँग खान बस्‍नेछन्। तर अहिले पछि हुनेहरू पहिला हुनेछन् र अहिले पहिला हुनेहरू पछि पर्नेछन्।” त्‍यति नै खेर केही फरिसीहरूले येशूकहाँ आएर भने, “तपाईं यहाँबाट निस्‍केर अन्‍त कतै गइहाल्‍नुहोस् किनभने हेरोदले तपाईंलाई मार्न खोज्‍दै छन्।” येशूले तिनीहरूलाई भन्‍नुभयो, “गएर त्‍यस स्‍याललाई भनिदेओ, ‘आज र भोलि भूत निकाल्‍ने र निको पार्ने काम गर्छु अनि पर्सिचाहिँ काम सक्‍नेछु।’ तर आज, भोलि र पर्सि म मेरो बाटोमा अघि बढ्‍नैपर्छ किनभने यरूशलेमबाहेक अरू ठाउँमा अगमवक्ता मारिंदैनन्! “यरूशलेम, ए यरूशलेम! तँ अगमवक्ताहरूलाई मार्छस् र परमेश्‍वरका दूतहरूलाई ढुङ्गाले हान्‍छस्। कुखुरीले चल्‍लालाई छोपेजस्‍तै मैले कतिपल्‍ट तेरा छोरा-छोरीहरूलाई बटुल्‍न खोजें, तर तैँले चाहिँ मानिनस्। हेर्‌, परमेश्‍वरले तेरो मन्‍दिर त्‍याग्‍नुहुनेछ अनि अब म भन्‍छु, जबसम्‍म तैँले ‘प्रभु परमेश्‍वरको नाउँमा आउनुहुने कति धन्‍य हुनुहुन्‍छ’ भन्‍दैनस् तबसम्‍म तैँले मलाई देख्‍नेछैनस्।”

शेयर गर्नुहोस्
लूका 13 पढ्नुहोस्