यूहन्ना 8:48-59
यूहन्ना 8:48-59 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यहूदीहरूले उहाँलाई जवाफ दिए, “के हाम्रो यो भनाइ ठीक होइन, कि तिमी सामरी हौ र तिमीलाई भूत लागेको छ?” येशूले जवाफ दिनुभयो, “मलाई भूत लागेको छैन, तर म आफ्ना पिताको आदर गर्दछु, र तिमीहरू मेरो अनादर गर्दछौ। तर म आफ्नै महिमा खोज्दिनँ, एक जना हुनुहुन्छ जसले महिमा खोज्नुहुन्छ र फैसला गर्नुहुन्छ। साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले मेरो वचन पालन गर्यो भने त्यसले कहिल्यै मृत्यु देख्नेछैन।” यहूदीहरूले उहाँलाई भने, “अब हामीलाई पक्का थाहा भयो, तिमीलाई भूत लागेकै हो। अब्राहामको मृत्यु भयो, अगमवक्ताहरू पनि मरे, तर तिमी भन्दछौ, ‘कसैले मेरो वचन पालन गर्यो भने त्यसले कहिल्यै मृत्यु चाख्नेछैन।’ के हाम्रा पुर्खा अब्राहामभन्दा तिमी महान् हौ? उनको मृत्यु भयो, अनि अगमवक्ताहरू पनि मरे। तिमीचाहिँ आफैलाई को हुँ भनी दाबी गर्छौ?” येशूले जवाफ दिनुभयो, “यदि मैले आफ्नै महिमा गरें भने मेरो महिमा व्यर्थै हुन्छ। मलाई महिमा दिने मेरा पिता हुनुहुन्छ, जसलाई तिमीहरू ‘हाम्रा परमेश्वर’ भन्दछौ। तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्छु। म उहाँलाई चिन्दिनँ भन्छु भने म तिमीहरूसरह झूटा ठहरिनेछु। तर म उहाँलाई चिन्दछु, र उहाँको वचन पालन गर्दछु। तिमीहरूका पुर्खा अब्राहाम मेरो दिन देख्नलाई प्रफुल्लित भएका थिए, र तिनले देखे अनि रमाए।” यसकारण यहूदीहरूले उहाँलाई भने, “तिमी अझै पचास वर्ष पुगेका छैनौ, त के तिमीले अब्राहामलाई देखेका छौ?” येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, अब्राहाम हुनुभन्दा अघिबाटै म छँदैछु।” तब तिनीहरूले उहाँलाई हान्न भनी ढुङ्गा टिपे, तर येशू लुकेर मन्दिरबाट बाहिर निस्किजानुभयो।
यूहन्ना 8:48-59 नेपाली समकालीन संस्करण (NCV)
यहूदीहरूले येशूलाई जवाफ दिए, “के तिमी एक सामरी हौ, र तिमीलाई भूत लागेको छ भनी हामीले ठीकै भनेका होइनौं र?” येशूले भन्नुभयो, “मलाई कुनै भूत लागेको छैन; तर म मेरा पिताको आदर गर्दछु, अनि तिमीहरू मेरो अनादर गर्दछौ। म आफ्नै महिमा खोज्दिनँ, तर महिमा खोज्नेचाहिँ एकजना हुनुहुन्छ र उहाँ न्यायकर्ता हुनुहुन्छ। म तिमीहरूलाई साँच्चै भन्दछु, यदि कसैले मेरो वचन पालन गर्छ, त्यसले कहिल्यै मृत्यु देख्नेछैन।” अनि यहूदी अगुवाहरूले भने, “अब हामीलाई पक्का थाहा भयो, तिमीलाई भूत नै लागेको रहेछ! अब्राहाम मरेर गए; त्यसै गरी अगमवक्ताहरू पनि मरे, तर तिमीलेचाहिँ जसले तिम्रो वचन पालन गर्छ, त्यसले कहिल्यै पनि मृत्यु चाख्नेछैन भनी भन्दैछौ। के तिमी हाम्रा पिता अब्राहामभन्दा पनि महान् हौ? तिनी मरे, अनि त्यसै गरी अगमवक्ताहरू पनि मरे। तिमीले आफूलाई को हो भनी ठान्छौ?” येशूले जवाफ दिनुभयो, “यदि मैले आफ्नै महिमा गरें भने, मेरो महिमाको केही अर्थ हुँदैन। मेरा पिता, जसलाई तिमीहरू आफ्ना परमेश्वर भनी दाबी गर्दछौ, मलाई महिमा दिने उहाँ नै हुनुहुन्छ। तिमीहरूले उहाँलाई चिन्दैनौ, तर म उहाँलाई चिन्दछु, यदि मैले उहाँलाई चिन्दिनँ भनेको भए, म पनि तिमीहरूसरह झूटो बन्ने थिएँ; तर म उहाँलाई चिन्दछु र उहाँको वचन पालन गर्दछु। तिमीहरूका पिता अब्राहाम म आउने दिन देख्ने आशामा आनन्दित भएका थिए। तिनले त्यो देखे, र खुशी भए।” यहूदीहरूले उहाँलाई भने, “तिमी आफै पचास वर्ष पनि पुगेका छैनौ, अनि तिमीले अब्राहामलाई कसरी देख्यौ?” येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, अब्राहाम जन्मनुभन्दा अघिदेखि नै म छँदैछु!” यतिबेला तिनीहरूले उहाँलाई हान्नलाई ढुङ्गा टिपे, तर येशू लुक्नुभयो र मन्दिरको क्षेत्रबाट सुटुक्क बाहिर निस्केर जानुभयो।
यूहन्ना 8:48-59 पवित्र बाइबल (NERV)
यहूदीहरूले उत्तर दिए, “हामीहरूले भन्यौ तिमी सामरी हौ। अनि भूतात्मा तिमीभित्र छ। के यस्तो भन्नु हामी सही छैनौं?” येशूले उत्तर दिनुभयो, “म भित्र भूतात्मा छैन। म आफ्ना पितालाई सम्मान गर्छु तर तिमीले मलाई सम्मान गर्दैनौ। म आफ्नै सम्मान पाउने कोशिश गरिरहेको छुँइन उहाँ एक हुनुहुन्छ जसले मेरो निम्ति सम्मान चाहनु हुन्छ। उहाँ न्यायकर्ता हुनुहुन्छ। म साँच्चो भन्छु। यदि कुनै मानिसले मेरो वचन पालन गर्छ भने, त्यो मानिस कहिल्यै मर्ने छैन।” यहूदीहरूले येशूलाई भने, “अब हामी पक्का भयौं कि तिमीभित्र भूतात्मा छ अनि अगमवक्ताहरू अनि अब्राहाम पनि मरे। तर तिमी भन्छौ, ‘जुन मानिसले तिम्रो वचन पालन गर्दछ ऊ कहिल्यै मर्ने छैन।’ के तिमी आफैंलाई हाम्रा पिता अब्राहामभन्दा महान सोच्छौ? अब्राहाम मरे। अनि अगमवक्ताहरू पनि मरे। तिमी आफूलाई के सम्झन्छौ?” येशूले जवाफ दिनुभयो, “यदि मैले आफूलाई सम्मान दिएको भए, त्यो सम्मान व्यर्थ हो। जसले मलाई सम्मान दिनुभयो उहाँ मेरा पिता हुनुहुन्छ। अनि जसलाई तिमीहरू आफ्नो परमेश्वर भन्छौ। तिमीहरू वास्तवमा उहाँलाई चिन्दैनौ। म उहाँलाई चिन्दछु। यदि मैले मेरा पितालाई चिनिनँ भने म तिमीहरू जस्तै झूटो हुनेछु। तर म उहाँलाई चिन्दछु। अनि म उहाँले जे भन्नुहुन्छ पालन गर्छु। तिम्रा पिता अब्राहाम म आउने दिन हेर्नलाई हर्षित थिए। उनले त्यो दिन देखे र हर्षित भए।” यहूदीहरूले येशूलाई भने, “तिमीले अब्राहामलाई देखेकाछौ? तिमी 50 र्वष पनि पुगेका छैनौ!” येशूले उत्तर दिनुभयो, “म तिमीलाई साँच्चो भन्छु। अब्राहाम जन्मनु भन्दा पनि अघिबाट म छँदै छ्।” जब येशूले त्यसो भने, मानिसहरूले उहाँमाथि ढुङ्गाहरू टिपेर हाने। तर येशू लुक्नु भयो र मन्दिर छाडेर जानुभयो।
यूहन्ना 8:48-59 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यहूदी अगुवाहरूले येशूलाई भने, “हामीले भनेको ठीकै हो! तँ सामरी होस् र तँलाई भूत चढेको छ।” येशूले भन्नुभयो, “मलाई भूत चढेको छैन। म मेरा पिताको आदर गर्छु, तर तिमीहरू भने मलाई अनादर गर्छौ। म आफैं मेरो आदर खोज्दिनँ, तर मेरो आदर गर्न खोज्ने र मलाई न्याय गर्ने अर्कै हुनुहुन्छ। साँच्चै म तिमीहरूलाई भन्छु, मैले भनेको मान्नेले चाहिँ मर्नुपर्नेछैन।” यहूदी अगुवाहरूले भने, “पक्का तँलाई त भूत नै चढेको रहेछ। अब्राहाम मरे, अगमवक्ताहरू पनि मरे, तँचाहिँ ‘मैले भनेको मान्नेले कहिल्यै पनि मर्नुपर्दैन’ भन्छस्! के तँ मरेर गएका हाम्रा पुर्खा अब्राहाम र अगमवक्ताहरूभन्दा पनि ठूलो होस्? तँ आफैंलाई के सम्झन्छस् हँ?” येशूले भन्नुभयो, “मैले आफ्नै आदर खोजेको भए त्यो खोक्रो आदर हुनेथियो। तर मेरो आदर गर्नुहुनेचाहिँ मेरा पिता हुनुहुन्छ, उही पिता, जसलाई तिमीहरूले आफ्ना परमेश्वर भनेर भन्छौ। तर तिमीहरूले उहाँलाई चिनेका छैनौ। मचाहिँ उहाँलाई राम्ररी चिन्छु। यदि मैले उहाँलाई चिन्दिनँ भनेको भए म पनि तिमीहरूजस्तै झूटो ठहरिने थिएँ। तर म उहाँलाई चिन्छु र उहाँले भन्नुभएको कुरालाई मान्छु। तिमीहरूका पुर्खा अब्राहामले म आउने दिन देख्न साह्रै इच्छा गरेका थिए। उनले देखेर ज्यादै रमाए।” यहूदी अगुवाहरूले उहाँलाई भने, “तँ पचास वर्ष पनि पुगेको छैनस्, तब कसरी तैँले हाम्रा पुर्खा अब्राहामलाई देखिस्?” तब येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, अब्राहाम जन्मिनुभन्दा अघि नै म छु।” त्यत्तिकैमा तिनीहरूले येशूलाई हान्न ढुङ्गा टिपे। तर उहाँ सुटुक्क मन्दिरबाट निस्कनुभयो।