YouVersion लोगो
खोज आइकन

इजकिएल 1:1-28

इजकिएल 1:1-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तीसौँ वर्षको चौथो महिनाको पाँचौँ दिनमा जब म निर्वासितहरूसँग कबार नदीको किनारमा थिएँ, तब स्‍वर्ग खोलियो र मैले परमेश्‍वरका दर्शनहरू देखें। त्‍यस महिनाको पाँचौँ दिनमा— यहोयाकीन राजा कैद भएको यो पाँचौँ वर्ष थियो— बेबिलोनीहरूको देशमा कबार नदीको किनारमा परमप्रभुको वचन बूजीको छोरो इजकिएल पूजाहारीकहाँ आयो। त्‍यहाँ परमप्रभुको हात तिनीमाथि थियो। मैले हेरें, र आँधीबेहरी उत्तरबाट आइरहेको देखें— एउटा विशाल बादल, बिजुलीको चमकसमेत, जसको वरिपरि चहकिलो उज्‍यालो थियो। त्‍यस आगोको माझ जल्‍दो धातुझैँ देखिन्‍थ्‍यो, र आगोमा चार जीवित जीवात भएजस्‍तो केही देखा पर्‍यो। तिनीहरूको आकृति हेर्दा एक जना मानिसको जस्‍तै देखिन्‍थ्‍यो, तर हरेकका चार मोहड़ा र चार पखेटा थिए। तिनीहरूका गोड़ा सीधा थिए, तिनीहरूका खुट्टा बाछाका खुरजस्‍ता थिए। ती टल्‍काइराखेका काँसाजस्‍तै टल्‍कन्‍थे। तिनीहरूका पखेटामुनि चारैतिर मानिसको जस्‍ता हातहरू थिए। ती चारै जीवातका मोहड़ा र पखेटाहरू थिए, र तिनीहरूका पखेटा एउटाले अर्कोलाई छोएको थियो। कतैतिर लाग्‍दा हरेक नै सोझै अगाड़ि हिँड्‌थ्‍यो। तिनीहरू यताउता फर्कंदैनथिए। तिनीहरूको मोहड़ा यस्‍ता देखिन्‍थे: ती चारै जीवातको एउटा मोहड़ा मानिसको झैँ थियो। तिनीहरूको दाहिनेपट्टिको मोहड़ाचाहिँ सिंहको झैँ, देब्रेपट्टिको मोहड़ाचाहिँ गोरुको झैँ, र पछाडिपट्टिको मोहड़ाचाहिँ गरुडको झैँ थियो। तिनीहरूका मोहड़ा यस्‍तै थिए। तिनीहरूका पखेटाचाहिँ बाहिर र मास्‍तिर फैलिएका थिए। हरेकका दुई पखेटाले चाहिँ एउटाले अर्काको पखेटालाई छोएका थिए, र अरू दुई पखेटाले आ-आफ्‍नो शरीर ढाकेका थिए। तिनीहरू हरेक सोझै हिँड्‌थे। आत्‍मा जता-जता गयो त्‍यतै तिनीहरू जान्‍थे। तिनीहरू यताउता नफर्की हिँड्‌थे। ती जीवित जीवातको आकृति जलिरहेको आगोको भुङ्‌ग्रो वा राँकोजस्‍तो थियो। आगो ती जीवातहरूका बीचमा केही यतादेखि उता र उतादेखि यता गइरहेको देखिन्‍थ्‍यो। आगो चहकिलो थियो, अनि त्‍यसबाट बिजुली निस्‍कन्‍थ्‍यो। ती जीवातहरू बिजुली चम्‍केजस्‍तै यतादेखि उता र उतादेखि यता वेग हान्‍थे। जब मैले ती जीवित जीवातहरूलाई हेरिरहेको थिएँ, तब ती चारै मोहड़ा भएका हरेक जीवातको छेउमा मैले जमिनमा पाङ्‌ग्रा देखें। ती पाङ्‌ग्राहरूको आकार र बनावट यस्‍ता थिए— तिनीहरू पीतमणिजस्‍तै चम्‍कन्‍थे। ती चारै वटाको अनुहार एकै खालको देखिन्‍थ्‍यो। एउटा पाङ्‌ग्रोभित्र अर्को पाङ्‌ग्रो परस्‍पर वारपार गर्ने भएझैँ थियो। तिनीहरू हलचल गर्दा तिनीहरूका चारैपट्टि कुनै पनि तर्फ हिँड्‌थे। ती जीवातहरू हिँड्‌दा ती पाङ्‌ग्राहरूचाहिँ यताउता घुम्‍दैनथे। तिनीहरूका घेरा अल्‍गा र डरलाग्‍दा थिए, र ती चारै घेरा चारैतिर आँखाहरूले भरिएका थिए। ती जीवित जीवातहरू चलहल गर्दा ती पाङ्‌ग्राहरू पनि साथसाथै हिँड्‌थे। ती जीवित जीवातहरू जमिनबाट उठ्‌दा ती पाङ्‌ग्राहरू पनि उठ्‌थे। आत्‍मा जता गए तिनीहरू त्‍यतै जान्‍थे, र ती पाङ्‌ग्राहरू पनि तिनीहरूसँगै उठ्‌थे, किनभने ती जीवित जीवातहरूका आत्‍मा तिनै पाङ्‌ग्रामा थिए। ती जीवातहरू चलहल गर्दा यी पनि चलहल गर्थे। ती ठिङ्ग उभिँदा यी पनि ठिङ्ग उभिन्‍थे। ती जमिनबाट उठ्‌दा यी पाङ्‌ग्रा पनि तिनीहरूसँगै उठेर जान्‍थे, किनभने ती जीवित जीवातहरूका आत्‍मा ती पाङ्‌ग्रामा नै थिए। ती जीवित जीवातका शिरको मास्‍तिर विस्‍तृत क्षेत्रजस्‍तै देखिन्‍थ्‍यो, बरफझैँ चम्‍किरहेको र डरलाग्‍दो, त्‍यस विस्‍तृत क्षेत्रमुन्‍तिर तिनीहरूका पखेटा, एउटाको पखेटाले अर्काको पखेटालाई छुने गरी सोझै फैलिएका थिए। हरेक जीवित जीवातका दुई-दुई पखेटाले आ-आफ्‍नो शरीर ढाकेका थिए। तिनीहरू जाँदा तिनीहरूका पखेटाको आवाज धेरै पानीको गर्जन, सर्वशक्तिमान्‌को सोर, सेनाको खल्‍याङमल्‍याङको आवाज जस्‍तै मैले सुनें। तिनीहरू ठिङ्ग उभिँदा तिनीहरूले आफ्‍ना पखेटा तल झार्थे। आफ्‍ना पखेटा तल झारेर तिनीहरू टक्‍क अडिँदा, तिनीहरूको शिरको मास्‍तिर भएको विस्‍तृत क्षेत्रबाट एउटा सोर निस्‍क्‍यो। तिनीहरूका शिरमाथिको विस्‍तृत क्षेत्रमाथि एउटा सिंहासनजस्‍तो थियो। हेर्दा त्‍यो नीरजस्‍तै देखिन्‍थ्‍यो, र सिंहासनमा बस्‍नेको रूप मानिसको जस्‍तो थियो। तिनको कम्‍मरदेखि मास्‍तिर तिनको अनुहार जल्‍दो धातुजस्‍तै भएको मैले देखें— चारैतिर आगोले भरिएको जस्‍तै। कम्‍मरदेखि मुन्‍तिर पनि तिनको अनुहार आगोजस्‍तै देखियो, र चहकिलो उज्‍यालोले तिनलाई घेरिराखेको थियो। पानी परेको दिन बादलमा इन्‍द्रेनीको आकार देखिएझैँ तिनका चारैतिरको चमक त्‍यस्‍तै उज्‍ज्‍वल थियो। परमप्रभुका महिमाको प्रतिरूपको अनुहार यस्‍तै थियो। जब मैले त्‍यो देखें तब म घोप्‍टो परें, र कोही बोलिरहेको सोर मैले सुनें।

शेयर गर्नुहोस्
इजकिएल 1 पढ्नुहोस्

इजकिएल 1:1-28 पवित्र बाइबल (NERV)

म बूजीको छोरो पूजाहारी इजकिएल हुँ। म बाबेलमा कैदीहरूसित कबार नदीको किनारमा थिएँ। स्वर्ग खुल्यो अनि मैले परमेश्वरको दर्शन देखें। यो तीसौं बर्षको चौथो महीनाको पाँचौ दिन थियो। (यो राजा यहोयाकीनको देश निष्कासनको पाँचौं बर्षको पाँचौं महीनाको पाँचौं दिन इजकिएलले परमप्रभुको वचन प्राप्त गरे। त्यस स्थानमा परमप्रभुको शक्ति ममाथि आयो।) मैले उत्तर दिशाबाट आँधी-बेहरी आउँदै गरेको देखें। त्यो बाक्लो बादल थियो अनि बादलको चारै तिर उज्यालो थियो र यसबाट आगो बलिरहेको थियो। त्यस आगोको बीचमा टल्किएको तातो धातु झैं केही देखिन्थ्यो। बादल भित्रबाट चारवटा जीवित प्राणीहरू झैं केही देखा पर्यो, त्यो हेर्दा मानिसको रूप जस्तै देखिन्थ्यो। तर हरेक प्राणीको चारवटा अनुहारहरू अनि चारवटा पखेंटाहरू थिए। तिनीहरूको खुट्टाहरू सीधा थियो अनि पैताला बाछाको खुर जस्तो थियो। अनि त्यो टल्काइ राखेको काँसा जस्तै टल्किन्थ्यो। तिनीहरूको पखेंटा मुनि चारैतिर मानिसको हातहरू थियो अनि ती चारै जनाको चारवटा चेहराहरू अनि चारवटा पखेंटाहरू थियो। पखेंटाले एका-अर्कालाई छुन्थ्यो। जब तिनीहरू हिँड्थे, यता-उता फर्कदैन थिए अनि त्यसै दिशापट्टि हिंडथे जता हेरिरहेको हुन्थे। हरेक प्राणीको चारवटा मुख थियो। अघाडी पट्टिको अनुहार मानिसको जस्तो थियो। दाहिने पट्टि सिंहको अनुहार जस्तो थियो। देब्रेपट्टि गोरूको जस्तो अनुहार थियो, अनि पछाडि पट्टिको अनुहार चीलको जस्तो थियो। प्राणीहरूको पखेंटा तिनीहरूमाथि फैलिएका थियो, तिनीहरूले आफ्नो दुइवटा पखेंटाले आफ्नो छेउको प्राणीको दुइवटा पखेंटालाई छोएको हुन्थ्यो तथा दुइवटालाई आफ्नो शरीर छोप्नका निम्ति प्रयोग गरिएको थियो। जब ती प्राणीहरू हिँड्थे तिनीहरू फर्कंन्दैन थिए। ती त्यसै दिशामा हिँड्थे जुन दिशा पट्टि तिनीहरू फर्केका थिए। तिनीहरू त्यहीं जान्थे जहाँ तिनीहरूलाई हावाले लिएर जान्थ्यो। हरेक प्राणीलाई यस्तो देखिन्थ्यो, ती प्राणीहरूको बीचको भाग बल्दै गरेको कोईलाको आगो जस्तै देखिएको हुन्थ्यो। यो आगो सानो-सानो राँको जस्तै ती प्राणीहरूको बीचमा बलिरहेको थियो। आगो चहकिलो थियो अनि त्यसबाट बिजुली निस्कन्थ्यो। ती प्राणीहरू बिजुली चम्के जस्तै यतादेखि उता बेगसँग दौडन्थे। जति बेला मैले प्राणीहरूलाई हेरिरहेको थिएँ मैले चारवटा पाङ्ग्राहरू देखें। प्रत्येक प्राणीका निम्ति एउटा पाङ्ग्रा थियो। पाङ्ग्राले जमीनलाई छोएको थियो अनि सबै पाङ्ग्रा एक समान थिए। पाङ्ग्रा हेर्दा पहेंलो शुद्धमणि जस्तो थियो, अनि तिनीहरूको बनावट पाङ्ग्रा भित्र पाङ्ग्रा जस्तै थियो। त्यो पाङ्ग्रा कुनै दिशामा पनि घुम्न सक्थ्यो, तर ती जीवित प्राणीहरू हिँड्दा यता उता घुम्न सक्दैन थिए। त्यो पाङ्ग्रा अग्लो डरलाग्दो सुइरोले घेरिएको थियो। त्यसको चारै पाङ्ग्राहरू आँखै-आँखाले घेरिएका थिए। पाङ्ग्रा सधैँ प्राणीहरूसँग हिँड्थ्यो। यदि प्राणी माथि हावामा गयो भने पाङ्ग्रा पनि सँगै जान्थ्यो। तिनीहरू त्यहीं जान्थे जहाँ हावाले लिएर जान्थ्यो अनि पाङ्ग्रा पनि तिनीहरूसितै जान्थ्यो किनभने यी प्राणीहरूको हावा पाङ्ग्राहरू थियो। यसकारण प्राणी चल्दा पाङ्ग्रा पनि चल्थ्यो, अनि प्राणी रोकिए पाङ्ग्रा पनि रोकिन्थ्यो। यदि पाङ्ग्रा हावामा माथि गए ती प्राणीहरू पनि जान्थ्यो, किनभने हावा पाङ्ग्राहरूमा थियो। प्राणीहरूको शिरमाथि आश्चर्यजनक चीज थियो। यो एउटा उल्टा बटुका जस्तै थियो। बटुका बरफ जस्तै स्वच्छ थियो। यो बटुकाको तल प्रत्येक प्राणीको सीधा पखेंटा थियो त्यो अर्को प्राणीसम्म पुगेको थियो। प्रत्येक प्राणीले यसको दुइवटा फिँजिएको पखेंटाहरू अनि अर्को दुइवटा पखेंटाहरूले यसको शरीर छोपेको थियो। जब-जब त्यो प्राणीहरू हिँड्‌थ्यो, त्यसको पखेंटाको ध्वनि बडो तेजसँग आउँथ्यो। त्यो ध्वनि समुद्रको गर्जन जस्तै हुन्थ्यो। त्यो सर्वशक्तिमान परमेश्वरको छेउमा निस्कने वाणी समान थियो। त्यो कुनै सेना समूहको स्वर जस्तै थियो। जब ती प्राणीहरू हिँड्न छोड्थे त्यति बेला आफ्नो पखेंटा तल झर्थ्यो। ती प्राणीहरूले हिँड्न बन्द गर्थे, आफ्नो पखेंटाहरू तल झर्थे अनि त्यँहा फेरि डरलाग्दो आवाज हुन्थ्यो। त्यो आवाज बटुकाबाट हुन्थ्यो जुन तिनीहरूको शिरमाथि थियो। त्यो बटुकाको माथि केही थियो जुन एउटा सिंहासन जस्तो देखिन्थ्यो। यो नीलमणि जस्तै नीलो थियो, त्यहाँ कोही थियो जुन त्यो सिंहासनमाथि बसेको मानिस जस्तै देखिन्थ्यो। मैले त्यसको कम्मरमाथि हेरे। त्यो चहकिलो काँसा जस्तो देखिन्थ्यो। त्यसको चारैतिर आगोको ज्वाला निस्किरहेको थियो। मैले त्यसको कम्मरदेखि मुन्तिर हेरें, त्यहाँ पनि आगो जस्तै निक्लिरहेको थियो जुन त्यसको चारैतिर आगो जस्तै जग्मगाई रहेको थियो। त्यसको चारैतिर उज्यालो प्रकाश बादलमा इन्द्रेणीको आकार जस्तै थियो। त्यो परमप्रभुको महिमा जस्तो थियो। जब मैले त्यो देखें र म पृथ्वीमा लडें। मैले भूईंमा टाउको घोप्टो पारें अनि मैले कोही बोलिरहेको जस्तो स्वर सुनें।

शेयर गर्नुहोस्
इजकिएल 1 पढ्नुहोस्

इजकिएल 1:1-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तीसौं वर्षको चौथो महिनाको पाँचौं दिन बूजीका छोरा म इजकिएल पूजाहारी कैदमा लगिएकाहरूसँग बेबिलोन देशको कबार नदीको किनारमा थिएँ। आकाश उघ्रियो र मैले परमेश्‍वरको दर्शन देखें। (यहोयाकीन राजा देशनिकाला भई कैदमा लगिएको यो पाँचौं वर्ष थियो।) बेबिलोनको कबार नदीको किनारमा परमप्रभु मसित बोल्‍नुभएको मैले सुनें र उहाँको हात ममाथि भएको थाहा गरें। मैले माथि हेरें र उत्तरबाट आँधी-बेहरी आइरहेको देखें। बाक्‍लो बादलको बीचबाट बिजुली चम्‍कँदै थियो र त्‍यसको चारैतिर उज्‍यालो फैलिंदै थियो। बिजुली चम्‍केको ठाउँनिर काँसाझैँ केही चम्‍कँदै थियो। आँधीको ठीक बीचमा मानिसको रूपमा चार जीवित प्राणीहरूझैँ मैले देखें। तर हरेकका चार वटा अनुहारहरू र चार वटा पखेटाहरू थिए। तिनीहरूका खुट्टाहरू सीधा थिए र पाउमा साँढेका झैँ खुर थिए। ती टल्‍काइराखेका काँसाझैँ चम्‍कन्‍थे। चार वटा अनुहार र चार वटा पखेटा-बाहेक प्रत्‍येक पखेटामुनि मानिसको जस्‍तै एक-एक वटा हात थियो। प्रत्‍येक जीवित प्राणीले आफ्‍ना दुई वटा पखेटा यस्‍तो प्रकारले फैलाएको थियो कि एउटा पखेटाको टुप्‍पाले अर्को पखेटाको टुप्‍पोलाई छोएर एउटा वर्गाकार बनेको थियो। तिनीहरू चल्‍दा आ-आफ्‍नो जिउ यताउता नफर्काई एकसाथ चल्‍थे। प्रत्‍येक जीवित प्राणीका चार वटा भिन्‍ना-भिन्‍नै अनुहारहरू थिए: अगाडिपट्टि मानिसको अनुहार, दायाँपट्टि सिंहको अनुहार, बायाँपट्टि साँढेको अनुहार र पछाडिपट्टि चीलको अनुहार। प्रत्‍येक प्राणीका दुई पखेटा मास्‍तिर फैलिएका थिए र एउटाको पखेटाले अर्कोको पखेटा छोएको थियो र अरू दुई पखेटाले चाहिँ आ-आफ्‍ना शरीर ढाकेका थिए। प्रत्‍येक प्राणीले चारै दिशापट्टि आफ्‍नो मुख फर्काएको थियो र आत्‍मा जता-जता जान्‍थे, तिनीहरू जिउ नफर्काई साथसाथै त्‍यतै जान्‍थे। ती प्राणीहरू बल्‍दैगरेको कोइला वा राँकोजस्‍ता देखिन्‍थे। तिनीहरूको बीचमा आगोको मुस्‍लो यताउता सर्थ्यो। यो आगो चम्‍किलो थियो र त्‍यहाँबाट झिलिक-मिलिक बिजुली चम्‍कँन्‍थ्‍यो। ती प्राणीहरू बिजुलीको वेगमा यताउता हुत्तिन्‍थे। ती चार प्राणीहरूलाई मैले हेर्दैगर्दा हरेकको छेउमा एक-एक वटा जमिन छोएको गरी चार वटा पाङ्ग्रा देखें। चारै वटा पाङ्ग्रा एकै किसिमका थिए, ती दामी रत्‍नझैँ चम्‍कन्‍थे र प्रत्‍येकलाई समकोणमा भाग गर्दै अर्को एक-एक वटा पाङ्ग्रा पनि थियो। त्‍यसले गर्दा ती पाङ्ग्राहरू चारैतिर जान सक्‍थे। पाङ्ग्राका बाहिरी घेराभरि नै आँखाहरू थिए। प्राणीहरू चल्‍दा पाङ्ग्राहरू पनि सँगसँगै चल्‍थे, प्राणीहरू जमिनबाट उठ्दा ती पाङ्ग्राहरू पनि उठ्थे। आत्‍मा जता-जता जान्‍थे, तिनीहरू त्‍यतै-त्‍यतै जान्‍थे र ती पाङ्ग्राहरू तिनीहरूसँगै उचालिन्‍थे किनभने ती जीवित प्राणीहरूका आत्‍मा पाङ्ग्राहरूमा थिए। त्‍यस्‍तै प्रकारले जतिपल्‍ट प्राणीहरू चल्‍थे, थामिन्‍थे वा उचालिन्‍थे, त्‍यति नै पल्‍ट पाङ्ग्राहरू पनि त्‍यसै गर्थे। ती प्राणीहरूको शिरको माथितिर स्‍फटिकझैँ चम्‍किरहने एउटा गुम्‍बजको जस्‍तो आकार थियो। गुम्‍बजको मुन्‍तिर एउटाको पखेटाले अर्कोको पखेटा छुने गरी आ-आफ्‍ना दुई-दुई वटा पखेटा फैलाएर र बाँकी दुई वटा पखेटाले आ-आफ्‍ना शरीर ढाकेर ती चार जीवित प्राणीहरू खडा थिए। तिनीहरू उडेर जाँदा तिनीहरूका पखेटाको आवाज मैले सुनें, त्‍यो आवाज समुद्रजस्‍तै गर्जन्‍थ्‍यो अथवा ठूलो सेना हिंडेजस्‍तो वा सर्वशक्तिमान् परमेश्‍वरको सोरझैँ सुनिन्‍थ्‍यो। तिनीहरू अडिँदा पखेटा झार्थे, तर तिनीहरूको शिर मास्‍तिरको गुम्‍बजबाट भने आवाज निस्‍किरहन्‍थ्‍यो। गुम्‍बजको मास्‍तिर मणिले बनिएको एउटा सिंहासनजस्‍तो थियो र त्‍यसमाथि मानिसजस्‍तो एउटा आकार बसेको थियो। आगोको बीचमा काँसा चम्‍केझैँ त्‍यो आकार चम्‍कन्‍थ्‍यो अनि त्‍यसको ज्‍योति चारैतिर फैलिएको थियो। त्‍यस ज्‍योतिमा इन्‍द्रेणीका सबै रङ्गहरू देखिन्‍थे। यो दृश्‍यले परमप्रभुको महिमा प्रकट गर्दथ्‍यो।

शेयर गर्नुहोस्
इजकिएल 1 पढ्नुहोस्