YouVersion लोगो
खोज आइकन

दानिएल 5:5-12

दानिएल 5:5-12 सरल नेपाली

अचानक एउटा मानिसको हात देखा पर्‍यो र महलको भित्तामा केही लेख्‍न थाल्‍यो। बलिरहेको पानसको उज्‍यालो ज्‍योति भित्ताको त्‍यस भागमा चम्‍किरहेको थियो। हातका औँलाले लेखेको राजाले देखे। उनको अनुहार पहेंलो भयो। तिनी औधी डराए र तिनका गोडाहरू थरथर काम्‍न थाले। जादूगर, मन्‍त्र-तन्‍त्र गर्ने र ज्‍योतिषीहरूलाई बोलाऊ भन्‍दै तिनी चिच्‍च्‍याए। ती मानिसहरू महलमा आएपछि उनले भने, “जसले यो लेखोट पढेर त्‍यसको अर्थ मलाई बताउन सक्‍छ, त्‍यसलाई बैजनी राज-पोशाक पहिराइनेछ, त्‍यसका गलामा सम्‍मानको सुनको सिक्री लगाइनेछ र यस राज्‍यमा त्‍यो दर्जा र शक्तिमा तेस्रो गनिनेछ।” तब राजदरबारका सल्‍लाहकारहरू अघि आए; तर कसैले पनि त्‍यो लेखोट पढ्‍न वा त्‍यसको अर्थ राजालाई बताउन सकेनन्। डर र त्रासले बेलसजर राजा झन् पहेँलो भए र उनका भारदारहरूचाहिँ के गर्नुपर्ने हो भनी अकमक्‍क परे। राजा र उनका भारदारहरूले होहल्‍ला गरेका उनकी मुमा महारानीले सुनिन् र भोज खाने कोठामा आइन्। उनले भनिन्, “महाराज दीर्घायु होऊन्! तपाईं व्‍याकुल नहुनुहोस्, नडराउनुहोस्। तपाईंको राज्‍यमा एउटा मानिस छन्, जोसित पवित्र परमेश्‍वरका आत्‍मा छन्। तपाईंको बुबा राजा छँदा यी मानिसले असल विचार-शक्ति, ज्ञान र ईश्‍वरको जस्‍तै बुद्धि देखाएका थिए। तपाईंको बुबा राजा नबूकदनेसरले उनलाई ज्‍योतिषी, जादूगर र तन्‍त्र-मन्‍त्र गर्नेहरूका प्रधान बनाएका थिए। तिनीसित असाधारण सामर्थ्‍य र बुद्धि छ। उनी सपनाको अर्थ लाउन, समस्‍याहरू हल गर्न र अड्कोहरू फुकाउन सिपालु छन्। ती दानिएल हुन्, जसलाई राजाले बेलतसजर नाम दिएका थिए। उनलाई बोलाउन पठाउनुहोस्। उनले यी सबै कुराको अर्थ फुकाइदिनेछन्।”

दानिएल 5 पढ्नुहोस्