YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 10:12-22

व्‍यवस्‍था 10:12-22 सरल नेपाली

“हे इस्राएलका मानिसहरू हो! परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूबाट के चाहनुहुन्‍छ, त्‍यो अब सुन। परमप्रभुको आराधना गर र उहाँका सबै आज्ञाहरू पालन गर। उहाँलाई प्रेम गर र आफ्‍नो पूरा हृदयले सेवा गर। र उहाँका सबै नियमहरू पालन गर। तिमीहरूको भलाइको निम्‍ति म आज ती नियमहरू तिमीहरूलाई दिँदछु। सबैभन्दा अग्‍लो आकाश मण्‍डल परमप्रभुकै हो। पृथ्‍वी र त्‍यसमा भएका हरथोक पनि उहाँकै हुन्। तर तिम्रा पुर्खाहरूमाथि भएको परमप्रभुको प्रेम यति बलियो थियो कि उहाँले अरू जातिका सट्टामा तिमीहरूलाई चुन्‍नुभयो र अझसम्‍म तिमीहरू उहाँका चुनिएका जन हौ। अब उसो परमप्रभुका आज्ञाकारी बन र ढिट नहोओ। परमप्रभु तिमीहरूका परमेश्‍वर सबै देवता र राजशक्तिहरूभन्दा सर्वोच्‍च हुनुहुन्‍छ। उहाँ महान् र प्रतापी हुनुहुन्‍छ अनि उहाँको भय मान्‍नुपर्छ। उहाँले पक्षपात गर्नुहुन्‍न अनि घुस लिनुहुन्‍न। टुहुराटुहुरी र विधवासित उहाँले न्‍यायपूर्ण व्‍यवहार गर्न लाउनुहुन्‍छ। हाम्रा मानिसहरूसँग बास गर्ने विदेशीहरूलाई उहाँले प्रेम गर्नुहुन्‍छ र तिनीहरूलाई भोजन र वस्‍त्र दिनुहुन्‍छ। अब ती विदेशीहरूप्रति प्रेम देखाओ किनभने एक समय तिमीहरू आफैं पनि मिश्रमा विदेशी थियौ। परमप्रभु आफ्‍ना परमेश्‍वरका आज्ञापालन गर र उहाँलाई मात्र पूज। उहाँसँग विश्‍वासी भइरहो र आफ्‍ना प्रतिज्ञाहरू उहाँको नाममा मात्र गर। उहाँको प्रशंसा गर– उहाँ तिम्रा परमेश्‍वर हुनुहुन्‍छ र उहाँले तिम्रो निम्‍ति गर्नुभएको महान् र अचम्‍मका कामहरू तिमीहरूले आफ्‍नै आँखाले देखेका छौ। तिम्रा पुर्खा मिश्रमा गएका बेलामा तिनीहरू सत्तरी जना मात्र थिए। तर अहिले परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूलाई आकाशका ताराझैँ अनगन्‍ती पार्नुभएको छ।’