येशूले अझै भन्दैजानुभयो, “परमेश्वरको राज्यलाई म केसँग तुलना गरूँ? परमेश्वरको राज्य कस्तो हुन्छ भने कुनै मानिसले बारीमा रायो छर्यो भने त्यो उम्रेर बढ्छ र ठूलो भएर त्यसको हाँगा-बिंगामा चरा-चुरुङ्गीले गुँड लाउँछन्।” येशूले फेरि भन्नुभयो, “परमेश्वरको राज्यलाई फेरि म केसँग तुलना गरूँ? यो त खमिर हालेको रोटीजस्तो हो। एउटी स्त्रीले अलिकति खमिर लिएर तीन डालो पिठोमा मिसाउँछे अनि पूरै पिठो फुलेर आउँछ!” येशू यरूशलेम जाँदाजाँदै सहर-शहर र गाउँ-गाउँमा पसेर मानिसहरूलाई शिक्षा दिनुभयो। त्यति बेला एक जना मानिसले उहाँलाई सोध्यो, “हजुर, के थोरै मानिसले मात्र मुक्ति पाउनेछन्?” येशूले जवाफ दिँदै भन्नुभयो, “साँगुरो ढोकाबाट भित्र पस्न बल गर। म तिमीहरूलाई भन्छु, धेरै जना साँगुरो ढोकाबाट भित्र पस्न खोजे तापनि पस्न सक्नेछैनन्। त्यतिखेर घरको मालिकले उठेर ढोका बन्द गर्नेछ अनि तिमीहरूले चाहिँ बाहिरबाट ढोका ढकढक्याउँदै भन्नेछौ, ‘ढोका खोलिदिनुहोस्।’ उनले भन्नेछन्, ‘तिमीहरू को हौ र कहाँबाट आएको हौ? म चिन्दिनँ!’ तिमीहरूले भन्नेछौ, ‘हामीले तपाईंसँगै बसेर खान्थ्यौं र तपाईंले हाम्रै गाउँ-घरमा शिक्षा दिनुहुन्थ्यो।’ तर उनले फेरि भन्नेछन्, ‘तिमीहरू को हौ? म चिन्दिनँ। ए दुष्ट काम गर्नेहरू हो, यहाँबाट गइहाल!’ अनि अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्ताहरूलाई परमेश्वरको राज्यभित्र देख्दा र आफैंचाहिँ बाहिर फ्याँकिंदा तिमीहरूले दाह्रा किट्दै रुवाबासी गरिरहनेछौ। मानिसहरू पूर्व, पश्चिम, उत्तर, दक्षिण, चारैतिरबाट आएर परमेश्वरको राज्यमा उहाँसँग खान बस्नेछन्। तर अहिले पछि हुनेहरू पहिला हुनेछन् र अहिले पहिला हुनेहरू पछि पर्नेछन्।” त्यति नै खेर केही फरिसीहरूले येशूकहाँ आएर भने, “तपाईं यहाँबाट निस्केर अन्त कतै गइहाल्नुहोस् किनभने हेरोदले तपाईंलाई मार्न खोज्दै छन्।” येशूले तिनीहरूलाई भन्नुभयो, “गएर त्यस स्याललाई भनिदेओ, ‘आज र भोलि भूत निकाल्ने र निको पार्ने काम गर्छु अनि पर्सिचाहिँ काम सक्नेछु।’ तर आज, भोलि र पर्सि म मेरो बाटोमा अघि बढ्नैपर्छ किनभने यरूशलेमबाहेक अरू ठाउँमा अगमवक्ता मारिंदैनन्! “यरूशलेम, ए यरूशलेम! तँ अगमवक्ताहरूलाई मार्छस् र परमेश्वरका दूतहरूलाई ढुङ्गाले हान्छस्। कुखुरीले चल्लालाई छोपेजस्तै मैले कतिपल्ट तेरा छोरा-छोरीहरूलाई बटुल्न खोजें, तर तैँले चाहिँ मानिनस्। हेर्, परमेश्वरले तेरो मन्दिर त्याग्नुहुनेछ अनि अब म भन्छु, जबसम्म तैँले ‘प्रभु परमेश्वरको नाउँमा आउनुहुने कति धन्य हुनुहुन्छ’ भन्दैनस् तबसम्म तैँले मलाई देख्नेछैनस्।”
लूका 13 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 13:18-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू