YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 15:1-11

उत्‍पत्ति 15:1-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यसपछि दर्शनमा अब्रामकहाँ परमप्रभुको यो वचन आयो, “अब्राम, तँ नडरा। तेरो ढाल म नै हुँ, र तेरो इनाम अत्‍यन्‍त ठूलो हुनेछ।” तर अब्रामले भने, “हे परमप्रभु परमेश्‍वर, तपाईंले मलाई के दिनुहुन्‍छ र? किनभने म सन्‍तानविहीन नै छु, मेरो घरको उत्तराधिकारी दमस्‍कसको एलीएजर हुनेछ।” फेरि अब्रामले भने, “हेर्नुहोस्, तपाईंले मलाई सन्‍तान दिनुभएन, र मेरो घरमा जन्‍मेको दास नै मेरो उत्तराधिकारी हुनेछ।” तब परमप्रभुको यो वचन फेरि तिनीकहाँ आयो, “यो मानिसचाहिँ तेरो उत्तराधिकारी हुनेछैन, तर जो तेरो आफ्‍नै छोरा हुन्‍छ त्‍यही नै तेरो उत्तराधिकारी हुनेछ।” अनि उहाँले तिनलाई बाहिर लगेर भन्‍नुभयो, “आकाशतिर हेरेर तारा गन्‍न सक्‍छस्‌ कि सक्दैनस्, गनिहेर।” उहाँले तिनलाई भन्‍नुभयो, “तेरा सन्‍तानहरू पनि त्‍यस्‍तै हुनेछन्‌।” अनि तिनले परमप्रभुमाथि विश्‍वास गरे, र यो तिनको निम्‍ति धार्मिकता गनियो। फेरि उहाँले तिनलाई भन्‍नुभयो, “यो देश तेरो अधिकारमा दिनलाई कल्‍दीहरूको ऊरबाट तँलाई ल्‍याउने परमप्रभु म नै हुँ।” तर अब्रामले भने, “हे परमप्रभु परमेश्‍वर, मैले यसको अधिकार गर्न पाउँछु भनेर म कसरी थाहा पाऊँ?” उहाँले तिनलाई भन्‍नुभयो, “मेरो निम्‍ति तीन वर्षको एउटा कोरली, तीन वर्षको एउटा बाख्रा, तीन वर्षको एउटा भेड़ा, एउटा ढुकुर र एउटा परेवाको बचेरो ले।” तिनले ती सबै उहाँकहाँ ल्‍याए, र माझमा दुई-दुई फ्‍याक पारेर हरेक फ्‍याक आमनेसामने राखिदिए। तर पक्षीहरूचाहिँ तिनले दुई-दुई फ्‍याक पारेनन्‌। अनि चील र गिद्धहरू ती मरेका पशुपक्षीहरूमाथि झम्‍टँदा अब्रामले तिनीहरूलाई धपाए।

शेयर गर्नुहोस्
उत्‍पत्ति 15 पढ्नुहोस्

उत्‍पत्ति 15:1-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यसपछि दर्शनमा याहवेहको यो वचन अब्रामकहाँ आयो: “अब्राम, तँ नडरा; म तेरो ढाल हुँ, र तेरो इनाम अत्यन्त ठूलो हुनेछ।” तर अब्रामले भने, “हे प्रभु याहवेह, तपाईंले मलाई के दिन सक्नुहुन्छ? किनकि म निःसन्तान छु, र मेरो सम्पत्तिको हकदार दमस्कसको एलीएजर नै हुनेछ।” अनि अब्रामले फेरि भने, “तपाईंले मलाई छोराछोरी दिनुभएन; यसकारण मेरै घरानामा जन्मेको सेवक नै मेरो उत्तराधिकारी हुनेछ।” तब याहवेहको वचन फेरि तिनीकहाँ आयो: “यो मानिस तेरो उत्तराधिकारी हुनेछैन; तर तँबाटै जन्मिएको छोरो तेरो उत्तराधिकारी हुनेछ।” उहाँले तिनलाई बाहिर लानुभयो र भन्‍नुभयो, “यदि तैँले गन्‍न सक्छस् भने आकाशतिर हेर्, र ताराहरू गन्।” तब उहाँले तिनलाई भन्‍नुभयो, “तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्।” अनि अब्रामले याहवेहमाथि विश्‍वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो। उहाँले तिनलाई यो पनि भन्‍नुभयो, “म नै याहवेह हुँ, जसले तँलाई कल्दीहरूको ऊरबाट यो देश सम्पत्तिको रूपमा दिन भनी निकालेर ल्याएँ।” तर अब्रामले भने, “हे प्रभु याहवेह, मैले यो सम्पत्तिको रूपमा पाउनेछु भनी म कसरी थाहा पाऊँ?” यसकारण याहवेहले तिनलाई भन्‍नुभयो, “मकहाँ तीन-तीन वर्षको एउटा कोरली, एउटा पाठी र एउटा भेडा, र साथमा एउटा ढुकुर र एउटा परेवाको बचेरो ले।” अब्रामले ती सबै उहाँकहाँ ल्याए, तिनीहरूलाई दुई टुक्रा गरी काटे र आधा भागलाई एक-अर्काको विपरीत दिशामा मिलाएर राखे; तर चराहरूलाई चाहिँ तिनले आधा गरी काटेनन्। तब चील र गिद्धहरू शिकारमाथि झम्टेर आए, तर अब्रामले तिनीहरूलाई धपाए।

शेयर गर्नुहोस्
उत्‍पत्ति 15 पढ्नुहोस्

उत्‍पत्ति 15:1-11 पवित्र बाइबल (NERV)

यी सब कुराहरू भई सकेपछि अब्रामलाई परमप्रभुबाट दर्शनद्वारा केही संदेशहरू आए। परमप्रभुले भन्नुभयो, “अब्राम तिमी नडराऊ। म तिम्रो ढाल हुँ। तिम्रो इनाम अत्यन्त विशाल हुनेछ।” अब्रामले भने, “हे परमप्रभु परमेश्वर! हजुरले मलाई के दिनुहुन्छ? यस्तो हजुरले दिंदा मलाई खुशी पार्ने केही छैन। किनभने, मसित छोरा छैन। यसर्थ मेरो घरमा जन्मेको कमारा दमीसकको एलीएजरले मेरो मृत्यु पछाडी मसँग भएका सबै सम्पत्ति पाउनेछ।” अब्रामले भने, “तपाईंले मलाई एउटा छोरा दिनुभएको छैन, अतः मेरो घरमा जन्मेको कमाराले मेरो जम्मै सम्पत्ति पाउनेछ।” त्यसपछि परमप्रभुले अब्रामसित कुरा गर्नु भयो। परमेश्वरले भन्नुभयो, “तिमीसँग भएको सम्पत्ति त्यो कमारोले पाउँदैन। तिम्रो आफ्नै छोरो जन्मनेछ। अनि तिम्रो सम्पत्तिको उत्तराधिकारी उही तिम्रो छोरो हुनेछ।” त्यसपछि परमेश्वरले अब्रामलाई बाहिर लानु भयो र भन्नुभयो, “आकाशमा हेर, तिमीले त्यहाँ यति धेरै ताराहरू देख्नेछौ गन्नु सक्तैनौ। भविष्यमा तिम्रा पनि त्यति धेरै सन्तानहरू हुनेछन्।” अब्रामले परमेश्वरलाई विश्वास गरे अनि परमेश्वरले अब्रामको विश्वासलाई विचार गर्नुभयो कि उसले वास्तवमा के गराउन चाहन्थे। परमेश्वरले अब्रामलाई भन्नुभयो, “म उही परमप्रभु हुँ जसले तिमीलाई कल्दीहरूको ऊरबाट ल्याएँ। मैले यसो गर्नुको तात्पर्य तिमीलाई यो भूमि दिनु हो, यो भूमि तिमीले ग्रहण गर्नेछौ।” तर अब्रामले भने, “हे परमप्रभु मेरा मालिक, यो भूमि मैले नै पाउनेछु भनी म कसरी थाहा पाउन सक्छु?” परमेश्वरले अब्रामलाई भन्नुभयो, “हामी एउटा करार गर्नेछौं। एउटा तीन बर्षको कोरली, त्यसरी नै तीन बर्ष पुगेको बाख्रा अनि तीन बर्ष पुगेको एउटा भेंडा ल्याऊ। अनि एउटा ढुक्कुर र एउटा परेवाको बच्चा पनि ल्याऊ।” परमेश्वरको निम्ति अब्रामले यी सबै कुराहरू ल्याएर यी सबै कुराको बलि चढाई ती सबलाई दुइ-दुइ टुक्रा पारे। तब अब्रामले प्रत्येक आधा भागलाई अर्को आधा भाग माथि र्तेस्याए। तर तिनले पंक्षीहरूलाई टुक्रा पारेनन्। पछि, ती पशुको मासु खान ठूला-ठूला पंक्षीहरू उडेर आए तर अब्रामले तिनीहरूलाई धपाए।

शेयर गर्नुहोस्
उत्‍पत्ति 15 पढ्नुहोस्

उत्‍पत्ति 15:1-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसपछि अब्रामले एउटा दर्शन पाए र परमप्रभुले यसो भन्‍नुभएको सुने, “अब्राम, नडरा, म तँलाई खतरादेखि जोगाउनेछु र ठूलो इनाम दिनेछु।” तर अब्रामले उत्तर दिए, “सार्वभौम परमप्रभु, मेरा बालबच्‍चा छैनन्, तपाईंको इनामले मलाई के राम्रो हुन्‍छ र? म पछिको हकदार दमस्‍कसको एलीएजर मात्र छ। तपाईंले मलाई सन्‍तान दिनुभएको छैन, मेरो एउटा कमारो मेरो सम्‍पत्तिमाथि हकदार बन्‍नेछ।” परमप्रभुले यसो भन्‍नुभएको उनले सुने, “यो कमारो एलीएजर तेरो धन-सम्‍पत्तिको हकवाला बन्‍नेछैन, तेरो छोरो तिनको हकदार हुनेछ।” परमप्रभुले उनलाई बाहिर लगेर भन्‍नुभयो, “आकाशमा हेर्‌ र ताराहरू गन्‍ने चेष्‍टा गर्‌, तेरा सन्‍तान तारा जतिकै हुनेछन्।” अब्रामले परमप्रभुमाथि आफ्‍नो भरोसा राखे। त्‍यसकारण परमप्रभु उनीसित प्रसन्‍न हुनुभयो र उनलाई ग्रहण गर्नुभयो। तब परमप्रभुले उनलाई भन्‍नुभयो, “बेबिलोनको ऊरदेखि तँलाई निकाली ल्‍याएर यो देश दिने परमप्रभु म नै हुँ।” तर अब्रामले सोधे, “सार्वभौम परमप्रभु, यस्‍तो हुनेछ भनी मैले कसरी जान्‍न सक्‍छु?” उहाँले उत्तर दिनुभयो, “मकहाँ तीनवर्षे एउटी गाई, एउटी बाख्री र एउटा साँढ-भेडा अनि एउटा ढुकुर र एउटा परेवा ले।” अब्रामले ती सबै परमेश्‍वरकहाँ ल्‍याए, आधा-आधा गरी दुई फ्‍याक पारे र ती टुक्राहरू आमुन्‍ने-सामुन्‍ने गरेर दुई पङ्‍क्तिमा राखिदिए। तर चराहरूचाहिँ काटेनन्। ती पशु-पंक्षीमाथि गिद्धहरू झम्‍टी आउँदा अब्रामले तिनलाई धपाए।

शेयर गर्नुहोस्
उत्‍पत्ति 15 पढ्नुहोस्