YouVersion लोगो
खोज आइकन

हिब्रू 4:1-13

हिब्रू 4:1-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसकारण परमेश्‍वरको विश्राममा प्रवेश पाउने प्रतिज्ञा छँदाछँदै हामी होशियार रहौं र तिमीहरूमध्‍ये कोही पनि त्‍यस प्रतिज्ञादेखि वञ्‍चित नहोस्‌। किनकि हामीलाई पनि तिनीहरूलाई झैँ सुसमाचार प्रचार गरिएको हो। तर सुनेको वचनले तिनीहरूलाई केही फाइदा भएन, किनकि सुन्‍नेहरूले विश्‍वासपूर्वक यिनलाई ग्रहण गरेनन्‌। किनकि हामी विश्‍वास गर्नेहरूचाहिँ त त्‍यस विश्राममा प्रवेश गर्छौं, जसो उहाँले भन्‍नुभएको छ, “यसैले मैले आफ्‍नो क्रोधमा यसरी शपथ खाएँ, ‘मेरो विश्राममा तिनीहरू कहिल्‍यै पस्‍नेछैनन्‌’।” यद्यपि उहाँका कार्यहरू संसारको उत्‍पत्तिदेखि नै पूरा भइसकेका थिए। किनकि उहाँले अरू कुनै ठाउँमा सातौँ दिनको विषयमा यस किसिमले भन्‍नुभएको छ, “परमेश्‍वरले सबै कार्यहरूबाट सातौँ दिनमा विश्राम लिनुभयो।” र फेरि यसै खण्‍डमा उहाँले भन्‍नुभयो, “मेरो विश्राममा तिनीहरू कहिल्‍यै पस्‍नेछैनन्‌।” कसै-कसैलाई प्रवेश गर्न अझै बाँकी नै छ, र तिनीहरू, जसलाई अघिअघि सुसमाचार प्रचार गरिएको थियो, तिनीहरू आफ्‍ना अनाज्ञाकारिताले गर्दा पस्‍न सकेनन्‌। फेरि परमेश्‍वरले “आज” भनी एक दिन ठहराउनुभएको छ, जब उहाँले धेरै समयपछि दाऊदद्वारा अघि भनिएकै कुरा फेरि भन्‍नुभयो, “आज तिमीहरूले उहाँको शब्‍द सुन्‍यौ भने तिमीहरूका हृदय कठोर नपार।” किनकि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए त परमेश्‍वरले पछिबाट अर्को दिनको विषयमा भन्‍नुहुनेथिएन। यसकारण परमेश्‍वरका जनहरूका निम्‍ति शबाथको विश्राम बाँकी नै छ। किनकि परमेश्‍वरको विश्राममा प्रवेश गर्ने जोसुकैले पनि आफ्‍नो परिश्रमदेखि विश्राम गर्छ, जसरी परमेश्‍वरले आफ्‍नो परिश्रमदेखि विश्राम लिनुभयो। यसकारण हामी त्‍यस विश्राममा प्रवेश गर्नलाई प्रयत्‍न गरौं, र त्‍यस्‍तै किसिमको अनाज्ञाकारिताद्वारा कोही पनि पतित नहोस्‌। किनकि परमेश्‍वरको वचन जीवित र क्रियाशील हुन्‍छ, र कुनै पनि दुईधारे तरवारभन्‍दा बढ़ी धारिलो हुन्‍छ। यसले प्राण र आत्‍मालाई त्‍यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्‍मलाई भाग-भाग पारुञ्‍जेल वारपार छेड्‌ने र हृदयका विचार र इच्‍छा जाँच्‍न सक्‍ने हुन्‍छ। परमेश्‍वरको दृष्‍टिमा सृष्‍टिको कुनै कुरा लुकेको हुँदैन। उहाँका नजरको सामुन्‍ने सबै कुरा स्‍पष्‍ट र खुला छन्, उहाँलाई नै हामीले लेखा दिनुपर्छ।

शेयर गर्नुहोस्
हिब्रू 4 पढ्नुहोस्

हिब्रू 4:1-13 नेपाली समकालीन संस्करण (NCV)

यसकारण त्यस विश्राममा प्रवेश गर्न पाउने प्रतिज्ञा अझै पनि रहेकोले तिमीहरूमध्ये कोही पनि वञ्चित हुन नपरोस् भनी हामी होसियार रहौं। किनकि तिनीहरूलाई झैं हामीलाई पनि सुसमाचार प्रचार गरिएको हो, तर तिनीहरूले सुनेको सन्देश तिनीहरूलाई लाभदायक भएन, किनभने तिनीहरूले आज्ञा पालन गर्नेहरूको जस्तो विश्‍वास गरेनन्। तर अब हामी जतिले विश्‍वास गर्‍यौं, त्यस विश्राममा प्रवेश गरेका छौं, जसरी परमेश्‍वरले भन्‍नुभएको छ: “यसैले मैले आफ्नो क्रोधमा शपथ खाएर घोषणा गरें, ‘तिनीहरू कहिल्यै मेरो विश्राममा पस्‍नेछैनन्। ’ ” जब कि उहाँका कामहरू त संसारको उत्पत्तिदेखि नै पूरा भइसकेका थिए। किनकि धर्मशास्त्रमा उहाँले सातौं दिनको विषयमा यस्ता शब्दहरूमा भन्‍नुभएको छ: “अनि सातौं दिनमा परमेश्‍वरले आफ्ना सबै कामहरूबाट विश्राम लिनुभयो।” अनि फेरि यसै खण्डमा उहाँ भन्‍नुहुन्छ, “तिनीहरू कहिल्यै पनि मेरो विश्राममा पस्‍नेछैनन्।” अझै पनि कतिलाई त्यस विश्राममा प्रवेश गर्न बाँकी नै छ, जसलाई पहिले सुसमाचार प्रचार गरिएको थियो, तिनीहरू प्रवेश गर्न पाएनन्, किनकि तिनीहरू अनाज्ञाकारी थिए। यसकारण फेरि परमेश्‍वरले कुनै एउटा दिनलाई “आज” भनेर छुट्याउनुभयो, जब धेरै समयपछि उहाँले अघि भनेझैं दाविदद्वारा फेरि भन्‍नुभयो: “आज तिमीहरूले उहाँको स्वर सुन्यौं भने, आफ्ना हृदयलाई कठोर नबनाओ।” किनकि यदि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए, परमेश्‍वरले पछिबाट अर्को दिनको विषयमा भन्‍नुहुने थिएन। यसकारण परमेश्‍वरका जनहरूको निम्ति विश्रामदिनको आराम बाँकी नै छ, किनकि जसले परमेश्‍वरको विश्राममा प्रवेश गर्नेछन्, परमेश्‍वरले आफ्ना कामबाट विश्राम गरेझैं तिनले पनि आफ्ना कामबाट विश्राम लिनेछन्। यसकारण इस्राएलीहरूका अनाज्ञाकारीताको नमुना अपनाएर कोही पनि नष्‍ट हुन नपरोस् भनेर हामी त्यस विश्राममा प्रवेश गर्न भरमग्दूर प्रयत्‍न गरौं। किनकि परमेश्‍वरको वचन जीवित, क्रियाशील र कुनै पनि दुईधारे तरवारभन्दा धारिलो हुन्छ, जसले प्राण र आत्मालाई अनि जोर्नी-जोर्नी र हाडको मासीलाई समेत भाग-भाग गरेर वारपार छेडिदिन्छ, र हृदयका विचार र मनोवृत्तिको न्याय गर्छ। अनि सारा सृष्‍टिमा भएको कुनै पनि थोक परमेश्‍वरको सृष्‍टिबाट लुकेको छैन। हामीले आफ्नो हिसाब बुझाउनु पर्नेका आँखामा सबै थोकहरू खुला र उदाङ्गो हुन्छन्।

शेयर गर्नुहोस्
हिब्रू 4 पढ्नुहोस्

हिब्रू 4:1-13 पवित्र बाइबल (NERV)

परमेश्वरले तिनीहरूलाई दिएको प्रतिज्ञा हामीलाई पनि हो। त्यो प्रतिज्ञा यो हो कि हामी प्रवेश गर्न र परमेश्वरको विश्राम लिन सक्छौं। हामी सर्तक हुनुपर्छ कि हामीले त्यो प्रतिज्ञा पाउन चुक्नु हुँदैन। जस्तो तिनीहरूलाई भनियो त्यस्तै प्रकारले बाँच्ने उपाय हामीलाई पनि बताइएको छ। तर तिनीहरूले उपदेश त सुने तर विश्वाससित ग्रहण गरेनन्। हामी विश्वासीहरू परमेश्वरको विश्राममा प्रवेश पाउँछौं। जस्तो परमेश्वरले नै भन्नुभयो: “म रिसाएँ र प्रतिज्ञा लिएँ की, ‘तिनीहरूले कहिल्यै प्रवेश गर्ने छैनन् र मेरो विश्राम पाउने छैनन्।’” परमेश्वरले यसो भन्नुभयो। तर परमेश्वरले यस संसारको सृष्टि गर्नुभएपछि उहाँले आफ्नो काम समाप्त गर्नुभयो। धर्मशास्त्रमा कहीं परमेश्वरले सातौं दिनको कुरा गर्नुभएको छ “अनि सातौं दिनमा परमेश्वरले आफ्नो सबै कामहरूबाट विश्राम लिनुभयो।” उपरोक्त खण्डमा यो पनि भनिएको छ, “ती मानिसहरू मेरो विश्राममा पस्न पाउने छैनन्।” यो अझै सत्य छ कि कतिपय मानिसहरूले प्रवेश गर्नेछन् र परमेश्वरको विश्राम पाउने छन्। तर ती मानिसहरू जसले पहिले मुक्तिको उपाय सुने त्यहाँ पस्न योग्यको थिएनन् किनकि तिनीहरूले आज्ञा मानेनन्। यसकारण परमेश्वरले अर्कै विशेष दिनको योजना गर्नुभयो। त्यसलाई “आज” भनियो। दाऊदद्वारा परमेश्वरले त्यस दिन बारे धेरैपछि बताउनुभयो। हामीले त्यो धर्मशास्त्र अघि नै उपयोग गर्यौं। “यदि आज तिमीहरूले परमेश्वरको आवाज सुन्यौ भने, अतीतमा जस्तै हठधर्मी नबन।” हामी जान्दर्छौ यहोशूले पनि मानिसहरूलाई विश्रामतिर डोर्याएनन्। हामी यो बुझ्छौं किनकि परमेश्वरले पछिबाट अर्को विश्रामको दिन बताउनुभयो। यसले देखाउँछ कि परमेश्वरका मानिसहरूलाई सातौं दिनको विश्राम अझै आउँदैछ। आफ्नो काम सकेर परमेश्वरले विश्राम लिनुभयो। यसकारण जसले प्रवेष गर्छ र परमेश्वरको विश्राम पाउँछ उसले परमेश्वरले गरिसकनु भए जस्तै आफ्नो काम गरिसकेको हुन्छ। समस्त हामी पनि परमेश्वरको विश्राममा प्रवेश गर्ने सक्दो कोशिश गरौं हामीले सक्दो कोशिश गर्नुपर्छ ता कि परमेश्वरको आज्ञा नमान्नेहरूको नमूना बनेर हामी नष्ट नहौं। परमेश्वरको वचन जीवित छ र क्रियाशील छ। उहाँको वचन कुनै दुइधारे तरवार भन्दा धारिलो छ। परमेश्वरको वचनले हामीलाई गहिरो गरी काट्छ। यसले आत्मा र प्राण, जोडिएको ठाउँमा काट्छ। यसले जोर्नी र हड्डी समेत काट्छ। यसले भित्री भाव र विचार सम्म जाँच्छ। संसारको कुनै थोक परमेश्वरबाट लुकाउन सकिँदैन। उहाँ सब कुरा स्पष्ट देख्नुहुन्छ। हरेक कुरा उहाँ अघि स्पष्ट छ। अनि उहाँलाई हामीले हाम्रो जीवनको लेखाजोखा बुझाउनै पर्छ।

शेयर गर्नुहोस्
हिब्रू 4 पढ्नुहोस्

हिब्रू 4:1-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हामीहरूलाई विश्राम दिन्‍छु भनेर परमेश्‍वरले गर्नुभएको प्रतिज्ञा अझै पनि छ। त्‍यसकारण होश राखौं र त्‍यस विश्राम पाउने ठाउँमा पस्‍न नपाउने तिमीहरूमा कोही पनि नहोस् किनभने पुर्खाहरूलाई जस्‍तै हामीलाई पनि सुसमाचार सुनाइएको छ। तर तिनीहरूलाई दिइएको सुसमाचार व्‍यर्थ भयो किनभने उनीहरूले सुनेका कुरामा विश्‍वास गरेनन्। अब हामी विश्‍वास गर्नेहरूचाहिँ परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको त्‍यस विश्रामको ठाउँमा पस्‍नेछौं। जसो उहाँले भन्‍नुभयो, “यसकारण मैले रिसमा शपथ खाएर भनें, ‘तिनीहरू कहिल्‍यै पनि मेरो विश्रामको ठाउँमा पस्‍न पाउनेछैनन्’!” सृष्‍टि गरिसक्‍नुभएदेखि नै परमेश्‍वरका सबै काम पूरा भए तापनि उहाँले यसो भन्‍नुभयो। धर्मशास्‍त्रमा कुनै ठाउँमा सातौँ दिनको बारेमा यसरी भनिएको छ, “सबै कामबाट परमेश्‍वरले सातौँ दिनमा विश्राम लिनुभयो।” फेरि उहाँले यसबारे यसो भन्‍नुभएको छ, “तिनीहरू मेरो विश्राममा पस्‍न पाउनेछैनन्। उहिले सुसमाचार सुन्‍नेहरूचाहिँ अट्टेरी भएकाले उहाँको विश्रामको त्‍यो ठाउँमा पस्‍न पाएनन्। तब त्‍यहाँ अरूहरू छन्, जो त्‍यो विश्राम पाउने ठाउँमा पस्‍न पाउँछन्। त्‍यसकारण परमेश्‍वरले अर्को दिनलाई फेरि ‘आज’ भनेर तोक्‍नुभयो। अघि भनेझैँ धेरै वर्षपछि परमेश्‍वरले दाऊद राजालाई भन्‍न लाउनुभयो, “आज तिमीहरूले परमेश्‍वरको आवाज सुन्‍यौ भने मन कठोर नपार।” यहोशूले इस्राएलीहरूलाई परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको विश्रामको ठाउँमा पुर्‍याएका भए उहाँले पछिबाट अर्को दिनको कुरै गर्नुहुनेथिएन। तर परमेश्‍वरले सातौं दिनमा विश्राम लिनुभएझैँ परमेश्‍वरका मानिसहरूका निम्‍ति विश्राम राखिएको छ। परमेश्‍वरले काम सक्‍नुभएर विश्राम लिनुभएझैँ विश्रामको ठाउँमा पस्‍नेहरूले पनि कामबाट विश्राम पाउनेछन्। त्‍यसो हुँदा त्‍यस विश्रामको ठाउँमा पस्‍न सक्‍दो कोसिस गरौं र हामी कोही पनि अविश्‍वासको कारणले अट्टेरी भएका मानिसहरूजस्‍ता छोडिनेछैनौं। परमेश्‍वरको वचन त काम गरिरहने र जिउँदो छ। यो दुईधारे तरवारभन्दा पनि धारिलो छ। यसले भित्र पुगी प्राण र आत्‍मालाई छुट्‌याइदिन्‍छ। जोर्नी र मज्‍जालाई अलग पारिदिन्‍छ। परमेश्‍वरको वचनले मानिसहरूको हृदयको विचार र चाहनालाई केलाएर जाँच गर्छ। परमेश्‍वरले देख्‍न नसक्‍ने कुनै कुरा छैन। उहाँका अघि सबै कुरा खुल्‍ला छन् र छर्लङ्गै देखिन्‍छन्। उहाँलाई नै हामी आफैंले गरेका कामको लेखा दिनुपर्छ।

शेयर गर्नुहोस्
हिब्रू 4 पढ्नुहोस्