सिदकियाह यहूदाका राजा भएको दशौं वर्षमा तथा बेबिलोनका राजा नबूकदनेसरको राज्यकालको अठारौं वर्षमा परमप्रभु मसित बोल्नुभयो। त्यस बेला बेबिलोनका राजाका सेनाले यरूशलेमलाई घेरा हाल्दै थिए र मचाहिँ राजमहलमा भएको पहरेदारको चोकमा थुनामा परेको थिएँ। सिदकियाह राजाले यसो भनेर मलाई कैद गरेका थिए, “तैँले किन यस्तो अगमवाणी बोल्छस्? ‘परमप्रभुले भन्नुहुन्छ कि यो सहर बेबिलोनका राजाका हातमा दिनेछु र उनले यसलाई कब्जा गर्नेछन् अनि सिदकियाह राजा बेबिलोनीहरूका हातबाट उम्कनेछैन तर बेबिलोनका राजाको हातमा पर्नेछ र तिनीसित आमने-सामने भई कुरा गर्नेछ। सिदकियाह बेबिलोनमा लगिनेछ र जबसम्म म त्यसलाई हेर्न आउँदिनँ, तबसम्म त्यो त्यहाँ रहनेछ। त्यसले बेबिलोनीहरूसित लडाइँ गरे पनि विजय पाउनेछैन। म परमप्रभुले यसो भनेको छु’।” परमप्रभुले मलाई भन्नुभयो, “तेरा काका शल्लूमको छोरो हनमेल आएर ‘तिमी नजिकको नातेदार भएकोले मेरो खेतबारी किन्ने हक तिम्रो हुन्छ र बेन्यामीनको मुलुकको अनातोतमा भएको मेरो खेत किनिदेऊ’ भनी तँलाई बिन्ती गर्नेछ।” तब ठीक परमप्रभुले भन्नुभएझैँ हनमेल राजमहलमा भएको पहरेदारको चोकमा आए र मलाई त्यो खेत किन्ने बिन्ती गरे। यसरी साँच्चै परमप्रभु मसित बोल्नुभएको रहेछ भनी मैले थाहा पाएँ। मैले हनमेलबाट उनको त्यो खेत किनें र चाँदी जोखेर त्यसको मोल तिरें। जम्मा मोल चाँदीका सत्र टुक्रा भयो। मैले तमसुकमा सही गरें, मोहोर लाएँ, साक्षीहरूको सहीछाप गराएँ र तराजुमा जोखेर दाम दिएँ। तब मैले खरिदको शर्त र कबुलमा भएका छाप, मोहोर लाएका खरिद-बिक्रीका तमसुक र छाप मोहोर नलाएका त्यसका प्रतिलिपि दुवै लिएँ अनि ती कुराहरू महसेयाहको नाति नेरियाहका छोरा बारूकको जिम्मा लाइदिएँ। मैले ती कागज जिम्मा लाउने कामचाहिँ हनमेल, कागजमा सही गर्ने साक्षीहरू र चोकमा बसिरहने यहूदीहरूका सामुन्नेमा गरें। ती सबैका अघि मैले बारूकलाई यसो भनें, “छाप मोहोर लाएको तमसुक र त्यसको प्रतिलिपि दुवै लगेर एउटा माटोको भाँडोमा हालिराख्नू र ती धेरै वर्षसम्म रहून् भनी सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरले तिमीलाई आज्ञा गर्नुभएको छ। सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभएको छ कि अब फेरि यस देशमा घर, खेत र दाखबारीहरू किन-बेच गरिनेछन्।”
यर्मिया 32 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 32:1-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू