YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 4:18-31

प्रस्‍थान 4:18-31 NNRV

त्‍यसपछि मोशा फर्केर आफ्‍ना ससुरा यित्रोकहाँ आएर तिनलाई भने, “बिन्‍ती छ, मिश्रमा भएका मेरा दाजुभाइहरू बाँचेकै छन्‌ कि छैनन्, गएर हेर्ने अनुमति दिनुहोस्‌।” यित्रोले मोशालाई भने, “हुन्‍छ, कुशलसित जाऊ।” परमप्रभुले मिद्यान देशमा मोशालाई भन्‍नुभएको थियो, “मिश्रमा फर्केर जा, किनकि तेरो ज्‍यान लिन खोज्‍नेहरू सबै मरिसके।” यसकारण आफ्‍नी पत्‍नी र छोराहरूलाई एउटा गधामा चढ़ाएर मोशा मिश्रमा फर्के। र तिनले परमेश्‍वरको लट्ठी हातैमा लिएर गए। तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “जब तँ मिश्रमा फर्कन्‍छस्‌ तब मैले तेरो हातको शक्तिमा राखिदिएका सबै उदेकका कामहरू फारोको सामुन्‍ने गर्‌। तर म त्‍यसको हृदय कठोर गरिदिनेछु, र त्‍यसले मानिसहरूलाई जान दिनेछैन। तब तैंले फारोलाई भन्, ‘परमप्रभु भन्‍नुहुन्‍छ: इस्राएल मेरो जेठो छोरो हो। मैले तँलाई भनें, “मेरो छोरालाई जान दे, र त्‍यसले मेरो सेवा गरोस्‌।” तर तैंले चाहिँ त्‍यसलाई जान दिन इन्‍कार गरिस्‌। यसैले म तेरो जेठो छोरालाई मार्नेछु’।” अनि बाटोमा वास बस्‍ने ठाउँमा परमप्रभुले मोशालाई भेट्‌नुभयो, र तिनलाई मार्ने इच्‍छा गर्नुभयो। तर सिप्‍पोराले एउटा चकमकको कर्द लिएर आफ्‍नो छोराको खलड़ी च्‍वाट्टै काटेर मोशाको खुट्टामा छुवाइन्, अनि तिनले भनिन्, “तपाईं मेरो निम्‍ति रगतको दुलहा हुनुहुन्‍छ।” यसैले परमप्रभुले तिनलाई छोड़िदिनुभयो। तिनले खतनाको कारणले गर्दा भनेकी थिइन्, “तपाईं रगतको दुलहा हुनुहुन्‍छ।” परमप्रभुले हारूनलाई भन्‍नुभयो, “मोशालाई भेट गर्न उजाड़-स्‍थानतिर जा।” तब उनी परमेश्‍वरको पर्वतमा मोशालाई भेट गर्न गए, र भेटेर तिनलाई म्‍वाइँ खाए। अनि परमप्रभुले तिनलाई भनेर पठाउनुभएका सबै कुराहरू, र देखाउनू भनेर आज्ञा दिनुभएका सबै आश्‍चर्यपूर्ण चिन्‍हहरूका विषयमा मोशाले हारूनलाई बताए। तब मोशा र हारून गए, र इस्राएलीहरूका जम्‍मै धर्म-गुरुहरूलाई जम्‍मा गरे। अनि परमेश्‍वरले मोशालाई भन्‍नुभएका सबै कुराहरू हारूनले तिनीहरूलाई बताए। मोशाले मानिसहरूका आँखाकै सामुन्‍ने ती चिन्‍हहरू देखाए, र मानिसहरूले पत्‍याए। परमप्रभु इस्राएलीहरूको चिन्‍ता लिनुहुन्‍छ र तिनीहरूको कष्‍ट पनि देख्‍नुभएको छ भनी जब तिनीहरूले सुने, तब तिनीहरूले आफ्‍ना शिर निहुराएर दण्‍डवत्‌ गरी आराधना गरे।