YouVersion लोगो
खोज आइकन

लूका 13:18-35

लूका 13:18-35 NCV

त्यसपछि येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्य केजस्तो छ? म यसलाई केसित तुलना गरूँ? यो त रायोको एउटा बीउजस्तो हो, जो कुनै मानिसले लिएर आफ्नो बारीमा रोप्यो; त्यो बढ्यो र एउटा रूख भयो, अनि आकाशका चराचुरुङ्गीहरूले यसका हाँगाहरूमा गुँड लगाए।” अनि उहाँले फेरि सोध्नुभयो, “परमेश्‍वरको राज्यलाई म केसित तुलना गरूँ? यो त त्यो खमीरजस्तै हो, जसलाई एउटी स्त्रीले लिएर करीब सत्ताईस किलो जति पीठोमा मिसाई अनि सम्पूर्ण पीठो छिचलुन्जेल राखी।” त्यसपछि येशू यरूशलेमतिर जाँदै गर्नुहुँदा उहाँ शहर-शहर र गाउँ-गाउँमा शिक्षा दिँदै जानुभयो। कुनै एक जनाले उहाँलाई सोध्यो, “प्रभु, के थोरै मानिसहरूले मात्र उद्धार पाउने हुन् र?” तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साँघुरो ढोकाबाट भित्र पस्‍न हर प्रयास गर, किनकि म तिमीहरूलाई भन्दछु, धेरैजना भित्र पस्‍न खोज्नेछन्, तर सक्नेछैनन्। जब घरका मालिक उठेर एकपल्ट ढोका बन्द गर्नेछन्, तब तिमीहरू बाहिर उभिएर यसो भनी विन्ती गर्दै ढोका ढक्ढक्याउनेछौ, ‘हजुर, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्।’ “तर तिनले जवाफ दिनेछन्, ‘तिमीहरू को हौ, वा कहाँबाट आएका हौ, म चिन्दिनँ।’ “तब तिमीहरूले भन्‍न लाग्नेछौ, ‘हामीले त तपाईंसँगै खायौं र पियौं, अनि तपाईंले हाम्रै गल्‍लीहरूमा शिक्षा दिनुभयो।’ “तर तिनले यस्तो जवाफ दिनेछन्, ‘तिमीहरू को हौ, वा कहाँबाट आएका हौ, म चिन्दिनँ। ए सबै दुष्‍ट काम गर्नेहरूहो, मबाट दूर होओ!’ “अनि जब तिमीहरूले अब्राहाम, इसहाक, याकोब र सबै अगमवक्‍ताहरूलाई परमेश्‍वरको राज्यभित्र भएका, तर तिमीहरू आफैलाई भने बाहिर फालिएका देख्नेछौ, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ। मानिसहरू पूर्व, पश्‍चिम, उत्तर र दक्षिणबाट आउनेछन् अनि परमेश्‍वरको राज्यको भोजमा बस्‍नेछन्। अनि हेर, पछिल्‍ला हुनेहरू पहिला र पहिला हुनेहरू पछिल्‍ला हुनेछन्।” त्यस बेला कोही फरिसीहरू येशूकहाँ आएर उहाँलाई भने, “यहाँबाट अरू कुनै ठाउँमा गइहाल्नुहोस्; किनकि हेरोदले तपाईंलाई मार्न चाहन्छन्।” उहाँले भन्‍नुभयो, “गएर त्यस फ्याउरोलाई भनिदेओ, ‘आज र भोलि म भूतहरू धपाउँछु र मानिसहरूलाई निको पार्छु, अनि तेस्रो दिनमा म आफ्नो लक्ष्यमा पुग्नेछु।’ जेसुकै आइपरे तापनि आज, भोलि र पर्सि म अघि बढिरहनु नै पर्छ, किनकि यो निश्‍चित छ, यरूशलेमभन्दा बाहिर त कुनै अगमवक्‍ताको मृत्यु हुँदैन! “ए यरूशलेम, ए यरूशलेम, तँ जसले अगमवक्‍ताहरूलाई मार्छस् अनि तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्। मैले कतिपल्ट तेरा बालबच्‍चाहरूलाई एउटी कुखुरीले आफ्ना चल्‍लाहरूलाई पखेटामुनि बटुलेझैं बटुल्न खोजें, तर तिमीहरू राजी भएनौ। हेर्, तेरो घर तेरो निम्ति उजाड पारेर छोडिएको छ। म तँलाई भन्दछु, तैंले ‘प्रभुको नाउँमा आउनुहुने धन्यका हुनुहुन्छ’ भनी नभनेसम्म, तैंले मलाई फेरि देख्नेछैनस्।”

लूका 13 पढ्नुहोस्