YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 4:18-31

प्रस्‍थान 4:18-31 सरल नेपाली

मोशा आफ्‍ना ससुरा यित्रोकहाँ फर्केर गए र भने, “कृपा गरी मलाई मिश्रमा आफ्‍ना भाइ-बन्‍धुकहाँ जान दिनुहोस्, तिनीहरू जिउँदै छन् कि कसो हुँदै छ हेर्न जानुपर्‍यो।” यित्रो राजी भए र मोशालाई बिदा गरिदिए। मोशा मिद्यानमा छँदै परमप्रभुले उनलाई भन्‍नुभयो, “मिश्रमा फर्की जा। तँलाई मार्न खोज्‍नेहरू सबै मरिसके।” यसैले मोशाले आफ्‍ना स्‍वास्‍नी र छोराहरूलाई गधामा चढाए र परमेश्‍वरले उनलाई लिन भन्‍नुभएको लट्ठी हातमा लिए र मिश्रतर्फ लागे। परमप्रभुले फेरि मोशालाई भन्‍नुभयो, “अब तँ मिश्रमा फर्केर जाँदै छस्। मैले तँलाई जुन-जुन आश्‍चर्यकर्महरू गर्न शक्ति दिएको छु, ती सबै राजाका अघि गर्न याद राख्। तर म राजालाई ढिट बनाउनेछु र उसले इस्राएलीहरूलाई जान दिनेछैन। तब तैँले राजालाई यसो भन्‍नू, ‘म परमप्रभु यसो भन्‍दछु कि इस्राएल मेरो जेठो छोरो हो। मेरो छोरालाई जान दे र त्‍यसले मलाई पुज्‍नेछ भनी तँलाई मैले भनेको थिएँ तर तैँले मानिनस्। अब म तेरो जेठो छोरालाई मार्नेछु।” बाटोमा बास बसेको ठाउँमा परमप्रभुले मोशालाई भेट्‍नुभयो र तिनलाई मार्ने चेष्‍टा गर्नुभयो। तब तिनकी स्‍वास्‍नी सिप्‍पोराले एउटा धारिलो ढुङ्गा टिपिन् र आफ्‍नो छोराको खलडी च्‍वाट्टै काटेर त्‍यसले मोशाको खुट्टा छोइन्। यसरी खतना गरेर तिनले भनिन्, “तपाईं मेरो रगतको लोग्‍ने हुनुभयो।” यसकारण परमप्रभुले मोशाको ज्‍यान छोडिदिनुभयो। त्‍यही बीचमा परमप्रभुले हारूनलाई भन्‍नुभएको थियो, “उजाड-स्थान गएर मोशासँग भेट्।” यसरी हारून मोशालाई भेट्‍न पवित्र पर्वतमा गए र उनलाई भेटेर म्‍वाइँ खाए। तब परमप्रभुले आफूलाई मिश्रमा जाने आज्ञा गर्दा भन्‍नुभएका सबै कुराहरू मोशाले हारूनलाई सुनाए। कुन-कुन आश्‍चर्यका कामहरू परमप्रभुले उनलाई गर्न भन्‍नुभएको थियो, ती पनि मोशाले उनलाई सुनाए। तब मोशा र हारून मिश्रमा गए र सबै इस्राएली मुखियाहरूलाई भेला गरे। परमप्रभुले मोशालाई भन्‍नुभएका सबै कुराहरू हारूनले तिनीहरूलाई सुनाए। मोशाले सबै इस्राएलीहरूका अघि सबै आश्‍चर्यकर्महरू गरेर देखाए। तिनीहरूले भनेका कुरा इस्राएलीहरूले विश्‍वास गरे र जब परमप्रभु हाम्रा माझमा आउनुभएको छ र हामीलाई कस्‍तो अत्‍याचार हुँदै छ, त्‍यो देख्‍नुभएको छ भनी तिनीहरूले सुने, तब तिनीहरूले शिर निहुराएर परमप्रभुलाई दण्‍डवत् गरे र उहाँलाई आराधना गरे।

प्रस्‍थान 4 पढ्नुहोस्