YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 8

8
व्‍यभिचारिणीको उद्धार
1तर येशू जैतून डाँड़ामा जानुभयो। 2उहाँ एकाबिहानै फेरि मन्‍दिरमा जानुभयो, र सबै मानिसहरू उहाँकहाँ आए, र उहाँ बस्‍नुभयो, र तिनीहरूलाई शिक्षा दिनुभयो। 3शास्‍त्री र फरिसीहरूले व्‍यभिचारमा पक्राउ परेकी एउटी स्‍त्रीलाई ल्‍याए, र त्‍यसलाई माझमा उभ्‍याए। 4तिनीहरूले उहाँलाई भने, “गुरुज्‍यू, यो स्‍त्री व्‍यभिचारको कर्ममा पक्राउ परी। 5व्‍यवस्‍थामा मोशाले यस्‍ताहरूलाई ढुङ्गाले हान्‍ने हामीलाई आज्ञा दिएका छन्‌। तपाईं यसको बारेमा के भन्‍नुहुन्‍छ?” #लेवी २०:१०; व्‍य २२:२२-२४ 6तर तिनीहरूले उहाँको जाँच गर्नलाई, र उहाँमाथि अभियोग लाउन सकिन्‍छ कि भनी यसो भनेका थिए।
येशूले निहुरेर भूइँमा औँलाले लेख्‍नुभयो। 7तर जब तिनीहरूले उहाँलाई सोधी नै रहे, तब उहाँले खड़ा भएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमा जो पापरहित छ, त्‍यसैले यस स्‍त्रीलाई पहिले ढुङ्गा हानोस्‌।” 8अनि फेरि निहुरेर उहाँले भूइँमा औँलाले लेख्‍नुभयो। 9तर जब तिनीहरूले यो सुने, तब ठूलादेखि सुरु गरी सानासम्‍म एक-एक गरेर गए, र येशू त्‍यस स्‍त्रीसँग एकलै छोडिनुभयो, अनि त्‍यो स्‍त्रीचाहिँ उहाँको अगि उभिरही।
10येशूले त्‍यस स्‍त्रीलाई हेरेर भन्‍नुभयो, “ए नारी, तिनीहरू कहाँ गए? के कसैले तिमीलाई दण्‍ड दिएन?” 11त्‍यसले भनी, “प्रभु, कसैले दिएन।” येशूले भन्‍नुभयो, “म पनि तिमीलाई दण्‍ड दिन्‍नँ। जाऊ, अनि फेरि पाप नगर।”]
येशू, संसारको ज्‍योति
12येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो, “म संसारको ज्‍योति हुँ। मलाई पछ्याउने अन्‍धकारमा हिँड्‌डुल गर्नेछैन, तर त्‍यसले जीवनको ज्‍योति पाउनेछ।” #मत्ती ५:१४; यूह ९:५
13तब फरिसीहरूले उहाँलाई भने, “तिमी आफ्‍नै विषयमा गवाही दिइरहेछौ। तिम्रो गवाही सत्‍य ठहर्दैन।” #यूह ५:३१
14येशूले जवाफ दिनुभयो, “म आफ्‍नै विषयमा गवाही दिन्‍छु, तापनि मेरो गवाही सत्‍य छ। म जान्‍दछु, म कहाँबाट आएको हुँ, र म कहाँ गइरहेछु। तर तिमीहरू जान्‍दैनौ, म कहाँबाट आउँछु, वा कहाँ गइरहेछु। 15तिमीहरू मानव दृष्‍टिले न्‍याय गर्दछौ। म कसैको न्‍याय गर्दिनँ। 16मैले न्‍याय गरें भने पनि, मेरो न्‍याय सत्‍य ठहरिन्‍छ। किनभने न्‍याय गर्ने म एकलै छैनँ, तर म छु, र मलाई पठाउनुहुने पिता हुनुहुन्‍छ। 17तिमीहरूको व्‍यवस्‍थामा पनि दुई मानिसको गवाही सत्‍य ठहरिन्‍छ भनी लेखिएको छ। 18आफ्‍नो विषयमा म आफै गवाही दिन्‍छु, र मलाई पठाउनुहुने पिताले मेरो विषयमा गवाही दिनुहुन्‍छ।”
19तिनीहरूले उहाँलाई भने, “तिम्रा पिता कहाँ छन्‌?”
येशूले जवाफ दिनुभयो, “तिमीहरू न त मलाई चिन्‍छौ न मेरा पितालाई। तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्‍नेथियौ।” 20यी कुरा उहाँले मन्‍दिरमा शिक्षा दिनुहुँदा भेटी चढ़ाउने ढुकुटीको छेउमा भन्‍नुभएको हो। अनि कसैले उहाँलाई पक्रेन, किनभने उहाँको समय अझ आएको थिएन।
21उहाँले फेरि तिनीहरूलाई भन्‍नुभयो, “म गइहाल्‍छु, र तिमीहरूले मलाई खोज्‍नेछौ, र तिमीहरू आफ्‍ना पापमा मर्नेछौ। जहाँ म जान्‍छु, तिमीहरू आउन सक्‍दैनौ।”
22यहूदीहरूले भने, “यिनले त आत्‍महत्‍या पो गर्ने हुन्‌ कि क्‍या हो? किनभने यिनले ‘जहाँ म जान्‍छु तिमीहरू आउन सक्‍दैनौ’ भनी भन्‍छन्‌।”
23अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू तलका हौ। म माथिको हुँ। तिमीहरू यस संसारका हौ। म यस संसारको होइनँ। 24मैले तिमीहरूलाई भनें, ‘तिमीहरू आफ्‍ना पापमा मर्नेछौ,’ किनभने म उही हुँ भनेर तिमीहरूले विश्‍वास गरेनौ भने आफ्‍ना पापमा मर्नेछौ’।”
25तिनीहरूले उहाँलाई सोधे, “तिमी को हौ त?”
येशूले तिनीहरूलाई भन्‍नुभयो, “म उही हुँ, जो मैले तिमीहरूलाई सुरुदेखि नै भन्‍दैछु। 26मैले तिमीहरूका विषयमा भन्‍नु र न्‍याय गर्नु धेरै नै छ। तर मलाई पठाउनुहुने सत्‍य हुनुहुन्‍छ, र उहाँबाट मैले जे सुनें ती नै कुरा म संसारलाई भन्‍दछु।”
27पिताको विषयमा उहाँले भन्‍नुभएको हो भनी तिनीहरूले बुझेनन्‌। 28यसकारण येशूले भन्‍नुभयो, “जब तिमीहरूले मानिसको पुत्रलाई माथि उचाल्‍नेछौ, म उही हुँ भनी तिमीहरूले थाहा पाउनेछौ, र म आफ्‍नै अधिकारमा केही गर्दिनँ, तर पिताले सिकाउनुभएका कुराहरू बोल्‍दछु भनी जान्‍नेछौ। 29मलाई पठाउनुहुने मसँग हुनुहुन्‍छ। उहाँले मलाई एकलै छोड्‌नुभएको छैन, किनभने म सधैँ उहाँलाई प्रसन्‍न तुल्‍याउने काम गर्दछु।” 30उहाँले यी कुरा बोल्‍नुहुँदा धेरैले उहाँमाथि विश्‍वास गरे।
अब्राहामका सन्‍तान
31येशूले आफूमाथि विश्‍वास गर्ने यहूदीहरूलाई भन्‍नुभयो, “तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्‍चै मेरा चेला हौ। 32तब तिमीहरूले सत्‍य के हो सो जान्‍नेछौ, र सत्‍यले तिमीहरूलाई स्‍वतन्‍त्र तुल्‍याउनेछ।”
33तिनीहरूले उहाँलाई जवाफ दिए, “हामी अब्राहामका सन्‍तान हौं, र अहिलेसम्‍म कसैको दासत्‍वमा परेका छैनौं। ‘तिमीहरू स्‍वतन्‍त्र हुनेछौ’ भनी कसरी भन्‍छौ?” #मत्ती ३:९; लूक ३:८
34येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, पाप गर्ने प्रत्‍येक पापको कमारो हो। 35कमारो सधैँभरि घरमा रहँदैन, तर पुत्रचाहिँ सधैँभरि घरमा रहन्‍छ। 36यसकारण पुत्रले तिमीहरूलाई स्‍वतन्‍त्र गरायो भने तिमीहरू निश्‍चय स्‍वतन्‍त्र हुनेछौ। 37म जान्‍दछु, तिमीहरू अब्राहामका सन्‍तान हौ। तर तिमीहरू मलाई मार्न खोज्‍दछौ, किनभने मेरो वचनले तिमीहरूमा स्‍थान पाउँदैन। 38जे-जे मैले मेरा पिताको उपस्‍थितिमा देखेको छु, त्‍यही म भन्‍दछु। तिमीहरूले पनि जे तिमीहरूका पिताबाट सुनेका छौ, त्‍यही गर्दछौ।”
39तिनीहरूले उहाँलाई भने, “हाम्रा पिता त अब्राहाम हुन्‌।”
येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू अब्राहामका सन्‍तान हुँदा हौ त, अब्राहामले जे काम गरे त्‍यही गर्नेथियौ। 40मैले परमेश्‍वरबाट सुनेको सत्‍य तिमीहरूलाई भनेको छु, तर अहिले तिमीहरू मलाई मार्न खोज्‍दछौ। अब्राहामले यस्‍तो काम गरेनन्‌। 41तिमीहरूका पिताले जे गरे तिमीहरू त्‍यही काम गर्दछौ।”
तिनीहरूले उहाँलाई भने, “हामी व्‍यभिचारमा जन्‍मिएका होइनौं! हाम्रा पिता एउटै हुनुहुन्‍छ, उहाँ परमेश्‍वर हुनुहुन्‍छ।”
दुष्‍टका सन्‍तान
42येशूले तिनीहरूलाई भन्‍नुभयो, “परमेश्‍वर तिमीहरूका पिता हुनुहुँदो हो त तिमीहरूले मलाई प्रेम गर्नेथियौ, किनभने म परमेश्‍वरबाट निस्‍किआएँ। म आफ्‍नै इच्‍छाले आएको होइनँ, तर उहाँले मलाई पठाउनुभयो। 43मैले भनेको तिमीहरू किन बुझ्‍दैनौ? किनभने तिमीहरूले मेरो वचन सुन्‍न सक्‍दैनौ। 44तिमीहरू आफ्‍नो पिता दियाबलसका हौ, र तिमीहरूका पिताको इच्‍छा पूरा गर्ने तिमीहरूको सङ्कल्‍प छ। त्‍यो त सुरुदेखि नै हत्‍यारा थियो, र सत्‍यसँग त्‍यसलाई केही वास्‍ता छैन। किनभने त्‍यसमा केही सत्‍य छैन। जब त्‍यसले झूट बोल्‍दछ, त्‍यो आफ्‍नै स्‍वभावअनुसार बोल्‍दछ, किनभने त्‍यो झूटो हो र झूटको पिता हो। 45म सत्‍य बोल्‍दछु, तर तिमीहरू मलाई विश्‍वास गर्दैनौ। 46तिमीहरूमध्‍ये कसले मलाई पापको दोष लाउन सक्‍छ? यदि म सत्‍य बोल्‍दछु भने, किन तिमीहरू ममाथि विश्‍वास गर्दैनौ? 47जो परमेश्‍वरको हो, त्‍यसले परमेश्‍वरका वाणी सुन्‍दछ। तिमीहरू परमेश्‍वरका होइनौ, यसैकारण तिमीहरू सुन्‍दैनौ।”
येशू र अब्राहाम
48यहूदीहरूले उहाँलाई जवाफ दिए, “के हाम्रो यो भनाइ ठीक होइन, कि तिमी सामरी हौ र तिमीलाई भूत लागेको छ?”
49येशूले जवाफ दिनुभयो, “मलाई भूत लागेको छैन, तर म आफ्‍ना पिताको आदर गर्दछु, र तिमीहरू मेरो अनादर गर्दछौ। 50तर म आफ्‍नै महिमा खोज्‍दिनँ, एक जना हुनुहुन्‍छ जसले महिमा खोज्‍नुहुन्‍छ र फैसला गर्नुहुन्‍छ। 51साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यदि कसैले मेरो वचन पालन गर्‍यो भने त्‍यसले कहिल्‍यै मृत्‍यु देख्‍नेछैन।”
52यहूदीहरूले उहाँलाई भने, “अब हामीलाई पक्‍का थाहा भयो, तिमीलाई भूत लागेकै हो। अब्राहामको मृत्‍यु भयो, अगमवक्ताहरू पनि मरे, तर तिमी भन्‍दछौ, ‘कसैले मेरो वचन पालन गर्‍यो भने त्‍यसले कहिल्‍यै मृत्‍यु चाख्‍नेछैन।’ 53के हाम्रा पुर्खा अब्राहामभन्‍दा तिमी महान्‌ हौ? उनको मृत्‍यु भयो, अनि अगमवक्ताहरू पनि मरे। तिमीचाहिँ आफैलाई को हुँ भनी दाबी गर्छौ?”
54येशूले जवाफ दिनुभयो, “यदि मैले आफ्‍नै महिमा गरें भने मेरो महिमा व्‍यर्थै हुन्‍छ। मलाई महिमा दिने मेरा पिता हुनुहुन्‍छ, जसलाई तिमीहरू ‘हाम्रा परमेश्‍वर’ भन्‍दछौ। 55तिमीहरूले उहाँलाई चिनेका छैनौ, तर म उहाँलाई चिन्‍छु। म उहाँलाई चिन्‍दिनँ भन्‍छु भने म तिमीहरूसरह झूटा ठहरिनेछु। तर म उहाँलाई चिन्‍दछु, र उहाँको वचन पालन गर्दछु। 56तिमीहरूका पुर्खा अब्राहाम मेरो दिन देख्‍नलाई प्रफुल्‍लित भएका थिए, र तिनले देखे अनि रमाए।”
57यसकारण यहूदीहरूले उहाँलाई भने, “तिमी अझै पचास वर्ष पुगेका छैनौ, त के तिमीले अब्राहामलाई देखेका छौ?”
58येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, अब्राहाम हुनुभन्‍दा अघिबाटै म छँदैछु।” 59तब तिनीहरूले उहाँलाई हान्‍न भनी ढुङ्गा टिपे, तर येशू लुकेर मन्‍दिरबाट बाहिर निस्‍किजानुभयो।

अहिले सेलेक्ट गरिएको:

यूहन्‍ना 8: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्