YouVersion लोगो
खोज आइकन

व्यवस्था 10:12-22

व्यवस्था 10:12-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसैकारण अब हे इस्राएली हो, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट चाहनुभएका कुरा यी नै हुन्‌: तिमीहरूले आफ्‍ना परमप्रभु परमेश्‍वरको डर मान, उहाँका सबै मार्गमा हिँड़, उहाँलाई प्रेम गर, आफ्‍नो सारा हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेश्‍वरको सेवा गर, र तिमीहरूका हितको लागि मैले आज तिमीहरूलाई आदेश गरेका परमप्रभुका आज्ञा र विधिहरू मान। आकाशहरू, सर्वोच्‍च आकाशमण्‍डलहरू, र पृथ्‍वी र त्‍यसमा भएका जे-जति छन्, ती सबै परमप्रभु तिमीहरूका परमेश्‍वरकै हुन्‌। तापनि तिमीहरूका पिता-पुर्खामा नै आफ्‍नो प्‍यार खन्‍याई परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुभयो, र आज तिमीहरूले देखेझैँ तिनीहरूका सन्‍तान तिमीहरूलाई नै सबै जातिहरूका माझबाट उहाँले चुन्‍नुभयो। यसकारण अब आफ्‍ना हृदयको खतना गर, र अबदेखि उसो हठी नहोओ। किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै ईश्‍वरहरूका परमेश्‍वर र प्रभुहरूका परमप्रभु, महान्‌ परमेश्‍वर, शक्तिशाली र भययोग्‍य हुनुहुन्‍छ। उहाँले कसैको पक्षपात गर्नुहुन्‍न, र उहाँले कहिल्‍यै घूस लिनुहुन्‍न। उहाँले अनाथ र विधवाहरूलाई समर्थन गर्नुहुन्‍छ, र प्रवासीहरूलाई प्रेम गर्नुहुन्‍छ र उनीहरूलाई भोजन र वस्‍त्र दिनुहुन्‍छ। यसैकारण तिमीहरूले पनि प्रवासीहरूलाई प्रेम गर्नुपर्छ, किनकि मिश्रमा तिमीहरू पनि प्रवासी थियौ। परमप्रभु आफ्‍ना परमेश्‍वरको डर तिमीहरूले मान, उहाँको सेवा गर, उहाँलाई पक्रिराख, र उहाँकै नाउँमा तिमीहरूले शपथ खाओ। उहाँ नै तिमीहरूका प्रशंसाको पात्र हुनुहुन्‍छ। उहाँ नै तिमीहरूका परमेश्‍वर हुनुहुन्‍छ, जसले तिमीहरूका निम्‍ति तिमीहरूका आफ्‍नै आँखाले देखेका ती महान्‌ र आश्‍चर्यपूर्ण कार्यहरू गर्नुभयो। तिमीहरूका पिता-पुर्खाहरू त सत्तरी जना मात्र मिश्रमा गएका थिए, तर अब परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आकाशका ताराझैँ अनगिन्‍ती पार्नुभएको छ।

शेयर गर्नुहोस्
व्यवस्था 10 पढ्नुहोस्

व्यवस्था 10:12-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यसकारण हे इस्राएलीहरू हो, याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट यति नै चाहनुहुन्छ, कि याहवेह तिमीहरूका परमेश्‍वरप्रति श्रद्धा राख्नु, उहाँका मार्गहरूमा आज्ञाकारी भई हिँड्नु, उहाँलाई प्रेम गर्नु, आफ्ना सारा हृदयले र सारा प्राणले याहवेह आफ्ना परमेश्‍वरको सेवा गर्नु, र मैले आज तिमीहरूकै भलाइका लागि दिइरहेका याहवेहका आज्ञाहरू र उर्दीहरू पालन गर्नु। आकाश र सर्वोच्‍च स्वर्ग, साथै पृथ्वी र त्यसमा भएका सबै कुराहरू याहवेह तिमीहरूका परमेश्‍वरकै हुन्। तरै पनि याहवेहले तिमीहरूका पितापुर्खाहरूलाई यति धेरै वास्ता गर्नुभयो र तिनीहरूलाई प्रेम गर्नुभयो; र उहाँले सबै जाति-जातिहरूबाट तिनीहरूका सन्तानलाई अर्थात् तिमीहरूलाई चुन्‍नुभयो, जुन आज तिमीहरूका अगि स्पष्‍ट छ। यसकारण तिमीहरूका हृदयको खतना गर। अनि अब उसो हठी नहोओ। किनकि याहवेह तिमीहरूका परमेश्‍वर, देवी-देवताहरूका परमेश्‍वर, प्रभुहरूका प्रभु, महान् परमेश्‍वर, शक्तिशाली र भययोग्य हुनुहुन्छ; जसले पक्षपात गर्नुहुन्‍न र घूस लिनुहुन्‍न। उहाँले अनाथ र विधवाहरूको पक्षमा न्याय गर्नुहुन्छ। अनि तिमीहरूसँग रहने विदेशीलाई प्रेम गरेर तिनीहरूलाई भोजन र वस्त्र दिनुहुन्छ। यसैले तिमीहरूले पनि विदेशीहरूलाई प्रेम गर्नुपर्छ; किनकि तिमीहरू आफैँ पनि इजिप्टमा परदेशी थियौ। याहवेह तिमीहरूका परमेश्‍वरको डर मान्‍नू; उहाँको सेवा गर्नू। उहाँलाई पक्री राख्नू र तिमीहरूले उहाँको नाममा मात्र शपथ खानू। याहवेह मात्र तिमीहरूका प्रशंसाको योग्य हुनुहुन्छ। उहाँ नै तिमीहरूका परमेश्‍वर हुनुहुन्छ, जसले तिमीहरूका निम्ति महान् र अद्‌भुत कार्यहरू गर्नुभयो, जुन तिमीहरूका आफ्नै आँखाले देखेका छन्। तिमीहरूका पितापुर्खाहरू जम्मा सत्तरी जना इजिप्टमा गएका थिए। अहिले याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आकाशका ताराहरूझैँ असंख्य बनाइदिनुभएको छ।

शेयर गर्नुहोस्
व्यवस्था 10 पढ्नुहोस्

व्यवस्था 10:12-22 पवित्र बाइबल (NERV)

“इस्राएलका मानिसहरू हो, अब सुन! परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट के चाहनुहुन्छ? परमप्रभु तिमीहरूले उहाँलाई सम्मान गरेको र उहाँले भन्नु भएका कुराहरू मानेको चाहनुहुन्छ। परमेश्वर तिमीहरूले प्रेम गरेको र उहाँलाई हृदय र प्राणले सेवा गरेको चाहनुहुन्छ। यसकारण आज म तिमीहरूलाई जुन आज्ञाहरू र विधि-विधानहरू बताउँदैछु ती सब पालन गर। यी विधि-विधानहरू र आज्ञाहरू तिमीहरू कै भलोको निम्ति हो। “आकाशहरू, सर्वोच्च आकाशमण्डलहरू, पृथ्वी तथा यसमा भएका प्रत्येक चीज परमप्रभु तिमीहरूका परमेश्वर कै हुन्। परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई यति ज्यादै प्रेम गर्नुभयो उहाँले तिनीहरूका सन्तान तिमीहरूलाई आफ्नो मानिस बनाउन रोज्नु भयो। उहाँले तिमीहरूलाई सबै अरू जातिहरूको सट्टामा मन पराउनु भयो अनि आजसम्म तिमीहरू उहाँले रोज्नु भएको मानिसहरू हौ। “हठ्ठी हुन छोड, आफ्नो हृदय परमप्रभुलाई समर्पण गर। किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै ईश्वरहरूका परमेश्वर र परमप्रभुहरूका परमप्रभु हुनुहुन्छ। उहाँ महान् परमप्रभु हुनुहुन्छ। उहाँ शक्तिशाली र आश्चर्यजनक योद्धा हुनुहुन्छ। उहाँको निम्ति प्रत्येक मानिस एक शरह हो। उहाँको मन धनको वशमा छैन। टुहुरा-टुहुरी तथा विधवाहरूलाई उहाँले प्रेम गर्नुहुन्छ। उहाँले त हाम्रो भूमिमा आउने विदेशीहरूलाई पनि प्रेम गर्नुहुन्छ। उहाँले तिनीहरू सबैलाई खाने कुरा तथा लाउने वस्त्रहरू दिनुहुन्छ। यसकारण तिमीहरूले पनि ती विदेशीहरूलाई प्रेम गर किनभने मिश्र देशमा तिमीहरू विदेशीहरू नै थियौ। “तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरलाई आदर गर, उहाँलाई कहिल्यै नछोड तथा कसम खाँदा पनि उहाँकै नाउँमा खाऊ। परमप्रभु मात्र एकजना हुनुहुन्छ जसलाई तिमीहरूले प्रशंसा गर्नुपर्छ। उहाँ तिमीहरूका परमेश्वर हुनुहुन्छ। तिमीहरूले आफ्नै आँखाले देखेका छौ उहाँले महान् र आश्चर्यपूर्ण कामहरू गर्नु भएको छ। जब तिमीहरूका पिता-पुर्खाहरू मिश्र देश गए त्यस समय तिनीहरूको जनसंख्या सत्तरी जना मात्र थियो तर अहिले परमप्रभु तिमीहरूको परमेश्वरले तिमीहरूको जनसंख्या धेरै भन्दा पनि धेरै आकाशका ताराहरू जतिकै धेरै बनाइदिनु भएकोछ।

शेयर गर्नुहोस्
व्यवस्था 10 पढ्नुहोस्

व्यवस्था 10:12-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“हे इस्राएलका मानिसहरू हो! परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूबाट के चाहनुहुन्‍छ, त्‍यो अब सुन। परमप्रभुको आराधना गर र उहाँका सबै आज्ञाहरू पालन गर। उहाँलाई प्रेम गर र आफ्‍नो पूरा हृदयले सेवा गर। र उहाँका सबै नियमहरू पालन गर। तिमीहरूको भलाइको निम्‍ति म आज ती नियमहरू तिमीहरूलाई दिँदछु। सबैभन्दा अग्‍लो आकाश मण्‍डल परमप्रभुकै हो। पृथ्‍वी र त्‍यसमा भएका हरथोक पनि उहाँकै हुन्। तर तिम्रा पुर्खाहरूमाथि भएको परमप्रभुको प्रेम यति बलियो थियो कि उहाँले अरू जातिका सट्टामा तिमीहरूलाई चुन्‍नुभयो र अझसम्‍म तिमीहरू उहाँका चुनिएका जन हौ। अब उसो परमप्रभुका आज्ञाकारी बन र ढिट नहोओ। परमप्रभु तिमीहरूका परमेश्‍वर सबै देवता र राजशक्तिहरूभन्दा सर्वोच्‍च हुनुहुन्‍छ। उहाँ महान् र प्रतापी हुनुहुन्‍छ अनि उहाँको भय मान्‍नुपर्छ। उहाँले पक्षपात गर्नुहुन्‍न अनि घुस लिनुहुन्‍न। टुहुराटुहुरी र विधवासित उहाँले न्‍यायपूर्ण व्‍यवहार गर्न लाउनुहुन्‍छ। हाम्रा मानिसहरूसँग बास गर्ने विदेशीहरूलाई उहाँले प्रेम गर्नुहुन्‍छ र तिनीहरूलाई भोजन र वस्‍त्र दिनुहुन्‍छ। अब ती विदेशीहरूप्रति प्रेम देखाओ किनभने एक समय तिमीहरू आफैं पनि मिश्रमा विदेशी थियौ। परमप्रभु आफ्‍ना परमेश्‍वरका आज्ञापालन गर र उहाँलाई मात्र पूज। उहाँसँग विश्‍वासी भइरहो र आफ्‍ना प्रतिज्ञाहरू उहाँको नाममा मात्र गर। उहाँको प्रशंसा गर– उहाँ तिम्रा परमेश्‍वर हुनुहुन्‍छ र उहाँले तिम्रो निम्‍ति गर्नुभएको महान् र अचम्‍मका कामहरू तिमीहरूले आफ्‍नै आँखाले देखेका छौ। तिम्रा पुर्खा मिश्रमा गएका बेलामा तिनीहरू सत्तरी जना मात्र थिए। तर अहिले परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूलाई आकाशका ताराझैँ अनगन्‍ती पार्नुभएको छ।’

शेयर गर्नुहोस्
व्यवस्था 10 पढ्नुहोस्