YouVersion लोगो
खोज आइकन

व्यवस्था 10:12-22

व्यवस्था 10:12-22 NNRV

यसैकारण अब हे इस्राएली हो, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट चाहनुभएका कुरा यी नै हुन्‌: तिमीहरूले आफ्‍ना परमप्रभु परमेश्‍वरको डर मान, उहाँका सबै मार्गमा हिँड़, उहाँलाई प्रेम गर, आफ्‍नो सारा हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेश्‍वरको सेवा गर, र तिमीहरूका हितको लागि मैले आज तिमीहरूलाई आदेश गरेका परमप्रभुका आज्ञा र विधिहरू मान। आकाशहरू, सर्वोच्‍च आकाशमण्‍डलहरू, र पृथ्‍वी र त्‍यसमा भएका जे-जति छन्, ती सबै परमप्रभु तिमीहरूका परमेश्‍वरकै हुन्‌। तापनि तिमीहरूका पिता-पुर्खामा नै आफ्‍नो प्‍यार खन्‍याई परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुभयो, र आज तिमीहरूले देखेझैँ तिनीहरूका सन्‍तान तिमीहरूलाई नै सबै जातिहरूका माझबाट उहाँले चुन्‍नुभयो। यसकारण अब आफ्‍ना हृदयको खतना गर, र अबदेखि उसो हठी नहोओ। किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै ईश्‍वरहरूका परमेश्‍वर र प्रभुहरूका परमप्रभु, महान्‌ परमेश्‍वर, शक्तिशाली र भययोग्‍य हुनुहुन्‍छ। उहाँले कसैको पक्षपात गर्नुहुन्‍न, र उहाँले कहिल्‍यै घूस लिनुहुन्‍न। उहाँले अनाथ र विधवाहरूलाई समर्थन गर्नुहुन्‍छ, र प्रवासीहरूलाई प्रेम गर्नुहुन्‍छ र उनीहरूलाई भोजन र वस्‍त्र दिनुहुन्‍छ। यसैकारण तिमीहरूले पनि प्रवासीहरूलाई प्रेम गर्नुपर्छ, किनकि मिश्रमा तिमीहरू पनि प्रवासी थियौ। परमप्रभु आफ्‍ना परमेश्‍वरको डर तिमीहरूले मान, उहाँको सेवा गर, उहाँलाई पक्रिराख, र उहाँकै नाउँमा तिमीहरूले शपथ खाओ। उहाँ नै तिमीहरूका प्रशंसाको पात्र हुनुहुन्‍छ। उहाँ नै तिमीहरूका परमेश्‍वर हुनुहुन्‍छ, जसले तिमीहरूका निम्‍ति तिमीहरूका आफ्‍नै आँखाले देखेका ती महान्‌ र आश्‍चर्यपूर्ण कार्यहरू गर्नुभयो। तिमीहरूका पिता-पुर्खाहरू त सत्तरी जना मात्र मिश्रमा गएका थिए, तर अब परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आकाशका ताराझैँ अनगिन्‍ती पार्नुभएको छ।