यहूदी अगुवाहरूले येशूलाई भने, “हामीले भनेको ठीकै हो! तँ सामरी होस् र तँलाई भूत चढेको छ।” येशूले भन्नुभयो, “मलाई भूत चढेको छैन। म मेरा पिताको आदर गर्छु, तर तिमीहरू भने मलाई अनादर गर्छौ। म आफैं मेरो आदर खोज्दिनँ, तर मेरो आदर गर्न खोज्ने र मलाई न्याय गर्ने अर्कै हुनुहुन्छ। साँच्चै म तिमीहरूलाई भन्छु, मैले भनेको मान्नेले चाहिँ मर्नुपर्नेछैन।” यहूदी अगुवाहरूले भने, “पक्का तँलाई त भूत नै चढेको रहेछ। अब्राहाम मरे, अगमवक्ताहरू पनि मरे, तँचाहिँ ‘मैले भनेको मान्नेले कहिल्यै पनि मर्नुपर्दैन’ भन्छस्! के तँ मरेर गएका हाम्रा पुर्खा अब्राहाम र अगमवक्ताहरूभन्दा पनि ठूलो होस्? तँ आफैंलाई के सम्झन्छस् हँ?” येशूले भन्नुभयो, “मैले आफ्नै आदर खोजेको भए त्यो खोक्रो आदर हुनेथियो। तर मेरो आदर गर्नुहुनेचाहिँ मेरा पिता हुनुहुन्छ, उही पिता, जसलाई तिमीहरूले आफ्ना परमेश्वर भनेर भन्छौ। तर तिमीहरूले उहाँलाई चिनेका छैनौ। मचाहिँ उहाँलाई राम्ररी चिन्छु। यदि मैले उहाँलाई चिन्दिनँ भनेको भए म पनि तिमीहरूजस्तै झूटो ठहरिने थिएँ। तर म उहाँलाई चिन्छु र उहाँले भन्नुभएको कुरालाई मान्छु। तिमीहरूका पुर्खा अब्राहामले म आउने दिन देख्न साह्रै इच्छा गरेका थिए। उनले देखेर ज्यादै रमाए।” यहूदी अगुवाहरूले उहाँलाई भने, “तँ पचास वर्ष पनि पुगेको छैनस्, तब कसरी तैँले हाम्रा पुर्खा अब्राहामलाई देखिस्?” तब येशूले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, अब्राहाम जन्मिनुभन्दा अघि नै म छु।” त्यत्तिकैमा तिनीहरूले येशूलाई हान्न ढुङ्गा टिपे। तर उहाँ सुटुक्क मन्दिरबाट निस्कनुभयो।
यूहन्ना 8 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 8:48-59
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू