दानिएल 5:5-12
दानिएल 5:5-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यही घडी अचानक एउटा मानिसको हातका औँलाहरू देखा परे, र राजकीय महलमा भएको सामदानको छेउमा लिपिएको भित्तामा लेख्न थाले। राजाले त्यस लेख्दैगरेको हातलाई हेरे। अनि राजाको अनुहार पहेँलो भयो र तिनी अति भयभीत भए, कि तिनका घुँडाहरू काँपेर आपसमा ठोक्किन थाले, र तिनको खुट्टामा बल नै नभएर लल्याकलुलुक भए। राजाले तन्त्रमन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेहरूलाई बोलाइपठाए। त्यसपछि बेबिलोनका ती बुद्धिमान् मानिसहरूलाई भने, “जसले भित्ताको यस लेखोटलाई पढेर मलाई त्यसको अर्थ बताउँछ, त्यसलाई बैजनी वस्त्र पहिर्याइनेछ र त्यसको गलामा सुनको हार लगाइदिइनेछ; अनि त्यसलाई राज्यको सर्वोच्च शासकको तेस्रो दर्जामा राखिनेछ।” तब राजाका सबै बुद्धिमान् मानिसहरू भित्र आए, तर तिनीहरूले त्यो लेखोट पढ्न सकेनन्, अथवा राजालाई त्यसको अर्थ भन्न सकेनन्। यसकारण राजा बेलसजर अझ बढी डराए, र तिनको अनुहार अझ पहेँलो हुँदैगयो। तिनका प्रमुख भारदारहरू अकमक्क परे। राजा र उनका भारदारहरूका आवाज सुनेर राजमाता भोजको ठूलो कोठामा आइन्। तिनले भनिन्, “महाराजा, अमर रहून्! विचलित नहुनुहोस्! न त हजुरको मुहारको रङ्ग उडोस्! हजुरको राज्यमा एक जना मानिस छन्, जसमा पवित्र देवताहरूको आत्मा छ। हजुरको बुबाको समयमा उनमा देवताहरूका जस्तै अन्तर्दृष्टि, समझशक्ति र बुद्धि भेट्टाइएको थियो। हजुरको बुबा राजा नबूकदनेसरले उनलाई जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेहरूका प्रमुख तुल्याउनुभएको थियो। उहाँले यसो गर्नुभयो; किनकि दानिएल, जसलाई राजाले बेलतसजर भन्नुहुन्थ्यो, जो तीब्र दिमाग, अन्तर्ज्ञान र समझशक्ति भएका भेट्टाइए; अनि उनीसित सपनाहरूको अर्थ खोल्ने, अड्को फुकाउने र अप्ठ्यारा समस्याहरूको समाधान गर्न सक्ने क्षमता पनि थियो। दानिएललाई बोलाउन पठाउनुहोस्, र उनले लेखोटहरूको अर्थ बताइदिनेछन्।”
दानिएल 5:5-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अचानक राजदरबारमा भएको पानसको नजिक एक मानव हातका औँलाहरू देखा परे र लिपिएको भित्तामा लेख्न लागे। त्यो लेख्दैगरेको हात राजाले हेरे। उनको अनुहार पहेँलो भयो, र उनी यति डराए कि उनका घुँड़ाहरू कामेर ठोकिन थाले र गोड़ाहरू लल्याकलुलुक भए। राजाले मन्त्रतन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेहरूलाई बोलाउन लगाए र बेबिलोनका यी ज्ञानी पुरुषहरूलाई भने, “जसले यो लेख पढ्छ र यसको अर्थ मलाई बताइदिन्छ, त्यसलाई बैजनी पोशाक पहिराइनेछ र त्यसको गलामा सुनको सिक्री लगाइनेछ र त्यसलाई राज्यको तेस्रो उच्च शासक बनाइनेछ।” तब राजाका सबै ज्ञानी पुरुषहरू आए, तर उनीहरूले यो लेख पढ्न वा त्यसको अर्थ राजालाई बताउन सकेनन्। यसकारण राजा बेलसजर अझ भयभीत भए र उनको अनुहार अझ पहेँलो हुँदैगयो। उनका भारदारहरू अलमल्ल परे। राजा र उनका भारदारहरूका स्वर सुनेर रानी भोजको कोठामा आइन् र तिनले भनिन्, “महाराजा अमर रहून्! नआत्तिनुहोस्। यस्तो पहेँलो अनुहार नबनाउनुहोस्। तपाईंको राज्यमा एक जना मानिस छन्, जोसँग पवित्र देवताहरूका आत्मा छ। तपाईंका पिताको पालोमा उनमा देवताको जस्तै अन्तर्दृष्टि, ज्ञान र बुद्धि पाइएको थियो। तपाईंका पिता राजा नबूकदनेसरले उनलाई जादूगरहरू, मन्त्रतन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेका प्रमुख नियुक्त गर्नुभएको थियो। यी दानिएल नाउँ गरेका मानिस, जसलाई राजाले बेलतसजर भन्नुहुन्थ्यो, तीव्र मन र ज्ञान र समझ भएका भेट्टाइए र साथै उनले सपनाका अर्थ बताउन, अड्कोहरू फुकाउन र कठिन समस्याहरू हल गर्न पनि सक्थे। दानिएललाई बोलाउनुहोस्, र उनले तपाईंलाई यस लेखको अर्थ बताउनेछन्।”
दानिएल 5:5-12 पवित्र बाइबल (NERV)
त्यस समयमा अचानक एकजना मानिसको हातको औंलाले सामदानको अघि महलको भित्तामा केही लेखि रहेको देखियो। राजाले भित्तामा लेखिरहेको हात देखे। यो देखेर राजा बेलसजर भयभीत भए र तिनको अनुहारको रंग पहेंलो भयो र हात खुट्टा गलेर थरथर काम्न थाले। अनि राजा चिच्याएर बाबेलका तंत्र-मंत्र जान्ने कल्दी र ज्योतिषीहरूलाई ल्याउन पठाए। तिनले बाबेलको ज्ञानी पुरूषहरूलाई भने, “जसले यो लेखोट पढेर मलाई त्यसको अर्थ खोलिदिन्छ, त्यसलाई बैजनी लुगा र सुनको हार पहिराइनेछ र यस राज्यको दर्जामा त्यो तेस्रो गनिने छ।” त्यस पछि सबै ज्ञानी पुरूषहरू राजाकहाँ आए, तर कसैले पनि त्यो लेखोट पढ्न सकेनन्। यसकारण राजा बेलसजर साहै डराए अनि चिन्तित भए। अनि उनका सबै हाकिमहरू पनि चिन्तित भए। राजा र अधिकारीहरूको हल्ला-खल्ला सुनेर राजमाता भोजमा आइन् र राजमाताले भनिन्, “राजा अमर रहुन! नडराऊ! तपाईंको राज्यमा एउटा यस्तो मानिस छ, जसमा पवित्र देवताहरूको आत्मा छ। तपाईंको पितामहको पालामा तिनमा उत्तम समझ र देवताको झैं ज्ञान भएको पाइयो। यसैले तपाईंको पितामह नबूकदनेस्सरले तिनलाई जादूगर, तंत्र-मंत्र जान्ने कल्दी र ज्योतिषीहरूका प्रधान नियुक्त गरिदिए। यिनी दानियल, जसलाई राजाले बेलसजर नाउँ राखिदिए, खूबै उत्तम आत्मा, बुद्धि र समझ भएका सपनाको अर्थ खोल्ने, अड्को फुकाउने र समस्याहरू हल गर्ने ज्ञान भएका छन्। अब यिनै दानियललाई बोलाउन पठाऊ, र तिनले अर्थ खोलिदिनेछन्।”
दानिएल 5:5-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अचानक एउटा मानिसको हात देखा पर्यो र महलको भित्तामा केही लेख्न थाल्यो। बलिरहेको पानसको उज्यालो ज्योति भित्ताको त्यस भागमा चम्किरहेको थियो। हातका औँलाले लेखेको राजाले देखे। उनको अनुहार पहेंलो भयो। तिनी औधी डराए र तिनका गोडाहरू थरथर काम्न थाले। जादूगर, मन्त्र-तन्त्र गर्ने र ज्योतिषीहरूलाई बोलाऊ भन्दै तिनी चिच्च्याए। ती मानिसहरू महलमा आएपछि उनले भने, “जसले यो लेखोट पढेर त्यसको अर्थ मलाई बताउन सक्छ, त्यसलाई बैजनी राज-पोशाक पहिराइनेछ, त्यसका गलामा सम्मानको सुनको सिक्री लगाइनेछ र यस राज्यमा त्यो दर्जा र शक्तिमा तेस्रो गनिनेछ।” तब राजदरबारका सल्लाहकारहरू अघि आए; तर कसैले पनि त्यो लेखोट पढ्न वा त्यसको अर्थ राजालाई बताउन सकेनन्। डर र त्रासले बेलसजर राजा झन् पहेँलो भए र उनका भारदारहरूचाहिँ के गर्नुपर्ने हो भनी अकमक्क परे। राजा र उनका भारदारहरूले होहल्ला गरेका उनकी मुमा महारानीले सुनिन् र भोज खाने कोठामा आइन्। उनले भनिन्, “महाराज दीर्घायु होऊन्! तपाईं व्याकुल नहुनुहोस्, नडराउनुहोस्। तपाईंको राज्यमा एउटा मानिस छन्, जोसित पवित्र परमेश्वरका आत्मा छन्। तपाईंको बुबा राजा छँदा यी मानिसले असल विचार-शक्ति, ज्ञान र ईश्वरको जस्तै बुद्धि देखाएका थिए। तपाईंको बुबा राजा नबूकदनेसरले उनलाई ज्योतिषी, जादूगर र तन्त्र-मन्त्र गर्नेहरूका प्रधान बनाएका थिए। तिनीसित असाधारण सामर्थ्य र बुद्धि छ। उनी सपनाको अर्थ लाउन, समस्याहरू हल गर्न र अड्कोहरू फुकाउन सिपालु छन्। ती दानिएल हुन्, जसलाई राजाले बेलतसजर नाम दिएका थिए। उनलाई बोलाउन पठाउनुहोस्। उनले यी सबै कुराको अर्थ फुकाइदिनेछन्।”