YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 8:1-12

यूहन्‍ना 8:1-12 NCV

तर येशू जैतुन डाँडामा जानुभयो। भोलिपल्ट एकाबिहानै उहाँ फेरि मन्दिरको चोकमा देखा पर्नुभयो, जहाँ सबै मानिसहरू उहाँको वरिपरि जम्मा भए; अनि उहाँ तिनीहरूलाई शिक्षा दिन बस्‍नुभयो। व्यवस्थाका शिक्षकहरू र फरिसीहरूले व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई त्यहाँ ल्याए। तिनीहरूले त्यसलाई भीडको अघि उभ्याए, र येशूलाई भने, “गुरुज्यू, यो स्त्री व्यभिचार गर्दा-गर्दै पक्राउ परेकी हो। व्यवस्थामा मोशाले यस्ता स्त्रीहरूलाई ढुङ्गाले हानिनुपर्छ भनी हामीलाई आज्ञा दिएका छन्। तपाईंचाहिँ के भन्‍नुहुन्छ?” तिनीहरूले यो प्रश्न उहाँलाई दोष लगाउने आधार प्राप्‍त गर्नलाई पासोको रूपमा प्रयोग गर्दैथिए। येशू निहुरनुभयो र औंलाले भुइँमा लेख्न थाल्नुभयो। जब तिनीहरूले उहाँलाई प्रश्न गरिरहे, तब उहाँ उभिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरूमा कोही पापरहित छ भने, यस स्त्रीलाई त्यसैले पहिले ढुङ्गाले हानोस्।” अनि उहाँले फेरि निहुरेर भुइँमा लेख्नुभयो। त्यसपछि यो कुरा सुन्‍नेहरू, बुढापाकादेखि सुरु गरेर सानासम्म एक-एक गर्दै त्यहाँबाट गए; अनि त्यहाँ उभिरहेकी त्यस स्त्रीसँग केवल येशू मात्र छोडिनुभयो। येशू उठेर त्यस स्त्रीलाई सोध्नुभयो, “ए नारी, तिनीहरू खोइ कहाँ छन्? के कसैले पनि तिमीलाई दोषी ठहराएन?” त्यसले भनी, “हजुर, कसैले पनि ठहराएन।” येशूले भन्‍नुभयो, “म पनि तिमीलाई दोषी ठहराउँदिनँ। अब जाऊ, फेरि पाप नगर।” फेरि मानिसहरूसँग बोल्नुहुँदा येशूले भन्‍नुभयो, “म संसारको ज्योति हुँ। जसले मलाई पछ्याउँछ, त्यो कहिल्यै अँध्यारोमा हिँड्‍डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।”

यूहन्‍ना 8 पढ्नुहोस्

यूहन्‍ना 8:1-12 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति