YouVersion लोगो
खोज आइकन

उत्पत्ति 15:1-11

उत्पत्ति 15:1-11 NCV

त्यसपछि दर्शनमा याहवेहको यो वचन अब्रामकहाँ आयो: “अब्राम, तँ नडरा; म तेरो ढाल हुँ, र तेरो इनाम अत्यन्त ठूलो हुनेछ।” तर अब्रामले भने, “हे प्रभु याहवेह, तपाईंले मलाई के दिन सक्नुहुन्छ? किनकि म निःसन्तान छु, र मेरो सम्पत्तिको हकदार दमस्कसको एलीएजर नै हुनेछ।” अनि अब्रामले फेरि भने, “तपाईंले मलाई छोराछोरी दिनुभएन; यसकारण मेरै घरानामा जन्मेको सेवक नै मेरो उत्तराधिकारी हुनेछ।” तब याहवेहको वचन फेरि तिनीकहाँ आयो: “यो मानिस तेरो उत्तराधिकारी हुनेछैन; तर तँबाटै जन्मिएको छोरो तेरो उत्तराधिकारी हुनेछ।” उहाँले तिनलाई बाहिर लानुभयो र भन्‍नुभयो, “यदि तैँले गन्‍न सक्छस् भने आकाशतिर हेर्, र ताराहरू गन्।” तब उहाँले तिनलाई भन्‍नुभयो, “तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्।” अनि अब्रामले याहवेहमाथि विश्‍वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो। उहाँले तिनलाई यो पनि भन्‍नुभयो, “म नै याहवेह हुँ, जसले तँलाई कल्दीहरूको ऊरबाट यो देश सम्पत्तिको रूपमा दिन भनी निकालेर ल्याएँ।” तर अब्रामले भने, “हे प्रभु याहवेह, मैले यो सम्पत्तिको रूपमा पाउनेछु भनी म कसरी थाहा पाऊँ?” यसकारण याहवेहले तिनलाई भन्‍नुभयो, “मकहाँ तीन-तीन वर्षको एउटा कोरली, एउटा पाठी र एउटा भेडा, र साथमा एउटा ढुकुर र एउटा परेवाको बचेरो ले।” अब्रामले ती सबै उहाँकहाँ ल्याए, तिनीहरूलाई दुई टुक्रा गरी काटे र आधा भागलाई एक-अर्काको विपरीत दिशामा मिलाएर राखे; तर चराहरूलाई चाहिँ तिनले आधा गरी काटेनन्। तब चील र गिद्धहरू शिकारमाथि झम्टेर आए, तर अब्रामले तिनीहरूलाई धपाए।

उत्पत्ति 15 पढ्नुहोस्