YouVersion लोगो
खोज आइकन

दानिएल 5:5-12

दानिएल 5:5-12 NNRV

अचानक राजदरबारमा भएको पानसको नजिक एक मानव हातका औँलाहरू देखा परे र लिपिएको भित्तामा लेख्‍न लागे। त्‍यो लेख्‍दैगरेको हात राजाले हेरे। उनको अनुहार पहेँलो भयो, र उनी यति डराए कि उनका घुँड़ाहरू कामेर ठोकिन थाले र गोड़ाहरू लल्‍याकलुलुक भए। राजाले मन्‍त्रतन्‍त्र गर्नेहरू, ज्‍योतिषीहरू र जोखना हेर्नेहरूलाई बोलाउन लगाए र बेबिलोनका यी ज्ञानी पुरुषहरूलाई भने, “जसले यो लेख पढ्‌छ र यसको अर्थ मलाई बताइदिन्‍छ, त्‍यसलाई बैजनी पोशाक पहिराइनेछ र त्‍यसको गलामा सुनको सिक्री लगाइनेछ र त्‍यसलाई राज्‍यको तेस्रो उच्‍च शासक बनाइनेछ।” तब राजाका सबै ज्ञानी पुरुषहरू आए, तर उनीहरूले यो लेख पढ्‌न वा त्‍यसको अर्थ राजालाई बताउन सकेनन्‌। यसकारण राजा बेलसजर अझ भयभीत भए र उनको अनुहार अझ पहेँलो हुँदैगयो। उनका भारदारहरू अलमल्‍ल परे। राजा र उनका भारदारहरूका स्‍वर सुनेर रानी भोजको कोठामा आइन्‌ र तिनले भनिन्, “महाराजा अमर रहून्‌! नआत्तिनुहोस्‌। यस्‍तो पहेँलो अनुहार नबनाउनुहोस्‌। तपाईंको राज्‍यमा एक जना मानिस छन्, जोसँग पवित्र देवताहरूका आत्‍मा छ। तपाईंका पिताको पालोमा उनमा देवताको जस्‍तै अन्‍तर्दृष्‍टि, ज्ञान र बुद्धि पाइएको थियो। तपाईंका पिता राजा नबूकदनेसरले उनलाई जादूगरहरू, मन्‍त्रतन्‍त्र गर्नेहरू, ज्‍योतिषीहरू र जोखना हेर्नेका प्रमुख नियुक्त गर्नुभएको थियो। यी दानिएल नाउँ गरेका मानिस, जसलाई राजाले बेलतसजर भन्‍नुहुन्‍थ्‍यो, तीव्र मन र ज्ञान र समझ भएका भेट्टाइए र साथै उनले सपनाका अर्थ बताउन, अड्‌कोहरू फुकाउन र कठिन समस्‍याहरू हल गर्न पनि सक्‍थे। दानिएललाई बोलाउनुहोस्, र उनले तपाईंलाई यस लेखको अर्थ बताउनेछन्‌।”