एफिसी 1:1-10

एफिसी 1:1-10 NCV

परमेश्‍वरको इच्छाअनुसार ख्रीष्‍ट येशूका प्रेरित पावलबाट, एफिससमा भएका ख्रीष्‍ट येशूमा विश्‍वासयोग्य पवित्र जनहरूलाई: हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति! हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पिताको प्रशंसा होस्, जसले हामीलाई ख्रीष्‍टमा हरेक आत्मिक आशिष्‌ले स्वर्गीय स्थानहरूमा आशिष् दिनुभएको छ। किनकि उहाँको दृष्‍टिमा हामी प्रेममा पवित्र र निष्खोट हुन सकौँ भनेर उहाँले हामीलाई संसारको सृष्‍टिभन्दा पहिल्यै ख्रीष्‍टमा चुन्‍नुभयो। हामीलाई उहाँको आफ्नो आनन्द र इच्छाअनुसार उहाँले येशू ख्रीष्‍टद्वारा आफ्नो परिवारमा समावेश गराउनलाई पूर्वनिर्धारण गर्नुभयो, ताकि हामीलाई आफ्ना प्रिय पुत्रद्वारा सित्तैँमा दिनुभएको उहाँको महिमित अनुग्रहको प्रशंसा होस्। परमेश्‍वरको अनुग्रहको प्रशस्तताअनुसार ख्रीष्‍टको रगतद्वारा हामीले उहाँमा उद्धार र पापहरूको क्षमा पाएका छौँ। परमेश्‍वरले आफ्नो सम्पूर्ण बुद्धि र समझशक्तिमा हामीलाई प्रशस्त गरी अनुग्रह दिनुभयो। उहाँले आफ्नो असल अभिप्रायअनुसार आफ्नो इच्छाको रहस्य हामीकहाँ प्रकट गर्नुभएको छ, जुन रहस्य ख्रीष्‍टमा राख्नुभएको थियो, ताकि जब समयहरूको पूर्णता हुन्छ, तब स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरू ख्रीष्‍टको अधीनको एकतामा ल्याइनेछन्।

एफिसी 1 पढ्नुहोस्