हिब्रूहरू 4
4
परमेश्वरका जनहरूको लागि विश्रामदिनको आराम
1यसकारण त्यस विश्राममा प्रवेश गर्न पाउने प्रतिज्ञा अझै पनि रहेकोले तिमीहरूमध्ये कोही पनि वञ्चित हुन नपरोस् भनी हामी होसियार रहौं। 2किनकि तिनीहरूलाई झैं हामीलाई पनि सुसमाचार प्रचार गरिएको हो, तर तिनीहरूले सुनेको सन्देश तिनीहरूलाई लाभदायक भएन, किनभने तिनीहरूले आज्ञा पालन गर्नेहरूको जस्तो विश्वास गरेनन्। 3तर अब हामी जतिले विश्वास गर्यौं, त्यस विश्राममा प्रवेश गरेका छौं, जसरी परमेश्वरले भन्नुभएको छ:
“यसैले मैले आफ्नो क्रोधमा शपथ खाएर घोषणा गरें,
‘तिनीहरू कहिल्यै मेरो विश्राममा पस्नेछैनन्। ’ ”#4:3 भजन 95:11
जब कि उहाँका कामहरू त संसारको उत्पत्तिदेखि नै पूरा भइसकेका थिए। 4किनकि धर्मशास्त्रमा उहाँले सातौं दिनको विषयमा यस्ता शब्दहरूमा भन्नुभएको छ: “अनि सातौं दिनमा परमेश्वरले आफ्ना सबै कामहरूबाट विश्राम लिनुभयो।”#4:4 उत्प 2:2 5अनि फेरि यसै खण्डमा उहाँ भन्नुहुन्छ, “तिनीहरू कहिल्यै पनि मेरो विश्राममा पस्नेछैनन्।”
6अझै पनि कतिलाई त्यस विश्राममा प्रवेश गर्न बाँकी नै छ, जसलाई पहिले सुसमाचार प्रचार गरिएको थियो, तिनीहरू प्रवेश गर्न पाएनन्, किनकि तिनीहरू अनाज्ञाकारी थिए। 7यसकारण फेरि परमेश्वरले कुनै एउटा दिनलाई “आज” भनेर छुट्याउनुभयो, जब धेरै समयपछि उहाँले अघि भनेझैं दाविदद्वारा फेरि भन्नुभयो:
“आज तिमीहरूले उहाँको स्वर सुन्यौं भने,
आफ्ना हृदयलाई कठोर नबनाओ।”#4:7 भजन 95:7, 8
8किनकि यदि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए, परमेश्वरले पछिबाट अर्को दिनको विषयमा भन्नुहुने थिएन। 9यसकारण परमेश्वरका जनहरूको निम्ति विश्रामदिनको आराम बाँकी नै छ, 10किनकि जसले परमेश्वरको विश्राममा प्रवेश गर्नेछन्, परमेश्वरले आफ्ना कामबाट विश्राम गरेझैं तिनले पनि आफ्ना कामबाट विश्राम लिनेछन्। 11यसकारण इस्राएलीहरूका अनाज्ञाकारीताको नमुना अपनाएर कोही पनि नष्ट हुन नपरोस् भनेर हामी त्यस विश्राममा प्रवेश गर्न भरमग्दूर प्रयत्न गरौं।
12किनकि परमेश्वरको वचन जीवित, क्रियाशील र कुनै पनि दुईधारे तरवारभन्दा धारिलो हुन्छ, जसले प्राण र आत्मालाई अनि जोर्नी-जोर्नी र हाडको मासीलाई समेत भाग-भाग गरेर वारपार छेडिदिन्छ, र हृदयका विचार र मनोवृत्तिको न्याय गर्छ। 13अनि सारा सृष्टिमा भएको कुनै पनि थोक परमेश्वरको सृष्टिबाट लुकेको छैन। हामीले आफ्नो हिसाब बुझाउनु पर्नेका आँखामा सबै थोकहरू खुला र उदाङ्गो हुन्छन्।
येशू महान् प्रधान पूजाहारी
14यसकारण स्वर्ग छिचोलेर जानुहुने परमेश्वरको पुत्र येशू, महान् प्रधान पूजाहारी, हामीसँग हुनुभएकोले, हामीले स्वीकार गरेको विश्वासलाई दृढतापूर्वक थामिराखौं। 15किनकि हामीसँग हाम्रा दुर्बलताहरूमा सान्त्वना दिन नसक्ने प्रधान पूजाहारी होइन, तर हामीसँग त यस्ता प्रधान पूजाहारी हुनुहुन्छ, जो हामीझैं हर प्रकारले परीक्षित हुनुभएर पनि पापरहित हुनुहुन्छ। 16यसकारण हामी आत्मविश्वासका साथ अनुग्रहको सिंहासनको नजिक जाऔं, ताकि हाम्रा खाँचोहरूका समयमा हामीलाई दया र अनुग्रह प्राप्त होस्।
अहिले सेलेक्ट गरिएको:
हिब्रूहरू 4: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.