यहूदाका राजा सिदकियाहको राजकालको दशौँ वर्षमा, जो नबूकदनेसरको अठारौँ वर्ष थियो, परमप्रभुबाट यर्मियाकहाँ आएको वचन यही हो— त्यस बेला बेबिलोनका राजाको सेनाले यरूशलेममा घेरा हालेको थियो, र यर्मिया अगमवक्ताचाहिँ यहूदाका राजाको महलको गारदको चोकमा थुनामा राखिएका थिए। यहूदाका राजा सिदकियाहले तिनलाई यसो भनेर कैद गरेका थिए, “तँ किन यसो भन्दै अगमवाणी कहन्छस्, ‘परमप्रभु यसो भन्नुहुन्छ: मैले यो सहर बेबिलोनका राजाको हातमा दिन लागेको छु, र त्यसले यो लिइहाल्नेछ। यहूदाका राजा सिदकियाह बेबिलोनीहरूका हातबाट उम्कनेछैन, तर त्यो निश्चय नै बेबिलोनका राजाको हातमा सुम्पिइनेछ, र त्यससित आमनेसामने भएर आफ्नै आँखाले त्यसलाई देख्नेछ र कुरा गर्नेछ। त्यसले सिदकियाहलाई बेबिलोनमा पुर्याउनेछ, र जबसम्म म त्यसलाई उचित व्यवहार गर्दिनँ, तबसम्म त्यो त्यहीँ रहनेछ, परमप्रभु भन्नुहुन्छ। यदि तैंले बेबिलोनीहरूका विरुद्धमा लड़ाइँ गरिस् भने तँ सफल हुनेछैनस्’।” यर्मियाले भने, “परमप्रभुको यो वचन मकहाँ आयो: तेरो काका शल्लूमको छोरो हनमेल तँकहाँ आएर भन्नेछ, ‘अनातोतमा भएको मेरो खेत किन्नुहोस्, किनभने नजिकका नातेदारको रूपमा त्यो किनेर छुटाउने हक र कर्तव्य तपाईंकै हो’। “तब परमप्रभुले भन्नुभएअनुसार मेरा काकाको छोरो हनमेल गारदको चोकमा मकहाँ आएर मलाई भन्यो, ‘बेन्यामीनका इलाकाको अनातोतमा भएको मेरो खेत किन्नुहोस्। त्यसलाई छुटाउने र त्यसको अधिकार लिने हक तपाईंकै छ। यसकारण त्यो तपाईंले आफ्नै निम्ति किन्नुहोस्।’ “यो परमप्रभुको वचन रहेछ भनी मैले जानें। यसैले मैले मेरा काकाको छोराको हातबाट अनातोतमा भएको खेत किनें, र चाँदीको सत्र शेकेल दाम त्यसलाई जोखेर दिएँ। मैले तमसुकमा सही गरें, र छाप लगाएँ। मैले साक्षीहरू राखें र जोखेर चाँदी दिएँ। तब मैले किनेको तमसुक लिएँ— लेनदेन र शर्तहरूमा छाप लगाएको र छाप नलगाएको नकल लिएँ, र मेरो काकाको छोरो हनमेल, तमसुकमा सही गर्नेहरू र गारदको चोकमा बसेका सबै यहूदीहरूका सामुन्ने त्यो तमसुक मैले नेरियाहको छोरो, महसेयाहको नाति बारूकलाई सुम्पिदिएँ। “मैले बारूकलाई तिनीहरूकै सामुन्ने यसो भनेर आदेश दिएँ: ‘सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: छाप लगाएको र नलगाएको तमसुकका यी दुवै सबूत पत्रहरू लिएर एउटा माटोको भाँड़ामा हालिराख्, ताकि ती धेरै दिनसम्म रहून्। किनभने सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: घरहरू, खेतहरू र दाखबारीहरू फेरि यस देशमा किनिनेछन्।’
यर्मिया 32 पढ्नुहोस्
सुन्नुहोस् यर्मिया 32
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 32:1-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू