YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 15:1-11

उत्‍पत्ति 15:1-11 सरल नेपाली

त्‍यसपछि अब्रामले एउटा दर्शन पाए र परमप्रभुले यसो भन्‍नुभएको सुने, “अब्राम, नडरा, म तँलाई खतरादेखि जोगाउनेछु र ठूलो इनाम दिनेछु।” तर अब्रामले उत्तर दिए, “सार्वभौम परमप्रभु, मेरा बालबच्‍चा छैनन्, तपाईंको इनामले मलाई के राम्रो हुन्‍छ र? म पछिको हकदार दमस्‍कसको एलीएजर मात्र छ। तपाईंले मलाई सन्‍तान दिनुभएको छैन, मेरो एउटा कमारो मेरो सम्‍पत्तिमाथि हकदार बन्‍नेछ।” परमप्रभुले यसो भन्‍नुभएको उनले सुने, “यो कमारो एलीएजर तेरो धन-सम्‍पत्तिको हकवाला बन्‍नेछैन, तेरो छोरो तिनको हकदार हुनेछ।” परमप्रभुले उनलाई बाहिर लगेर भन्‍नुभयो, “आकाशमा हेर्‌ र ताराहरू गन्‍ने चेष्‍टा गर्‌, तेरा सन्‍तान तारा जतिकै हुनेछन्।” अब्रामले परमप्रभुमाथि आफ्‍नो भरोसा राखे। त्‍यसकारण परमप्रभु उनीसित प्रसन्‍न हुनुभयो र उनलाई ग्रहण गर्नुभयो। तब परमप्रभुले उनलाई भन्‍नुभयो, “बेबिलोनको ऊरदेखि तँलाई निकाली ल्‍याएर यो देश दिने परमप्रभु म नै हुँ।” तर अब्रामले सोधे, “सार्वभौम परमप्रभु, यस्‍तो हुनेछ भनी मैले कसरी जान्‍न सक्‍छु?” उहाँले उत्तर दिनुभयो, “मकहाँ तीनवर्षे एउटी गाई, एउटी बाख्री र एउटा साँढ-भेडा अनि एउटा ढुकुर र एउटा परेवा ले।” अब्रामले ती सबै परमेश्‍वरकहाँ ल्‍याए, आधा-आधा गरी दुई फ्‍याक पारे र ती टुक्राहरू आमुन्‍ने-सामुन्‍ने गरेर दुई पङ्‍क्तिमा राखिदिए। तर चराहरूचाहिँ काटेनन्। ती पशु-पंक्षीमाथि गिद्धहरू झम्‍टी आउँदा अब्रामले तिनलाई धपाए।

उत्‍पत्ति 15 पढ्नुहोस्