त्यही घडी अचानक एउटा मानिसको हातका औँलाहरू देखा परे, र राजकीय महलमा भएको सामदानको छेउमा लिपिएको भित्तामा लेख्न थाले। राजाले त्यस लेख्दैगरेको हातलाई हेरे। अनि राजाको अनुहार पहेँलो भयो र तिनी अति भयभीत भए, कि तिनका घुँडाहरू काँपेर आपसमा ठोक्किन थाले, र तिनको खुट्टामा बल नै नभएर लल्याकलुलुक भए। राजाले तन्त्रमन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेहरूलाई बोलाइपठाए। त्यसपछि बेबिलोनका ती बुद्धिमान् मानिसहरूलाई भने, “जसले भित्ताको यस लेखोटलाई पढेर मलाई त्यसको अर्थ बताउँछ, त्यसलाई बैजनी वस्त्र पहिर्याइनेछ र त्यसको गलामा सुनको हार लगाइदिइनेछ; अनि त्यसलाई राज्यको सर्वोच्च शासकको तेस्रो दर्जामा राखिनेछ।” तब राजाका सबै बुद्धिमान् मानिसहरू भित्र आए, तर तिनीहरूले त्यो लेखोट पढ्न सकेनन्, अथवा राजालाई त्यसको अर्थ भन्न सकेनन्। यसकारण राजा बेलसजर अझ बढी डराए, र तिनको अनुहार अझ पहेँलो हुँदैगयो। तिनका प्रमुख भारदारहरू अकमक्क परे। राजा र उनका भारदारहरूका आवाज सुनेर राजमाता भोजको ठूलो कोठामा आइन्। तिनले भनिन्, “महाराजा, अमर रहून्! विचलित नहुनुहोस्! न त हजुरको मुहारको रङ्ग उडोस्! हजुरको राज्यमा एक जना मानिस छन्, जसमा पवित्र देवताहरूको आत्मा छ। हजुरको बुबाको समयमा उनमा देवताहरूका जस्तै अन्तर्दृष्टि, समझशक्ति र बुद्धि भेट्टाइएको थियो। हजुरको बुबा राजा नबूकदनेसरले उनलाई जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेहरूका प्रमुख तुल्याउनुभएको थियो। उहाँले यसो गर्नुभयो; किनकि दानिएल, जसलाई राजाले बेलतसजर भन्नुहुन्थ्यो, जो तीब्र दिमाग, अन्तर्ज्ञान र समझशक्ति भएका भेट्टाइए; अनि उनीसित सपनाहरूको अर्थ खोल्ने, अड्को फुकाउने र अप्ठ्यारा समस्याहरूको समाधान गर्न सक्ने क्षमता पनि थियो। दानिएललाई बोलाउन पठाउनुहोस्, र उनले लेखोटहरूको अर्थ बताइदिनेछन्।”
दानिएल 5 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: दानिएल 5:5-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू