एफिसी 4:22-31
एफिसी 4:22-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
छली लालसाहरूद्वारा भ्रष्ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग। र आफ्नो भित्री वर्तावमा नयाँ होओ, र परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको नयाँ स्वभावलाई धारण गर। यसकारण झूट त्यागेर हरेकले आ-आफ्नो छिमेकीसँग सत्य बोल, किनकि हामी एउटै शरीरमा एक-अर्काका अङ्गहरू हौं। क्रोध गर, तर पाप नगर। घाम अस्ताउन अघि नै तिमीहरूको रीस मरोस्, र दियाबलसलाई मौका नदेओ। चोर्नेले अब उसो नचोरोस्। बरु उसले परिश्रम गरोस्। उसले आफ्नो हातले ईमानदारीसाथ परिश्रम गरोस्, र खाँचोमा परेकाहरूलाई दिन सकोस्। तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्। अनि परमेश्वरका पवित्र आत्मालाई दुःखित नतुल्याओ, जसमा उद्धारका दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ। सबै तीतोपना, क्रोध र रीस, होहल्ला र निन्दा, सबै किसिमका डाहसमेत तिमीहरूले त्यागिदेओ।
एफिसी 4:22-31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूले आफ्नो पुरानो जीवन, जो छली चाहनाद्वारा दूषित भइरहेको छ, त्यो पहिलेको जिउने तरिकाको त्यस पुरानो स्वभावको जीवन त्याग्नुपर्छ भनी सिकेका छौ; आफ्ना मनको स्वभावमा नयाँ हुँदैजाओ; अनि नयाँ स्वभावलाई धारण गर, जो साँचो धार्मिकता र पवित्रतामा परमेश्वरजस्तै हुनलाई सृष्टि गरिएको छ। यसकारण झूटलाई त्यागेर तिमीहरू प्रत्येकले आफ्ना छिमेकीसँग सत्य बोल्नुपर्छ; किनकि हामी सबै एउटै शरीरका अङ्गहरू हौँ। “रिसाओ, तर पाप नगर!” घाम अस्ताउनु अगि नै तिमीहरूको रिस मरोस्, र शैतानलाई कुनै मौका नदेओ! चोरी गर्नेले अब उसो चोरी नगरोस्, तर काम गरोस्; आफ्नै हातले केही फाइदाजनक काम गर्दै खाँचोमा परेकाहरूसँग बाँडचुँड गर्नलाई तिनीहरूसँग केही कुरा होस्। तिमीहरूको मुखबाट कुनै नराम्रो बोली ननिस्कोस्, तर अरूहरूको आवश्यक उन्नतिमा सहायता पुग्ने र सुन्नेहरूलाई अनुग्रह मिल्ने बोली मात्र बोल। अनि परमेश्वरको पवित्र आत्मालाई दुःखी नबनाओ, जसद्वारा तिमी मुक्तिको दिनका लागि छाप लगाइएका छौ। सबै तितोपना, क्रोध, रिस, झैझगडा, निन्दा र सबै किसिमका घृणासमेत त्यागिदेओ।
एफिसी 4:22-31 पवित्र बाइबल (NERV)
तिमीहरूलाई आफ्नो पुरानो स्वभाव छोड्न सिकाइयो। त्यसको अर्थ, अघिका दिनहरूमा पछ्याइ हिंडेको कुमार्गलाई तिमीहरूले त्याग्नु पर्छ। त्यो स्वभाव त्यसैका धोखापूर्ण इच्छाहरूले त्यसलाई थोत्रो बनाइसकेका छ। तिमीहरू आफ्ना मन र आत्मामा नयाँ बनाइनु पर्छ। तिमीहरू नयाँ मानिस बनिनु पर्छ जस्तो विश्वास अनुसार धर्मी र पवित्र जीवन बाँच्न परमेश्वरले तिमीहरूलाई आफ्नै अनुरूपमा सिर्जनु भएको छ। यसैले तिमीहरूले झूटो बोल्नु छोड्नुपर्छ। “आपसमा सधैँ साँच्चो बोल।” किनभने हामी आपस्तमा एउटै शरीरका अङ्गहरू हौं। “जब तिमी रिसाउँछौ त्यस दिनभरि नरिसाऊ। रिसले कुनै पाप नगराओस्।” अनि दिनभरि नरिसाइ बस। शैतानलाई जित्ने मौका नदेऊ। यदि कसैले चोर्छ भने त्यसले त्यो बानी छोडोस्। उसले आफ्ना हात असल काममा लगाओस्। तब मात्र गरीब मानिसहरूलाई दिनु उसकोमा केही हुनेछ। बात गर्दा चोट पर्ने शब्द नचलाऊ। मानिसलाई चाहिने कुरो मात्र गर जसले मानिसलाई बलियो बनाउँछ। तब मात्र तिम्रा कुरा सुन्नेहरू लाभान्वित हुन्छन्। पवित्र आत्मालाई दुःखीत नतुल्याऊ। आत्मा नै प्रमाण हो के तिमी परमेश्वरका हौ। उपयुक्त समयमा परमेश्वरले तिमीलाई मुक्त गर्नु हुनेछ भन्ने देखाउनुलाई नै उहाँले त्यो आत्मा दिनुभएको हो। तितोपना, रिस र आवेग त्याग कहिल्यै रिसमा नचिच्याउ र अर्काको निन्दा नगर। कुनै प्रकारको कुकर्म कहिल्यै नगर।
एफिसी 4:22-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पहिलेका आचरणहरूमा बाँच्ने तिमीहरूको पुरानो जीवन त्यागिदेओ। त्यही पुरानो जीवन, जुनचाहिँ तिमीहरूका कुइच्छाहरूको कारणले नष्ट भइरहेथ्यो। तिमीहरूका मन र आत्मा पूरा नयाँ होस्। नयाँ मानिस परमेश्वरकै स्वरूपमा सिर्जिएको हो अनि यसले परमेश्वरको अघि ठीक र पवित्र रहेको साँचो जीवन देखाउँछ। यही नयाँ स्वभावलाई अपनाओ। त्यसो हुँदा अब ढाँट्ने बानी छोडिदेओ। एक-अर्कासँग साँचो बोल किनभने हामी सबै ख्रीष्टको शरीरमा एक-अर्काका अङ्ग हौं। तिमीहरूलाई रिस उठ्यो भने रिसले गर्दा पापचाहिँ नहोस्। घाम अस्ताउनुभन्दा अघि नै तिमीहरूको रिस मरिसकोस्। शैतानले मौका छोप्न नपाओस्। चोर्नेले चोर्ने काम छोडोस् र इमानदारिसँग आफ्नै हातले कमाओस्। त्यसपछि खाँचोमा पर्नेलाई पनि केही दिन सकोस्। तिमीहरूको मुखबाट नराम्रो कुरो ननिस्किओस्, चाहिने, राम्रो र भलाइ गर्ने कुरो बोल र सुन्नेहरूलाई भलाइ होस्। परमेश्वरको पवित्र आत्मालाई खिन्न नपार किनभने पवित्र आत्मा नै तिमीहरूले छुटकाराको दिनको लागि पाएको छाप हो। सबै नराम्रा कुरा, झैझगडा र रिस-राग त्यागिदेओ। गाली निन्दा गर्दै नगर, सबै किसिमका वैरभाव त्यागिदेओ।