यूहन्ना 8:1-12
यूहन्ना 8:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर येशू जैतून डाँड़ामा जानुभयो। उहाँ एकाबिहानै फेरि मन्दिरमा जानुभयो, र सबै मानिसहरू उहाँकहाँ आए, र उहाँ बस्नुभयो, र तिनीहरूलाई शिक्षा दिनुभयो। शास्त्री र फरिसीहरूले व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई ल्याए, र त्यसलाई माझमा उभ्याए। तिनीहरूले उहाँलाई भने, “गुरुज्यू, यो स्त्री व्यभिचारको कर्ममा पक्राउ परी। व्यवस्थामा मोशाले यस्ताहरूलाई ढुङ्गाले हान्ने हामीलाई आज्ञा दिएका छन्। तपाईं यसको बारेमा के भन्नुहुन्छ?” तर तिनीहरूले उहाँको जाँच गर्नलाई, र उहाँमाथि अभियोग लाउन सकिन्छ कि भनी यसो भनेका थिए। येशूले निहुरेर भूइँमा औँलाले लेख्नुभयो। तर जब तिनीहरूले उहाँलाई सोधी नै रहे, तब उहाँले खड़ा भएर तिनीहरूलाई भन्नुभयो, “तिमीहरूमा जो पापरहित छ, त्यसैले यस स्त्रीलाई पहिले ढुङ्गा हानोस्।” अनि फेरि निहुरेर उहाँले भूइँमा औँलाले लेख्नुभयो। तर जब तिनीहरूले यो सुने, तब ठूलादेखि सुरु गरी सानासम्म एक-एक गरेर गए, र येशू त्यस स्त्रीसँग एकलै छोडिनुभयो, अनि त्यो स्त्रीचाहिँ उहाँको अगि उभिरही। येशूले त्यस स्त्रीलाई हेरेर भन्नुभयो, “ए नारी, तिनीहरू कहाँ गए? के कसैले तिमीलाई दण्ड दिएन?” त्यसले भनी, “प्रभु, कसैले दिएन।” येशूले भन्नुभयो, “म पनि तिमीलाई दण्ड दिन्नँ। जाऊ, अनि फेरि पाप नगर।”] येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “म संसारको ज्योति हुँ। मलाई पछ्याउने अन्धकारमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।”
यूहन्ना 8:1-12 नेपाली समकालीन संस्करण (NCV)
तर येशू जैतुन डाँडामा जानुभयो। भोलिपल्ट एकाबिहानै उहाँ फेरि मन्दिरको चोकमा देखा पर्नुभयो, जहाँ सबै मानिसहरू उहाँको वरिपरि जम्मा भए; अनि उहाँ तिनीहरूलाई शिक्षा दिन बस्नुभयो। व्यवस्थाका शिक्षकहरू र फरिसीहरूले व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई त्यहाँ ल्याए। तिनीहरूले त्यसलाई भीडको अघि उभ्याए, र येशूलाई भने, “गुरुज्यू, यो स्त्री व्यभिचार गर्दा-गर्दै पक्राउ परेकी हो। व्यवस्थामा मोशाले यस्ता स्त्रीहरूलाई ढुङ्गाले हानिनुपर्छ भनी हामीलाई आज्ञा दिएका छन्। तपाईंचाहिँ के भन्नुहुन्छ?” तिनीहरूले यो प्रश्न उहाँलाई दोष लगाउने आधार प्राप्त गर्नलाई पासोको रूपमा प्रयोग गर्दैथिए। येशू निहुरनुभयो र औंलाले भुइँमा लेख्न थाल्नुभयो। जब तिनीहरूले उहाँलाई प्रश्न गरिरहे, तब उहाँ उभिनुभयो र तिनीहरूलाई भन्नुभयो, “यदि तिमीहरूमा कोही पापरहित छ भने, यस स्त्रीलाई त्यसैले पहिले ढुङ्गाले हानोस्।” अनि उहाँले फेरि निहुरेर भुइँमा लेख्नुभयो। त्यसपछि यो कुरा सुन्नेहरू, बुढापाकादेखि सुरु गरेर सानासम्म एक-एक गर्दै त्यहाँबाट गए; अनि त्यहाँ उभिरहेकी त्यस स्त्रीसँग केवल येशू मात्र छोडिनुभयो। येशू उठेर त्यस स्त्रीलाई सोध्नुभयो, “ए नारी, तिनीहरू खोइ कहाँ छन्? के कसैले पनि तिमीलाई दोषी ठहराएन?” त्यसले भनी, “हजुर, कसैले पनि ठहराएन।” येशूले भन्नुभयो, “म पनि तिमीलाई दोषी ठहराउँदिनँ। अब जाऊ, फेरि पाप नगर।” फेरि मानिसहरूसँग बोल्नुहुँदा येशूले भन्नुभयो, “म संसारको ज्योति हुँ। जसले मलाई पछ्याउँछ, त्यो कहिल्यै अँध्यारोमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।”
यूहन्ना 8:1-12 पवित्र बाइबल (NERV)
येशू जैतून डाँडामा जानुभयो। बिहानै येशू मन्दिर तर्फ फर्कनुभयो। सबै मानिसहरू येशूकहाँ आए। येशू बस्नु भयो र तिनीहरूलाई सिकाउनु भयो। शास्त्रीहरू र फरिसीहरूले एकजना आइमाईलाई त्यहाँ ल्याए। त्यस आइमाईले व्यभिचार गरिररहेको बेला समातिएकी थिई। ती यहूदीहरूले त्यस आइमाईलाई बलजफ्ती जनसमूह समक्ष ल्याए। तिनीहरूले येशूलाई भने, “गुरूज्यू, यस आइमाई पर-पुरुषसँग व्याभिचार सम्बन्धमा रहेको बेला समातिई। मोशाको व्यवस्थाले आज्ञा गर्दछ कि यस्तो आइमाईलाई ढुङ्गाले हानेर मार्नु पर्छ। अब तपाईं के भन्नु हुन्छ?” यहूदीहरूले येशूलाई जालमा पार्नुका निम्ति त्यस्ता प्रश्नहरू गरिरहेका थिए। तिनीहरू येशूले गल्ती कुरा गरोस् भन्ने चाहन्थे ताकि तिनीहरूले उहाँलाई आरोप लगाउन सकुन। तर येशू निहुरनु भयो र आफ्नो औंलाले जमीनमा लेख्न थाल्नु भयो। यहूदीहरूले लगातार त्यही प्रश्न येशूलाई सोधिरहे। तब येशू उभिनु भयो अनि भन्नुभयो, “तिमीहरू माझमा कुनै एक मानिस जो पाप रहित छ त्यो मानिसले उसलाई प्रथम ढुङ्गा हान्नुहोस्।” तब फेरि येशू निहुँरनु भयो र जमीनमा लेख्नु भयो। जब येशूले भनेको तिनीहरूले सुने तिनीहरू एक पछि अर्को गर्दै त्यहाँबाट जान थाले। बूढा मानिसहरूले पहिला छाडे र त्यसपछि अरूअरूले छाड्दै गए। येशू एक्लो छाडिनु भयो त्यस आइमाईसँग। त्यस आईमाई उहाँ समक्ष उभिरहेकी थिई। येशू उठनु भयो अनि तिनलाई सोध्नु भयो, “नारी, तिनीहरू कहाँ छन्? तिनीहरू कसैले तिमीलाई दोषी ठहराउन सकेनन्?” उसले भनी, “महोदय, मलाई कसैले दोषी ठहरयाउन सकेन।” तब येशूले भन्नुभयो, “तब म पनि तिमीलाई दोषी ठहरयाउँदिन, तिमी जान सक्छौ, तर फेरि पाप नर्गनू।” त्यसपछि, येशू फेरि मानिसहरूसँग कुराकानी गर्न थाल्नु भयो। उहाँले भन्नुभयो, “म संसारको ज्योति हुँ। जुन मानिस मेरो पछि लाग्दछ ऊ कहिल्यै अन्धकारमा पर्ने छैन। त्यस मानिसले ज्योति पाउनेछ जसले जीवन प्रदान गर्दछ।”
यूहन्ना 8:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशू जैतुन डाँडामा जानुभयो। भोलिपल्ट बिहानै येशू मन्दिरमा फर्कनुभयो। सबै मानिसहरू उहाँको वरिपरि भेला भए। येशू बस्नुभयो र मानिसहरूलाई शिक्षा दिन लाग्नुभयो। धर्म-गुरु र फरिसीहरूले व्यभिचार गर्दा फेला परेकी स्त्रीलाई ल्याएर सबैको अगाडि उभ्याए। तिनीहरूले येशूलाई भने, “गुरु, यो स्त्री त व्यभिचार गर्दागर्दै पक्राउमा परी। हाम्रो व्यवस्थामा मोशाले यस्ती स्त्रीलाई ढुङ्गाले हानेर मार्नुपर्छ भन्ने आज्ञा दिएका छन्। तपाईंचाहिँ के भन्नुहुन्छ त?” तिनीहरूले उहाँलाई दोष लगाउने मौका पाउँछौं कि भनेर यो प्रश्न गरेका थिए। तर येशूले निहुरेर भूइँमा औँलाले लेख्नुभयो। तिनीहरूले उहाँलाई घरीघरी सोधिरहे। त्यसैले येशूले तिनीहरूलाई हेरेर भन्नुभयो, “जसले कहिल्यै पाप गरेको छैन, त्यसले नै सबैभन्दा पहिले यो स्त्रीलाई ढुङ्गाले हानोस्।” त्यसपछि येशूले फेरि घोप्टिएर भूइँमा लेख्नुभयो। यो कुरा सुनेर तिनीहरू एक-एक गर्दै त्यहाँबाट हिँडे। पहिले बुढापाकाहरू गए। आखिरमा येशू मात्र छोडिनुभयो अनि त्यो स्त्री येशूको सामुन्ने उभिइरहेकी थिई। येशूले त्यसलाई हेरेर भन्नुभयो, “खोइ त, तिमीलाई दोष लाउनेहरू? कसैले पनि तिमीलाई दण्ड दिएनन्?” त्यस स्त्रीले भनी, “दिएनन् हजुर।” येशूले भन्नुभयो, “तब म पनि तिमीलाई दण्ड दिन्नँ। अब तिमी जाऊ, तर फेरि पाप नगर!”] फेरि येशूले मानिसहरूलाई सिकाउँदै भन्नुभयो, “संसारको ज्योति मै हुँ। मेरो पछि लाग्नेले कहिल्यै पनि अँध्यारोमा हिँड्नुपर्नेछैन कारण उसले जीवन दिने उज्यालो पाउनेछ।”