प्रस्थान 4:18-31
प्रस्थान 4:18-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसपछि मोशा फर्केर आफ्ना ससुरा यित्रोकहाँ आएर तिनलाई भने, “बिन्ती छ, मिश्रमा भएका मेरा दाजुभाइहरू बाँचेकै छन् कि छैनन्, गएर हेर्ने अनुमति दिनुहोस्।” यित्रोले मोशालाई भने, “हुन्छ, कुशलसित जाऊ।” परमप्रभुले मिद्यान देशमा मोशालाई भन्नुभएको थियो, “मिश्रमा फर्केर जा, किनकि तेरो ज्यान लिन खोज्नेहरू सबै मरिसके।” यसकारण आफ्नी पत्नी र छोराहरूलाई एउटा गधामा चढ़ाएर मोशा मिश्रमा फर्के। र तिनले परमेश्वरको लट्ठी हातैमा लिएर गए। तब परमप्रभुले मोशालाई भन्नुभयो, “जब तँ मिश्रमा फर्कन्छस् तब मैले तेरो हातको शक्तिमा राखिदिएका सबै उदेकका कामहरू फारोको सामुन्ने गर्। तर म त्यसको हृदय कठोर गरिदिनेछु, र त्यसले मानिसहरूलाई जान दिनेछैन। तब तैंले फारोलाई भन्, ‘परमप्रभु भन्नुहुन्छ: इस्राएल मेरो जेठो छोरो हो। मैले तँलाई भनें, “मेरो छोरालाई जान दे, र त्यसले मेरो सेवा गरोस्।” तर तैंले चाहिँ त्यसलाई जान दिन इन्कार गरिस्। यसैले म तेरो जेठो छोरालाई मार्नेछु’।” अनि बाटोमा वास बस्ने ठाउँमा परमप्रभुले मोशालाई भेट्नुभयो, र तिनलाई मार्ने इच्छा गर्नुभयो। तर सिप्पोराले एउटा चकमकको कर्द लिएर आफ्नो छोराको खलड़ी च्वाट्टै काटेर मोशाको खुट्टामा छुवाइन्, अनि तिनले भनिन्, “तपाईं मेरो निम्ति रगतको दुलहा हुनुहुन्छ।” यसैले परमप्रभुले तिनलाई छोड़िदिनुभयो। तिनले खतनाको कारणले गर्दा भनेकी थिइन्, “तपाईं रगतको दुलहा हुनुहुन्छ।” परमप्रभुले हारूनलाई भन्नुभयो, “मोशालाई भेट गर्न उजाड़-स्थानतिर जा।” तब उनी परमेश्वरको पर्वतमा मोशालाई भेट गर्न गए, र भेटेर तिनलाई म्वाइँ खाए। अनि परमप्रभुले तिनलाई भनेर पठाउनुभएका सबै कुराहरू, र देखाउनू भनेर आज्ञा दिनुभएका सबै आश्चर्यपूर्ण चिन्हहरूका विषयमा मोशाले हारूनलाई बताए। तब मोशा र हारून गए, र इस्राएलीहरूका जम्मै धर्म-गुरुहरूलाई जम्मा गरे। अनि परमेश्वरले मोशालाई भन्नुभएका सबै कुराहरू हारूनले तिनीहरूलाई बताए। मोशाले मानिसहरूका आँखाकै सामुन्ने ती चिन्हहरू देखाए, र मानिसहरूले पत्याए। परमप्रभु इस्राएलीहरूको चिन्ता लिनुहुन्छ र तिनीहरूको कष्ट पनि देख्नुभएको छ भनी जब तिनीहरूले सुने, तब तिनीहरूले आफ्ना शिर निहुराएर दण्डवत् गरी आराधना गरे।
प्रस्थान 4:18-31 पवित्र बाइबल (NERV)
तब मोशा आफ्नो ससूरा यित्रोकहाँ गए। मोशाले तिनलाई भने, “दया गरी मलाई मिश्र देश फर्किन दिनुहोस्। मेरा मानिसहरू अझै जीवित छन् कि? म भेट्न चाहन्छु।” यित्रोले मोशालाई भन्यो, “अवश्य, तिमी शान्तिसित जान सक्छौ।” जब, मोशा मिद्यानमा थिए, परमप्रभुले उनलाई भन्नुभयो, “अहिले तिमी मिश्रमा फर्केर जानु सुरक्षित छ। ती मानिसहरू जसले तिमीलाई मार्न चाहन्थे अहिले सबै मरिसकेका छन्।” यसर्थ मोशाले आफ्नो नानीहरू र पत्नीलाई गधामाथि चढाए अनि मिश्र फर्के। तिनले परमेश्वरको शक्ति भएको आफ्नो लहुरो पनि साथै लगे। मिश्र जाँदा बाटोमा, परमप्रभुले मोशालाई भन्नुभयो, “जब तिमी फिरऊनसित कुरा गर्छौ मैले तिमीलाई दिएका सबै शक्तिको चमत्कारहरू सबै सम्झना गर। तर म फिरऊनलाई मानिसहरूलाई जान नदिने अट्टेरी बनाउँछु। तब तिमीले फिरऊनलाई भन्नुपर्छ। परमप्रभु भन्नुहुन्छ, ‘इस्राएल मेरो जेठो छोरा हो। अनि जान देऊ र मेरा उपासना गर्न देऊ, नत्र भने उहाँले तिमीहरूको जेठो छोरो मारिदिनु हुनेछ।’” मिश्रको बाटोमा जाँदा, रात बिताउन मोशा एक ठाउँमा रोकिए। परमप्रभुले तिनलाई त्यस ठाउँमा भेटेर मार्ने इच्छा गर्नुभयो। तर सिप्पोराले ढुङ्गाको छुरीले आफ्नो छोराको खतना गरिदिइन्। उसले छाला निकालेर मोशाको खुट्टा छुइन्। तब तिनले मोशालाई भनिन्, “तिमी मेरो रगत को साइनो भएको लोग्ने हौ।” सिप्पोराले यसो भनिन् किनभने उसले आफ्नो छोराको खतना गर्नु थियो यसकारण परमप्रभुले मोशालाई क्षमा गर्नुभयो अनि उसलाई मार्नु भएन। परमप्रभुले हारूनसित कुरा गर्नु भएको थियो। परमप्रभुले उसलाई भन्नुभएको थियो, “तिमी मरुभूमिमा जाऊ अनि मोशालाई भेट।” यसर्थ हारून गए अनि परमेश्वरको पर्वतमा मोशालाई भेटे अनि मोशालाई चुम्बन दिए। मोशाले हारूनलाई बताए किन परमप्रभुले उसलाई पठाउनु भयो अनि कुन चमत्कारहरू र संकेतहरू प्रमाणको निम्ति तिनले देखाउनु पर्ने थियो ती सबै मोशाले हारूनलाई बताए। यसर्थ मोशा र हारून गए अनि तिनीहरूले इस्राएली मानिसहरूका सबै अगुवाहरूलाई भेला गरे। त्यसपछि हारूनले मानिसहरूसँग कुरा गरे। उनले परमप्रभुले मोशालाई भनेका सबै कुराहरू तिनीहरूलाई बताईदिए। त्यसपछि मानिसहरूलाई देखाउनाको निम्ति सबै प्रमाणहरू प्रदर्शन गरे। मानिसहरूले विश्वास गरे परमप्रभुले नै मोशालाई पठाउनु भएको रहेछ। इस्राएलका मानिसहरूले थाह पाए परमप्रभुले तिनीहरूका दुःख अनि कष्ट बुझ्नु भएको छ अनि तिनीहरूको सहायताका निम्ति आउनु भएको छ। यसर्थ तिनीहरू निहुरिए अनि परमेश्वरको आराधना गरे।
प्रस्थान 4:18-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मोशा आफ्ना ससुरा यित्रोकहाँ फर्केर गए र भने, “कृपा गरी मलाई मिश्रमा आफ्ना भाइ-बन्धुकहाँ जान दिनुहोस्, तिनीहरू जिउँदै छन् कि कसो हुँदै छ हेर्न जानुपर्यो।” यित्रो राजी भए र मोशालाई बिदा गरिदिए। मोशा मिद्यानमा छँदै परमप्रभुले उनलाई भन्नुभयो, “मिश्रमा फर्की जा। तँलाई मार्न खोज्नेहरू सबै मरिसके।” यसैले मोशाले आफ्ना स्वास्नी र छोराहरूलाई गधामा चढाए र परमेश्वरले उनलाई लिन भन्नुभएको लट्ठी हातमा लिए र मिश्रतर्फ लागे। परमप्रभुले फेरि मोशालाई भन्नुभयो, “अब तँ मिश्रमा फर्केर जाँदै छस्। मैले तँलाई जुन-जुन आश्चर्यकर्महरू गर्न शक्ति दिएको छु, ती सबै राजाका अघि गर्न याद राख्। तर म राजालाई ढिट बनाउनेछु र उसले इस्राएलीहरूलाई जान दिनेछैन। तब तैँले राजालाई यसो भन्नू, ‘म परमप्रभु यसो भन्दछु कि इस्राएल मेरो जेठो छोरो हो। मेरो छोरालाई जान दे र त्यसले मलाई पुज्नेछ भनी तँलाई मैले भनेको थिएँ तर तैँले मानिनस्। अब म तेरो जेठो छोरालाई मार्नेछु।” बाटोमा बास बसेको ठाउँमा परमप्रभुले मोशालाई भेट्नुभयो र तिनलाई मार्ने चेष्टा गर्नुभयो। तब तिनकी स्वास्नी सिप्पोराले एउटा धारिलो ढुङ्गा टिपिन् र आफ्नो छोराको खलडी च्वाट्टै काटेर त्यसले मोशाको खुट्टा छोइन्। यसरी खतना गरेर तिनले भनिन्, “तपाईं मेरो रगतको लोग्ने हुनुभयो।” यसकारण परमप्रभुले मोशाको ज्यान छोडिदिनुभयो। त्यही बीचमा परमप्रभुले हारूनलाई भन्नुभएको थियो, “उजाड-स्थान गएर मोशासँग भेट्।” यसरी हारून मोशालाई भेट्न पवित्र पर्वतमा गए र उनलाई भेटेर म्वाइँ खाए। तब परमप्रभुले आफूलाई मिश्रमा जाने आज्ञा गर्दा भन्नुभएका सबै कुराहरू मोशाले हारूनलाई सुनाए। कुन-कुन आश्चर्यका कामहरू परमप्रभुले उनलाई गर्न भन्नुभएको थियो, ती पनि मोशाले उनलाई सुनाए। तब मोशा र हारून मिश्रमा गए र सबै इस्राएली मुखियाहरूलाई भेला गरे। परमप्रभुले मोशालाई भन्नुभएका सबै कुराहरू हारूनले तिनीहरूलाई सुनाए। मोशाले सबै इस्राएलीहरूका अघि सबै आश्चर्यकर्महरू गरेर देखाए। तिनीहरूले भनेका कुरा इस्राएलीहरूले विश्वास गरे र जब परमप्रभु हाम्रा माझमा आउनुभएको छ र हामीलाई कस्तो अत्याचार हुँदै छ, त्यो देख्नुभएको छ भनी तिनीहरूले सुने, तब तिनीहरूले शिर निहुराएर परमप्रभुलाई दण्डवत् गरे र उहाँलाई आराधना गरे।