एफिसी 1:1-10
एफिसी 1:1-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूको प्रेरित पावलबाट, ख्रीष्ट येशूमा विश्वासी एफिससमा भएका सन्तहरूलाई: हाम्रा परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति। हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिष्ले ख्रीष्टमा आशीर्वाद दिनुभएको छ। उहाँको सामुन्ने पवित्र र निष्कलङ्क होऔं भनेर संसारको उत्पत्तिभन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। उहाँको इच्छाको लक्ष्यअनुसार ख्रीष्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो, यस हेतुले कि उहाँले हामीलाई आफ्ना प्रिय पुत्रमा सित्तैँमा दिनुभएको आफ्नो महिमामय अनुग्रहको प्रशंसा होस्। उहाँको अपार अनुग्रहअनुसार ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा, पाउँछौं, जुन अनुग्रह उहाँले हामीलाई प्रशस्त मात्रामा दिनुभयो। किनकि सम्पूर्ण बुद्धि र आन्तरिक समझमा ख्रीष्टमा राख्नुभएको उद्देश्यअनुसार उहाँले आफ्नो इच्छाको रहस्य हामीलाई जान्न दिनुभएको छ, ताकि समय पूरा भएपछि स्वर्ग र पृथ्वीमा भएका सबै थोकहरू ख्रीष्टको अधीनमा आऊन्।
एफिसी 1:1-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरको इच्छाअनुसार ख्रीष्ट येशूका प्रेरित पावलबाट, एफिससमा भएका ख्रीष्ट येशूमा विश्वासयोग्य पवित्र जनहरूलाई: हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति! हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हामीलाई ख्रीष्टमा हरेक आत्मिक आशिष्ले स्वर्गीय स्थानहरूमा आशिष् दिनुभएको छ। किनकि उहाँको दृष्टिमा हामी प्रेममा पवित्र र निष्खोट हुन सकौँ भनेर उहाँले हामीलाई संसारको सृष्टिभन्दा पहिल्यै ख्रीष्टमा चुन्नुभयो। हामीलाई उहाँको आफ्नो आनन्द र इच्छाअनुसार उहाँले येशू ख्रीष्टद्वारा आफ्नो परिवारमा समावेश गराउनलाई पूर्वनिर्धारण गर्नुभयो, ताकि हामीलाई आफ्ना प्रिय पुत्रद्वारा सित्तैँमा दिनुभएको उहाँको महिमित अनुग्रहको प्रशंसा होस्। परमेश्वरको अनुग्रहको प्रशस्तताअनुसार ख्रीष्टको रगतद्वारा हामीले उहाँमा उद्धार र पापहरूको क्षमा पाएका छौँ। परमेश्वरले आफ्नो सम्पूर्ण बुद्धि र समझशक्तिमा हामीलाई प्रशस्त गरी अनुग्रह दिनुभयो। उहाँले आफ्नो असल अभिप्रायअनुसार आफ्नो इच्छाको रहस्य हामीकहाँ प्रकट गर्नुभएको छ, जुन रहस्य ख्रीष्टमा राख्नुभएको थियो, ताकि जब समयहरूको पूर्णता हुन्छ, तब स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरू ख्रीष्टको अधीनको एकतामा ल्याइनेछन्।
एफिसी 1:1-10 पवित्र बाइबल (NERV)
परमेश्वरको इच्छा अनुसार प्रेरित बनेको पावलबाट परमेश्वरका पवित्र जनहरूलाई जो एफिससमा छन् तथा ख्रीष्ट येशूमा विश्वास राख्नेहरूलाई अभिवादन्! हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट सबैलाई अनुग्रह र शान्ति होस्। उहाँले हामीलाई स्वर्गीय स्थानहरूमा प्रत्येक ख्रीष्टमा रहेको आत्मिक आशिष दिनु भएकोछ। हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरमा प्रशंसा। ख्रीष्टमा हुने हामीलाई पिता परमेश्वरले संसारको सृष्टि गर्नु भन्दा पहिल्यै छान्नुभयो किनभने परमेश्वरले आफ्नो सामुन्ने निर्दोष र पवित्र जन रहन सकौं भनी हामीलाई प्रेमले छान्नु भएको हो। अनि संसारको सृष्टि हुनु भन्दा पहिल्यै परमेश्वरले हामीलाई येशू ख्रीष्टद्वारा आफ्ना बालकहरू बनाउने निश्चय गर्नुभयो। यो उहाँको इच्छा थियो। यसैमा उहाँ प्रसन्न हुनुहुथ्यो। उहाँको यही आश्र्चर्यजनक अनुग्रहको कारण उहाँ प्रशंसनीय हुनुहुन्छ। आफ्ना प्यारा पुत्र जसलाई उनले माया गर्नुहुन्छ परमेश्वरले हामीलाई आफ्नो अनुग्रह प्रशस्त दिनुभयो। हामी जो ख्रीष्टमा छौं उहाँका रगतबाट मुक्त गराइएका छौं। परमेश्वरकै असीम अनुग्रहले आफ्ना पापहरूबाट हामीले क्षमा पाएकाछौं। परमेश्वरले ज्ञान र समझसँग यो अनुग्रह अत्यन्तै उदारतापूर्वक दिनुभयो। आफ्ना गुप्त योजना हामीलाई जनाउँनु भएकोछ। परमेश्वर यही चाहानु हुन्थ्यो र उहाँले यो ख्रीष्टद्वारा गर्ने योजना गर्नुभयो। ठीक समयमा आफ्नो योजना पूर्ण गर्ने परमेश्वरको उद्देश्य हो। स्वर्ग र पृथ्वीका सबै थोक ख्रीष्टको अधीनमा गर्ने उहाँको योजना थियो।
एफिसी 1:1-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरको इच्छामा प्रेरित म पावलले एफिससमा बस्ने र ख्रीष्ट येशूमा विश्वास गर्ने पवित्र जनहरूलाई यो पत्र लेख्दै छु। हाम्रा परमेश्वर पिता र प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह र शान्ति देऊन्। हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरलाई धन्यवाद होस्। उहाँले येशू ख्रीष्टमा हामीहरूलाई स्वर्गीय स्थानहरूमा प्रत्येक आत्मिक आशिष् दिनुभएको छ। उहाँले संसार सृष्टि गर्नुभन्दा अघि नै ख्रीष्टमा हामीलाई आफ्ना सामु पवित्र र निर्दोष पार्न छान्नुभएको थियो। माया गरेर उहाँले आफ्नो उद्देश्यअनुसार हामीलाई ख्रीष्टमा आफ्ना छोराहरू बनाइसक्नुभएको थियो। हामी यति ठूलो अनुग्रहको लागि परमेश्वरलाई धन्यवाद चढाऔं। उहाँले आफ्नो प्यारो पुत्रमा हामीलाई यो सित्तैंको दान दिनुभयो। ख्रीष्टले रगत बगाएर मर्नुभएकोले हाम्रो पाप माफ भएको छ र हामी उहाँमै स्वतन्त्र भएका छौं। अहो, परमेश्वरको अनुग्रह कति ठूलो छ। यही अनुग्रह प्रशस्तसँग उहाँले हामीमाथि खन्याउनुभयो। उहाँकै सम्पूर्ण ज्ञान र बुद्धिमा परमेश्वरले आफ्नो इच्छा पूरा गर्नुभयो र ख्रीष्टमा पूरा गर्छु भनेर चिताउनुभएको गुप्त योजना पनि हामीलाई देखाउनुभयो। परमेश्वरले आफ्नो काम ठीक समयमा पूरा गर्नुहुनेछ। योचाहिँ स्वर्ग र पृथ्वीमा सृष्टि भएका सबै कुरा नै ख्रीष्टको अधीनमा ल्याउने काम हो