यर्मिया 32:1-15
यर्मिया 32:1-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यहूदाका राजा सिदकियाहको राजकालको दशौँ वर्षमा, जो नबूकदनेसरको अठारौँ वर्ष थियो, परमप्रभुबाट यर्मियाकहाँ आएको वचन यही हो— त्यस बेला बेबिलोनका राजाको सेनाले यरूशलेममा घेरा हालेको थियो, र यर्मिया अगमवक्ताचाहिँ यहूदाका राजाको महलको गारदको चोकमा थुनामा राखिएका थिए। यहूदाका राजा सिदकियाहले तिनलाई यसो भनेर कैद गरेका थिए, “तँ किन यसो भन्दै अगमवाणी कहन्छस्, ‘परमप्रभु यसो भन्नुहुन्छ: मैले यो सहर बेबिलोनका राजाको हातमा दिन लागेको छु, र त्यसले यो लिइहाल्नेछ। यहूदाका राजा सिदकियाह बेबिलोनीहरूका हातबाट उम्कनेछैन, तर त्यो निश्चय नै बेबिलोनका राजाको हातमा सुम्पिइनेछ, र त्यससित आमनेसामने भएर आफ्नै आँखाले त्यसलाई देख्नेछ र कुरा गर्नेछ। त्यसले सिदकियाहलाई बेबिलोनमा पुर्याउनेछ, र जबसम्म म त्यसलाई उचित व्यवहार गर्दिनँ, तबसम्म त्यो त्यहीँ रहनेछ, परमप्रभु भन्नुहुन्छ। यदि तैंले बेबिलोनीहरूका विरुद्धमा लड़ाइँ गरिस् भने तँ सफल हुनेछैनस्’।” यर्मियाले भने, “परमप्रभुको यो वचन मकहाँ आयो: तेरो काका शल्लूमको छोरो हनमेल तँकहाँ आएर भन्नेछ, ‘अनातोतमा भएको मेरो खेत किन्नुहोस्, किनभने नजिकका नातेदारको रूपमा त्यो किनेर छुटाउने हक र कर्तव्य तपाईंकै हो’। “तब परमप्रभुले भन्नुभएअनुसार मेरा काकाको छोरो हनमेल गारदको चोकमा मकहाँ आएर मलाई भन्यो, ‘बेन्यामीनका इलाकाको अनातोतमा भएको मेरो खेत किन्नुहोस्। त्यसलाई छुटाउने र त्यसको अधिकार लिने हक तपाईंकै छ। यसकारण त्यो तपाईंले आफ्नै निम्ति किन्नुहोस्।’ “यो परमप्रभुको वचन रहेछ भनी मैले जानें। यसैले मैले मेरा काकाको छोराको हातबाट अनातोतमा भएको खेत किनें, र चाँदीको सत्र शेकेल दाम त्यसलाई जोखेर दिएँ। मैले तमसुकमा सही गरें, र छाप लगाएँ। मैले साक्षीहरू राखें र जोखेर चाँदी दिएँ। तब मैले किनेको तमसुक लिएँ— लेनदेन र शर्तहरूमा छाप लगाएको र छाप नलगाएको नकल लिएँ, र मेरो काकाको छोरो हनमेल, तमसुकमा सही गर्नेहरू र गारदको चोकमा बसेका सबै यहूदीहरूका सामुन्ने त्यो तमसुक मैले नेरियाहको छोरो, महसेयाहको नाति बारूकलाई सुम्पिदिएँ। “मैले बारूकलाई तिनीहरूकै सामुन्ने यसो भनेर आदेश दिएँ: ‘सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: छाप लगाएको र नलगाएको तमसुकका यी दुवै सबूत पत्रहरू लिएर एउटा माटोको भाँड़ामा हालिराख्, ताकि ती धेरै दिनसम्म रहून्। किनभने सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: घरहरू, खेतहरू र दाखबारीहरू फेरि यस देशमा किनिनेछन्।’
यर्मिया 32:1-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सिदकियाह यहूदाका राजा भएको दशौं वर्षमा तथा बेबिलोनका राजा नबूकदनेसरको राज्यकालको अठारौं वर्षमा परमप्रभु मसित बोल्नुभयो। त्यस बेला बेबिलोनका राजाका सेनाले यरूशलेमलाई घेरा हाल्दै थिए र मचाहिँ राजमहलमा भएको पहरेदारको चोकमा थुनामा परेको थिएँ। सिदकियाह राजाले यसो भनेर मलाई कैद गरेका थिए, “तैँले किन यस्तो अगमवाणी बोल्छस्? ‘परमप्रभुले भन्नुहुन्छ कि यो सहर बेबिलोनका राजाका हातमा दिनेछु र उनले यसलाई कब्जा गर्नेछन् अनि सिदकियाह राजा बेबिलोनीहरूका हातबाट उम्कनेछैन तर बेबिलोनका राजाको हातमा पर्नेछ र तिनीसित आमने-सामने भई कुरा गर्नेछ। सिदकियाह बेबिलोनमा लगिनेछ र जबसम्म म त्यसलाई हेर्न आउँदिनँ, तबसम्म त्यो त्यहाँ रहनेछ। त्यसले बेबिलोनीहरूसित लडाइँ गरे पनि विजय पाउनेछैन। म परमप्रभुले यसो भनेको छु’।” परमप्रभुले मलाई भन्नुभयो, “तेरा काका शल्लूमको छोरो हनमेल आएर ‘तिमी नजिकको नातेदार भएकोले मेरो खेतबारी किन्ने हक तिम्रो हुन्छ र बेन्यामीनको मुलुकको अनातोतमा भएको मेरो खेत किनिदेऊ’ भनी तँलाई बिन्ती गर्नेछ।” तब ठीक परमप्रभुले भन्नुभएझैँ हनमेल राजमहलमा भएको पहरेदारको चोकमा आए र मलाई त्यो खेत किन्ने बिन्ती गरे। यसरी साँच्चै परमप्रभु मसित बोल्नुभएको रहेछ भनी मैले थाहा पाएँ। मैले हनमेलबाट उनको त्यो खेत किनें र चाँदी जोखेर त्यसको मोल तिरें। जम्मा मोल चाँदीका सत्र टुक्रा भयो। मैले तमसुकमा सही गरें, मोहोर लाएँ, साक्षीहरूको सहीछाप गराएँ र तराजुमा जोखेर दाम दिएँ। तब मैले खरिदको शर्त र कबुलमा भएका छाप, मोहोर लाएका खरिद-बिक्रीका तमसुक र छाप मोहोर नलाएका त्यसका प्रतिलिपि दुवै लिएँ अनि ती कुराहरू महसेयाहको नाति नेरियाहका छोरा बारूकको जिम्मा लाइदिएँ। मैले ती कागज जिम्मा लाउने कामचाहिँ हनमेल, कागजमा सही गर्ने साक्षीहरू र चोकमा बसिरहने यहूदीहरूका सामुन्नेमा गरें। ती सबैका अघि मैले बारूकलाई यसो भनें, “छाप मोहोर लाएको तमसुक र त्यसको प्रतिलिपि दुवै लगेर एउटा माटोको भाँडोमा हालिराख्नू र ती धेरै वर्षसम्म रहून् भनी सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरले तिमीलाई आज्ञा गर्नुभएको छ। सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभएको छ कि अब फेरि यस देशमा घर, खेत र दाखबारीहरू किन-बेच गरिनेछन्।”
यर्मिया 32:1-15 पवित्र बाइबल (NERV)
यहूदामा सिदकियाहको शासनकालको दशौं बर्षमा यो सन्देश परमप्रभुबाट यर्मियाहकहाँ आयो। सिदकियाहको दशौं बर्ष नबूकदनेस्सरको राज्यकालको अठारौं बर्ष थियो। त्यस बेला, बाबेलका राजाका सैन्याले यरूशलेमको शहर वरिपरि घेरा हालेर राखेका थिए अनि यर्मियालाई प्रहरीको चोकमा कैद गरिएको थियो जुन चोक यहूदाका राजाको महल थियो। यहूदाका राजा सिदकियाहले यर्मियालाई त्यस ठाउँमा यसो भन्दै थुनेका थिए “परमप्रभुले यो शहर बाबेलका राजालाई दिनुहुनेछ अनि उसले यसलाई नियन्त्रणमा राख्छ भनी तिमीले किन अगमवाणी गरेको? यहूदाका राजा सिदकियाह बाबेलका सैन्यदेखि बाँच्ने छैन। तर नि:सन्देह उसलाई बाबेलका राजाकहाँ सुम्पिइनेछ। अनि सिदकियाह बाबेलका राजा सँग आमने-सामने बोल्ने छ। सिदकियाहले उसलाई आफ्नै आँखाले देख्नेछ। बाबेलका राजाले सिदकियाहलाई बाबेलमा लैजानेछ। जहाँ मैले कार्वाही नगरून्जेल सम्म ऊ रहेनछ। यहूदाका सैन्यले बाबेलका सैन्यसित लडाइँ गर्नेछन् तर तिनीहरू सफल हुँदैनन्।” यो परमप्रभुबाट आएको सन्देश हो। कैदमा भएको बेला यर्मियाले भन्यो, “यो सन्देश परमप्रभुबाट मकहाँ आयो। ‘यर्मिया, तिम्रो काका शल्लूमको छोरो हनमेल तिमीकहाँ आउँदैछ। हनमेलले तिमीलाई एउटा प्रस्ताव दिनेछ कि “तिमीले अनातोत शहरको छेउमा भएको क्षेत्र किन्नु पर्नेछ कारण हनमेल उसको एकदम निकट सन्तान हो। अनि हनमेलको त्यो ठाँउ किन्ने जिम्मावारी र अधिकार तिम्रो हो।”’ “तब परमप्रभुले भन्नु भए अनुसार नै घटना हुन गयो। मेरो काकाको छोरो हनमेल मकहाँ प्रहरीको चोकमा आयो। हनमेलले मलाई भन्यो, ‘यर्मिया, बिन्यामीन क्षेत्रभित्र अनातोत शहरको छेउमा भएको मेरो जमीन किन्नुहोस्। त्यो जमीन तपाईंकै लागि किन्नुहोस् यो किन्ने यसलाई विमुक्त पार्ने अधिकार तपाईंको हो। यो तपाईंकै लागि किन्नु होस्।’” यसर्थ मैले जाने कि यो सन्देश परमप्रभुबाट थियो। मैले मेरो काकाको छोरो हनमेलबाट अनातोतमा जमीन किनें। मैले उसको लागि सत्र शेकेल चाँदी ओजन गरें। मैले जमीनको तमसुकमा सही गरें। अनि मोहर लगाए तमसुक मसित रह्यो। मैले कतिपय मानिसहरू त्यो जमीन किन्दा साक्षी बस्नेहरू पनि पाएँ। मैले चाँदीहरू मापदण्ड अनुसार ओजन गरें। तब तमसुक लिएँ दुवै व्यवहार र शर्तहरू सहित मोहर लगाएको अनि मोहर नलगाइएको तमसुकको प्रतिलिपि मैले लिएँ। अनि मैले बारूकलाई दिएँ। बारूक नेरियाहको छोरो हो। मोहर लगाइएको तमसुकमा मैले जमीन किन्दा गरिएको सबै शर्तहरू समावेश थियो। जब मेरो काकाको छोरा हनमेल र अन्य मानिसहरू त्यहाँ थिए मैले बारूकलाई त्यो तमसुक दिएँ। ती साक्षीहरूले पनि तमसुकमा सही गरे। त्यहाँ चोकमा यहूदाका धेरै मानिसहरू थिए अनि तिनीहरूले मैले बारूकलाई तमसुक दिएको देखें। मैले ती सबै मानिसहरूकै समक्ष बारूकलाई भने, “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तमसुकको दुवै प्रतिलिपिहरू मोहर लगाइएको अनि मोहर नलगाइएको तिनीहरूलाई माटोको भाँडामा राख यसो गर ताकि यो जमीनका तमसुकहरू लामो समय सम्म सुरक्षित हुनेछ।’ सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ ‘भविष्यमा मेरो मानिसहरूले फेरि एकपल्ट घरहरू खेत दाखका खेतहरू र यस बारीहरू किन्नेछन्।’”