YouVersion लोगो
खोज आइकन

दानिएल 1:3-19

दानिएल 1:3-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब राजाले प्रवासमा लगिएका इस्राएलीहरूमध्‍येबाट राजकीय खानदान र सभ्‍य खानदानका केही जवान मानिसहरू छान्‍नू भनी तिनका प्रमुख अधिकृत अशपेनजलाई हुकुम गरे। ती जवान मानिसहरू कुनै शारीरिक खोट नभएका, सुन्‍दर, हरकिसिमका शिक्षा सिक्‍ने क्षमता भएका, ज्ञानले परिपूर्ण भएका, छिटो सिक्‍न सक्‍ने र राजदरबारमा सेवा गर्नलाई योग्‍य हुनुपर्थ्‍यो। अशपेनजले उनीहरूलाई बेबिलोनीहरूका भाषा र साहित्‍य सिकाउनुपर्थ्‍यो। राजाले उनीहरूलाई राजदरबारमा खाने गरेका दैनिक खाना र दाखमद्य दिनू भनी अशपेनजलाई हुकुम गरे। उनीहरूलाई तीन वर्षसम्‍म तालीम दिनुपर्थ्‍यो, र त्‍यसपछि उनीहरू राजाको सेवामा प्रवेश गर्नुपर्थ्‍यो। यीमध्‍ये कोही यहूदाका कुलका थिए: दानिएल, हनन्‍याह, मीशाएल र अजर्याह। प्रमुख अधिकृतले तिनीहरूलाई नयाँ नाउँ दिए— दानिएललाई बेलतसजर, हनन्‍याहलाई शद्रक, मीशाएललाई मेशक र अजर्याहलाई अबेद्‌नगो। तर दानिएलले राजकीय भोजन र दाखमद्य खाएर आफैलाई अशुद्ध नपार्ने निर्णय गरे, र तिनले यसरी आफैलाई अशुद्ध नपार्नलाई प्रमुख अधिकृतसँग अनुमति मागे। अनि परमेश्‍वरले ती अधिकृतलाई दानिएलप्रति कृपा र सहानुभूति देखाउने तुल्‍याउनुभयो, तर अधिकृतले दानिएललाई भने, “तिमीहरूले खाने र पिउने कुराहरूका सम्‍बन्‍धमा मलाई खटाउनुहुने मेरा स्‍वामी महाराजादेखि म डराउँछु। तिमीहरूका उमेरका अरू जवानहरूभन्‍दा तिमीहरू उहाँको सामु किन कमसल अवस्‍थाका देखिनु र? तिमीहरूको कारणले गर्दा महाराजाले मेरो शिर उड़ाइदिनुहुनेछ।” त्‍यसपछि दानिएल, हनन्‍याह, मीशाएल र अजर्याहमाथि खटाइएका सुरक्षाकर्मीलाई दानिएलले भने, “कृपया, तपाईंका दासहरूलाई दश दिनसम्‍म जाँच्‍नुहोस्‌। हामीलाई खानका लागि सागपात र पिउनका लागि पानी मात्र दिनुहोस्‌। त्‍यसपछि राजकीय खाना खाने जवानहरूसँग हाम्रा चेहरा दाँज्‍नुहोस्‌ र तपाईंले देख्‍नुभएअनुसार आफ्‍ना दासहरूसँग व्‍यवहार गर्नुहोस्‌।” यसकारण उनले यो कुरा मन्‍जूर गरे र दश दिनसम्‍म तिनीहरूको जाँच गरे। दश दिनपछि राजकीय खाना खाएका ती अन्‍य जवानहरूभन्‍दा तिनीहरू स्‍वस्‍थ र पुष्‍ट देखिए। यसकारण ती सुरक्षाकर्मीले तिनीहरूका लागि तोकिएका मीठा-मीठा खाना र दाखमद्य हटाएर तिनीहरूलाई सागपात दिए। यी चार जवान मानिसहरूलाई परमेश्‍वरले सब किसिमका साहित्‍य र शिक्षाको ज्ञान र समझ दिनुभयो। अनि दानिएल सबै किसिमका दर्शन र सपनाको अर्थ खोल्‍न सक्‍ने भए। राजाले तिनीहरूलाई हाजिर गराउनू भनी तोकेको समय भएपछि ती प्रमुख अधिकृतले तिनीहरूलाई राजा नबूकदनेसरकहाँ ल्‍याए। राजाले तिनीहरूसँग कुरा गरे र उनले दानिएल, हनन्‍याह, मीशाएल र अजर्याह बराबर कोही पनि भेट्टाएनन्‌। यसकारण तिनीहरू राजाको सेवामा नियुक्त भए।

शेयर गर्नुहोस्
दानिएल 1 पढ्नुहोस्

दानिएल 1:3-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यसपछि राजाले आफ्ना दरबारका अधिकारीहरूका प्रमुख अशपनजलाई इस्राएली मानिसहरूका राजकीय परिवारबाट र प्रमुख मानिसहरूबाट केही व्यक्तिहरूलाई राजाको सेवाको निम्ति ल्याउनू भनी हुकुम गरे— जो शारीरिक खोट नभएका जवान मानिसहरू, सुन्दर, सबै किसिमका बुद्धि प्राप्‍त गर्न सक्ने रुचि भएका, सबै कुराको ज्ञान भएका, छिटो सिक्न सक्ने र राजाको राजदरबारमा सेवा गर्न योग्यका होऊन्। अशपनजले तिनीहरूलाई बेबिलोनीहरूका भाषा र साहित्य सिकाउनुपर्ने थियो। राजाले तिनीहरूलाई दैनिक भोजनका निम्ति राजाकै टेबुलबाट खाना र दाखमद्य दिनलाई आदेश दिएका थिए। तिनीहरूले तीन वर्षसम्म तालिम प्राप्‍त गर्नुपर्नेथियो; अनि त्यसपछि तिनीहरू राजाको सेवामा प्रवेश हुनुपर्नेथियो। चुनिएकाहरूमध्ये यहूदाका कुलका दानिएल, हनन्याह, मिशाएल र अजर्याह थिए। प्रमुख अधिकारी अशपनजले तिनीहरूलाई नयाँ नाम दिए: दानिएललाई बेलतसजर, हनन्याहलाई शद्रक, मिशाएललाई मेशक र अजर्याहलाई अबेद्नगो। तर दानिएलले राजकीय भोजन र दाखमद्यले आफूलाई अशुद्ध नतुल्याउने अठोट गरे; यसकारण तिनले आफूलाई अशुद्ध पार्नु नपरोस् भनी प्रमुख अधिकारीसँग अनुमति मागे। परमेश्‍वरले त्यस अधिकारीलाई दानिएलप्रति निगाह र कृपा देखाउने तुल्याउनुभएको थियो; तर त्यस अधिकारीले दानिएललाई भने, “मलाई मेरा आदेश दिने राजा, मेरा मालिकदेखि म डराउँछु, जसले तिमीहरूलाई राजकीय भोजन र दाखमद्यका सम्बन्धमा मलाई खटाउनुभएको छ। तिमीहरूका उमेरका अरू जवान मानिसहरूभन्दा तिमीहरू किन खराब अवस्थाका देखिनु र? तिमीहरूका कारणले गर्दा राजाले मेरो ज्यान लिनुहुनेछ।” तब दानिएल, हनन्याह, मिशाएल र अजर्याहमाथि प्रमुख अधिकारी अशपनजले खटाएको सुरक्षाकर्मीलाई दानिएलले भने, “बिन्ती गर्दछु, तपाईंका सेवकहरूलाई दश दिनसम्म जाँचेर हेर्नुहोस्: हामीलाई खानका लागि सागपात र पिउनका लागि पानी मात्र दिनुहोस्। त्यसपछि हामीलाई राजकीय भोजन खाने ती जवान मानिसहरूसित दाँजेर हेर्नुहोस्; अनि तपाईंले देख्नुभएअनुसार आफ्ना सेवकहरूसित व्यवहार गर्नुहोस्।” यसकारण सुरक्षाकर्मी यस कुरामा राजी भए, र तिनले उनीहरूलाई दश दिनसम्म जाँच गरे। दश दिन बितेपछि राजकीय भोजन खाने ती जवान मानिसहरूभन्दा तिनीहरू स्वस्थ र हृष्‍टपुष्‍ट देखिए। यसकारण त्यस सुरक्षाकर्मीले तिनीहरूले खानुपर्ने राजकीय भोजन र पिउनुपर्ने दाखमद्य हटाए; अनि त्यसको सट्टा तिनीहरूलाई सागपात दिए। ती चार जवान मानिसहरूलाई परमेश्‍वरले सबै किसिमका साहित्य र शिक्षाको ज्ञान र समझशक्ति दिनुभयो। अनि दानिएल सबै किसिमका दर्शन र सपनाका अर्थ खोल्न सक्ने भए। राजाले तिनीहरूलाई आफ्नो सेवामा ल्याउन तोकेको समयको अन्तमा, ती प्रमुख अधिकारी अशपनजले तिनीहरूलाई नबूकदनेसरकहाँ प्रस्तुत गरे। राजाले तिनीहरूसँग कुरा गरे; अनि अरू कसैलाई पनि दानिएल, हनन्याह, मिशाएल र अजर्याहको बराबर भेट्टाएनन्; यसकारण तिनीहरू राजाको सेवा गर्नलाई नियुक्त भए।

शेयर गर्नुहोस्
दानिएल 1 पढ्नुहोस्

दानिएल 1:3-19 पवित्र बाइबल (NERV)

त्यसपछि राजा नबूकदनेस्सरले अशपनजलाई आदेश दिए। अशपनज राजाका सेवकहरूको अगुवा थियो। राजाले अशपनजलाई राजकीय परिवारका केही यहूदीहरू अनि उच्च श्रेणीका इस्राएलीहरूलाई ल्याउनु भने। ती मानिसहरू हट्टा-कट्टा, सुन्दर, शरीरमा कुनै चोट नभएका, सारा बुद्धिमा निपुण, साहित्य र विज्ञानको ज्ञानले परिपूर्ण, समझदार राजदरवारको सेवा गर्न सक्ने योग्य कल्दीहरूका भाषा र साहित्य सिकाउन भनी नपुंसकहरूका प्रधान अशपनजलाई हुकूम गरे। राजा नबूदकनेसरले आफ्नो भोजन र मदको एक भाग तिनीहरूलाई दिए। राजाले तिनीहरूलाई तीन बर्षसम्म तालिम दिन र त्यसपछि उनको सामु प्रस्तुत गर्ने निर्देशन दिए। यहूदाका ती नानीहरूमा दानियल, हनन्याह, मीशाएल अनि अजर्याह सामेल थिए। अशपनजले (नपुंसक) नाउँ राखिदिए। तिनीहरूले दानियलको नाउँ बेलतसजर राखिदिए। तिनीहरूले हनन्याहको नाउँ शद्रक राखिदिए। अनि मीशाएललाई मेशेक अनि अजर्याहलाई अबेद्नगो नाउँ राखिदिए। तर राजाले उनीहरूलाई दिनु भनी पठाएको भोजन र दाखरस खाएर आफूलाई अशुद्ध नपार्ने दानियलले निश्चय गरे। यसैले आफूलाई अशुद्ध हुन नदिनुहोस् भनी नपुंसकहरूका प्रधानलाई बिन्ति गरे। परमेश्वरले नपुंसकहरूका प्रमुखको मनमा दानियल प्रति करूणा र दया भरिदिनु भयो। नपुंसकहरूका प्रमुखले दानियललाई भने, “मलाई डर लाग्छ, किनभने मेरा परमप्रभु राजाले मलाई तिमीले यो भोजन खाएको अनि यो दाखरस पिएको हेर्नु भनी आदेश दिनु भएको छ। यदि तिमीले यो भोजन खाएनौ भने तिमी बिमार अनि दुर्बल हुनेछौ। राजाले यो देख्नु हुनेछ र मसित रिसाउनु हुनेछ। हुन सक्छ, मेरो टाउको काटिइनेछ अनि यो दोष तिम्रो हुनेछ।” त्यसपछि दानियलले आफूलाई, हनन्याह, मीशाएल अनि अजर्याहमाथि हेरचाह गर्ने अशपनजको त्यो कारिन्दासँग कुराकानि गरे। दानियलले त्यो कारिन्दालाई भने, “दया गरेर दश दिन सम्म हाम्रो परीक्षा लेऊ, हामीलाई खान साग-सब्जी अनि पिउने पानी बाहेक केही नदेऊ। त्यसपछि तिमीले हाम्रो तुलना अरू जवान मानिसहरूसँग गर, जसले राजाको खाना खान्छन्। त्यस पछि तिमीले देख्छौ कि को धेरै स्वस्थ छ, अनि आफैं निर्णय गर, हामीसँग कस्तो व्यवहार गर्नु पर्छ, हामी तिम्रो सेवक हौं।” उनी राजी भए अनि दश दिन सम्म जाँच गरे। दश दिनको अन्तमा तिनीहरू राम्रा र हट्टा-कट्टा देखिन थाले उनीहरू भन्दा, जसले राजाको खाना खान्थे। त्यसपछि त्यो कारिन्दाले उनीहरूलाई राजाको खाना र दाखरस दिन बन्द गरे। अनि तिनीहरूलाई साग-सब्जी नै दिनलागे। परमेश्वरले ती चारजनालाई, ज्ञान, बुद्धि प्रदान गर्नुभयो, अनि हरेक प्रकारको लिपि, विज्ञानहरू जान्ने योग्यता दिनुभयो। दानियलले हरेक प्रकारको दिब्य दर्शन अनि सपनाहरू बुझ्न थाले। त्यस अवधिको अन्तमा राजाको आदेश अनुसार नपुंसकहरूका अगुवाले तिनीहरूलाई राजा नबूकदनेस्सर अघि उपस्थित गराए। राजाले सबै मानिसहरूको अन्तवार्ता लिए तर उनले ती मध्ये कसैलाई पनि दानियल, हनन्याह, मीशाएल अनि अजर्याह जस्तो सर्वोत्तम पाएनन्। यसकारण उनले तिनीहरूलाई आफ्नो कार्यमा लिए।

शेयर गर्नुहोस्
दानिएल 1 पढ्नुहोस्

दानिएल 1:3-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

देशबाट निकाली कैदमा लगिएका इस्राएली युवकहरूमध्‍येबाट राजपरिवार र ठूला घरानाका केही पुरुषहरू छान्‍न राजाले आफ्‍नो मुख्‍य हाकिम अशपेनजलाई आज्ञा गरे। ती युवकहरू देख्‍नमा सुन्‍दर, बुद्धिमान्, राम्रो तालिम पाएका, नयाँ कुरा झट्टै सिक्‍न सिपालु र शरीरमा केही खोट नभएका र राजदरबारमा सेवा-कार्य गर्न सबै गुण भएका हुनुपर्छ भन्‍ने आज्ञा भयो। तिनीहरूलाई अशपेनजले बेबिलोनका भाषा लेख्‍न र पढ्‍न सिकाउनुपर्नेभयो। ती इस्राएली युवकहरूलाई पनि प्रतिदिन राजदरबारका भारदारहरूलाई दिइने भोजन र दाख-मद्य नै खान र पिउन दिन र तीन वर्ष तालिम दिएर तिनीहरूलाई राजाको सामुन्‍ने हाजिर गराउन भनि राजाको आज्ञा भयो। त्‍यसरी छानिएका युवाहरूमा यहूदा कुलका दानिएल, हनन्‍याह, मीशाएल र अजर्याह थिए। मुख्‍य हाकिमले दानिएललाई बेलतसजर, हनन्‍याहलाई शद्रक, मीशाएललाई मेशक र अजर्याहलाई अबेद्‌नगो नयाँ नाम दिए। दानिएलले राजदरबारको भोजन खाएर अनि दाखमद्य पिएर आफैंलाई यहूदी विधिअनुसार अशुद्ध नपार्ने सङ्कल्‍प गरे र अशपेनजलाई यसबारे भने। परमेश्‍वरले उनको मन दानिएलप्रति दयालु पारिदिनुभयो। तर अशपेनज राजासित डराउँथे र उनले दानिएललाई भने, “तिमीले के खाने र के पिउने हो, सो राजाले खटाइदिनुभएको छ र तिमी अरू ठिटाहरूझैँ हट्टाकट्टा देखिएनौ भने उहाँले मेरो ज्‍यान लिनुहुनेछ।” यसकारण आफू र आफ्‍ना साथीहरूमाथि हेरविचार गर्न अशपेनजले खटाएका कारिन्‍दाकहाँ दानिएल गए र तिनलाई भने, “दश दिनसम्‍म हामीलाई जाँचेर हेर्नुहोस्। हामीलाई खानलाई साग-सब्‍जी र पिउनलाई पानी दिनुहोस्। त्‍यसपछि राजदरबारको भोजन खाने जवानहरूसित हामीलाई दाँज्‍नुहोस् र हामी कस्‍ता देखिन्‍छौं, त्‍यसअनुसार निर्णय गर्नुहोस्।” दश दिनसम्‍म तिनीहरूलाई त्‍यसो गर्न दिन उनी राजी भए। दश दिन बितेपछि तिनीहरू राजदरबारको भोजन खाने जवानहरूभन्दा ज्‍यादा हट्टाकट्टा र बलिया देखिए। त्‍यसपछि ती कारिन्‍दाले तिनीहरूलाई राजाको हुकुमअनुसारको भोजनको सट्टामा सधैँ सागसब्‍जी खान दिए। परमेश्‍वरले ती चार युवकहरूलाई ज्ञान-बुद्धि र सबै प्रकारका साहित्‍य र विद्यामा सिपालु बनाउनुभयो। यसबाहेक दानिएललाई उहाँले सबै प्रकारका दर्शन र सपनाका अर्थ खोल्‍ने ज्ञान दिनुभयो। राजाले खटाएअनुसार तीन वर्षपछि अशपेनजले सबै युवकहरूलाई नबूकदनेसरकहाँ लगे। राजाले तिनीहरू सबै जनासित कुरा गरे र उनले दानिएल, हनन्‍याह, मीशाएल र अजर्याहको बराबर कसैलाई पनि पाएनन्। यसकारण तिनीहरू राजाको दरबारका भारदारहरू नियुक्त गरिए।

शेयर गर्नुहोस्
दानिएल 1 पढ्नुहोस्