इजकिएल 1
1
जीवित जीवात र परमप्रभुको महिमा
1तीसौँ वर्षको चौथो महिनाको पाँचौँ दिनमा जब म निर्वासितहरूसँग कबार नदीको किनारमा थिएँ, तब स्वर्ग खोलियो र मैले परमेश्वरका दर्शनहरू देखें। #प्रका १९:११ 2त्यस महिनाको पाँचौँ दिनमा— यहोयाकीन राजा कैद भएको यो पाँचौँ वर्ष थियो— #२ राज २४:१०-१६; २ इति ३६:९-१० 3बेबिलोनीहरूको देशमा कबार नदीको किनारमा परमप्रभुको वचन बूजीको छोरो इजकिएल पूजाहारीकहाँ आयो। त्यहाँ परमप्रभुको हात तिनीमाथि थियो।
4मैले हेरें, र आँधीबेहरी उत्तरबाट आइरहेको देखें— एउटा विशाल बादल, बिजुलीको चमकसमेत, जसको वरिपरि चहकिलो उज्यालो थियो। त्यस आगोको माझ जल्दो धातुझैँ देखिन्थ्यो, 5र आगोमा चार जीवित जीवात भएजस्तो केही देखा पर्यो। तिनीहरूको आकृति हेर्दा एक जना मानिसको जस्तै देखिन्थ्यो, #प्रका ४:६ 6तर हरेकका चार मोहड़ा र चार पखेटा थिए। 7तिनीहरूका गोड़ा सीधा थिए, तिनीहरूका खुट्टा बाछाका खुरजस्ता थिए। ती टल्काइराखेका काँसाजस्तै टल्कन्थे। 8तिनीहरूका पखेटामुनि चारैतिर मानिसको जस्ता हातहरू थिए। ती चारै जीवातका मोहड़ा र पखेटाहरू थिए, 9र तिनीहरूका पखेटा एउटाले अर्कोलाई छोएको थियो। कतैतिर लाग्दा हरेक नै सोझै अगाड़ि हिँड्थ्यो। तिनीहरू यताउता फर्कंदैनथिए।
10तिनीहरूको मोहड़ा यस्ता देखिन्थे: ती चारै जीवातको एउटा मोहड़ा मानिसको झैँ थियो। तिनीहरूको दाहिनेपट्टिको मोहड़ाचाहिँ सिंहको झैँ, देब्रेपट्टिको मोहड़ाचाहिँ गोरुको झैँ, र पछाडिपट्टिको #इज १०:१४; प्रका ४:७ मोहड़ाचाहिँ गरुडको झैँ थियो। 11तिनीहरूका मोहड़ा यस्तै थिए। तिनीहरूका पखेटाचाहिँ बाहिर र मास्तिर फैलिएका थिए। हरेकका दुई पखेटाले चाहिँ एउटाले अर्काको पखेटालाई छोएका थिए, र अरू दुई पखेटाले आ-आफ्नो शरीर ढाकेका थिए। 12तिनीहरू हरेक सोझै हिँड्थे। आत्मा जता-जता गयो त्यतै तिनीहरू जान्थे। तिनीहरू यताउता नफर्की हिँड्थे। 13ती जीवित जीवातको आकृति जलिरहेको आगोको भुङ्ग्रो वा राँकोजस्तो थियो। आगो ती जीवातहरूका बीचमा केही यतादेखि उता र उतादेखि यता गइरहेको देखिन्थ्यो। आगो चहकिलो थियो, अनि त्यसबाट बिजुली निस्कन्थ्यो। 14ती जीवातहरू बिजुली चम्केजस्तै यतादेखि उता र उतादेखि यता वेग हान्थे।
15जब मैले ती जीवित जीवातहरूलाई हेरिरहेको थिएँ, तब ती चारै मोहड़ा भएका हरेक जीवातको छेउमा मैले जमिनमा पाङ्ग्रा देखें। #इज १०:९-१३ 16ती पाङ्ग्राहरूको आकार र बनावट यस्ता थिए— तिनीहरू पीतमणिजस्तै चम्कन्थे। ती चारै वटाको अनुहार एकै खालको देखिन्थ्यो। एउटा पाङ्ग्रोभित्र अर्को पाङ्ग्रो परस्पर वारपार गर्ने भएझैँ थियो। 17तिनीहरू हलचल गर्दा तिनीहरूका चारैपट्टि कुनै पनि तर्फ हिँड्थे। ती जीवातहरू हिँड्दा ती पाङ्ग्राहरूचाहिँ यताउता घुम्दैनथे। 18तिनीहरूका घेरा अल्गा र डरलाग्दा थिए, र ती चारै घेरा चारैतिर आँखाहरूले भरिएका थिए। #प्रका ४:८
19ती जीवित जीवातहरू चलहल गर्दा ती पाङ्ग्राहरू पनि साथसाथै हिँड्थे। ती जीवित जीवातहरू जमिनबाट उठ्दा ती पाङ्ग्राहरू पनि उठ्थे। 20आत्मा जता गए तिनीहरू त्यतै जान्थे, र ती पाङ्ग्राहरू पनि तिनीहरूसँगै उठ्थे, किनभने ती जीवित जीवातहरूका आत्मा तिनै पाङ्ग्रामा थिए। 21ती जीवातहरू चलहल गर्दा यी पनि चलहल गर्थे। ती ठिङ्ग उभिँदा यी पनि ठिङ्ग उभिन्थे। ती जमिनबाट उठ्दा यी पाङ्ग्रा पनि तिनीहरूसँगै उठेर जान्थे, किनभने ती जीवित जीवातहरूका आत्मा ती पाङ्ग्रामा नै थिए।
22ती जीवित जीवातका शिरको मास्तिर विस्तृत क्षेत्रजस्तै देखिन्थ्यो, बरफझैँ चम्किरहेको र डरलाग्दो, #प्रका ४:६ 23त्यस विस्तृत क्षेत्रमुन्तिर तिनीहरूका पखेटा, एउटाको पखेटाले अर्काको पखेटालाई छुने गरी सोझै फैलिएका थिए। हरेक जीवित जीवातका दुई-दुई पखेटाले आ-आफ्नो शरीर ढाकेका थिए। 24तिनीहरू जाँदा तिनीहरूका पखेटाको आवाज धेरै पानीको गर्जन, सर्वशक्तिमान्को सोर, सेनाको खल्याङमल्याङको आवाज जस्तै मैले सुनें। तिनीहरू ठिङ्ग उभिँदा तिनीहरूले आफ्ना पखेटा तल झार्थे। #प्रका १:१५; १९:६
25आफ्ना पखेटा तल झारेर तिनीहरू टक्क अडिँदा, तिनीहरूको शिरको मास्तिर भएको विस्तृत क्षेत्रबाट एउटा सोर निस्क्यो। 26तिनीहरूका शिरमाथिको विस्तृत क्षेत्रमाथि एउटा सिंहासनजस्तो थियो। हेर्दा त्यो नीरजस्तै देखिन्थ्यो, र सिंहासनमा बस्नेको रूप मानिसको जस्तो थियो। #इज १०:१; प्रका ४:२-३ 27तिनको कम्मरदेखि मास्तिर तिनको अनुहार जल्दो धातुजस्तै भएको मैले देखें— चारैतिर आगोले भरिएको जस्तै। कम्मरदेखि मुन्तिर पनि तिनको अनुहार आगोजस्तै देखियो, र चहकिलो उज्यालोले तिनलाई घेरिराखेको थियो। #इज ८:२ 28पानी परेको दिन बादलमा इन्द्रेनीको आकार देखिएझैँ तिनका चारैतिरको चमक त्यस्तै उज्ज्वल थियो।
परमप्रभुका महिमाको प्रतिरूपको अनुहार यस्तै थियो। जब मैले त्यो देखें तब म घोप्टो परें, र कोही बोलिरहेको सोर मैले सुनें।
अहिले सेलेक्ट गरिएको:
इजकिएल 1: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012