दानिएल 1
1
बेबिलोनमा दानिएलको तालिम
1यहूदाका राजा यहोयाकीमका शासनकालको तेस्रो वर्षमा बेबिलोनका राजा नबूकदनेसर यरूशलेममा आएर त्यसलाई घेरे। #२ राज २४:१-२; २ इति ३६:५-७ 2अनि परमप्रभुले परमेश्वरको भवनका केही भाँड़ाकुँड़ाहरूसहित यहूदाका राजा यहोयाकीमलाई तिनको हातमा सुम्पिदिनुभयो। ती भाँड़ाकुँड़ाहरू तिनले बेबिलोनियामा भएको आफ्ना देवताको मन्दिरमा लगे र देवताकै भण्डारमा राखे। #२ राज २०:१७-१८; २४:१०-१६; २ इति ३६:१०; यशै ३९:७-८
3तब राजाले प्रवासमा लगिएका इस्राएलीहरूमध्येबाट राजकीय खानदान र सभ्य खानदानका केही जवान मानिसहरू छान्नू भनी तिनका प्रमुख अधिकृत अशपेनजलाई हुकुम गरे। 4ती जवान मानिसहरू कुनै शारीरिक खोट नभएका, सुन्दर, हरकिसिमका शिक्षा सिक्ने क्षमता भएका, ज्ञानले परिपूर्ण भएका, छिटो सिक्न सक्ने र राजदरबारमा सेवा गर्नलाई योग्य हुनुपर्थ्यो। अशपेनजले उनीहरूलाई बेबिलोनीहरूका#1:4 अथवा कल्दी भाषा र साहित्य सिकाउनुपर्थ्यो। 5राजाले उनीहरूलाई राजदरबारमा खाने गरेका दैनिक खाना र दाखमद्य दिनू भनी अशपेनजलाई हुकुम गरे। उनीहरूलाई तीन वर्षसम्म तालीम दिनुपर्थ्यो, र त्यसपछि उनीहरू राजाको सेवामा प्रवेश गर्नुपर्थ्यो।
6यीमध्ये कोही यहूदाका कुलका थिए: दानिएल, हनन्याह, मीशाएल र अजर्याह। 7प्रमुख अधिकृतले तिनीहरूलाई नयाँ नाउँ दिए— दानिएललाई बेलतसजर, हनन्याहलाई शद्रक, मीशाएललाई मेशक र अजर्याहलाई अबेद्नगो।
8तर दानिएलले राजकीय भोजन र दाखमद्य खाएर आफैलाई अशुद्ध नपार्ने निर्णय गरे, र तिनले यसरी आफैलाई अशुद्ध नपार्नलाई प्रमुख अधिकृतसँग अनुमति मागे। 9अनि परमेश्वरले ती अधिकृतलाई दानिएलप्रति कृपा र सहानुभूति देखाउने तुल्याउनुभयो, 10तर अधिकृतले दानिएललाई भने, “तिमीहरूले खाने र पिउने कुराहरूका सम्बन्धमा मलाई खटाउनुहुने मेरा स्वामी महाराजादेखि म डराउँछु। तिमीहरूका उमेरका अरू जवानहरूभन्दा तिमीहरू उहाँको सामु किन कमसल अवस्थाका देखिनु र? तिमीहरूको कारणले गर्दा महाराजाले मेरो शिर उड़ाइदिनुहुनेछ।”
11त्यसपछि दानिएल, हनन्याह, मीशाएल र अजर्याहमाथि खटाइएका सुरक्षाकर्मीलाई दानिएलले भने, 12“कृपया, तपाईंका दासहरूलाई दश दिनसम्म जाँच्नुहोस्। हामीलाई खानका लागि सागपात र पिउनका लागि पानी मात्र दिनुहोस्। 13त्यसपछि राजकीय खाना खाने जवानहरूसँग हाम्रा चेहरा दाँज्नुहोस् र तपाईंले देख्नुभएअनुसार आफ्ना दासहरूसँग व्यवहार गर्नुहोस्।” 14यसकारण उनले यो कुरा मन्जूर गरे र दश दिनसम्म तिनीहरूको जाँच गरे।
15दश दिनपछि राजकीय खाना खाएका ती अन्य जवानहरूभन्दा तिनीहरू स्वस्थ र पुष्ट देखिए। 16यसकारण ती सुरक्षाकर्मीले तिनीहरूका लागि तोकिएका मीठा-मीठा खाना र दाखमद्य हटाएर तिनीहरूलाई सागपात दिए।
17यी चार जवान मानिसहरूलाई परमेश्वरले सब किसिमका साहित्य र शिक्षाको ज्ञान र समझ दिनुभयो। अनि दानिएल सबै किसिमका दर्शन र सपनाको अर्थ खोल्न सक्ने भए।
18राजाले तिनीहरूलाई हाजिर गराउनू भनी तोकेको समय भएपछि ती प्रमुख अधिकृतले तिनीहरूलाई राजा नबूकदनेसरकहाँ ल्याए। 19राजाले तिनीहरूसँग कुरा गरे र उनले दानिएल, हनन्याह, मीशाएल र अजर्याह बराबर कोही पनि भेट्टाएनन्। यसकारण तिनीहरू राजाको सेवामा नियुक्त भए। 20राजाले बुद्धि र समझको बारेमा तिनीहरूलाई जे-जति प्रश्न सोध्थे, अधिराज्यभरका जादूगरी र मन्त्रतन्त्र गर्नेहरूभन्दा तिनीहरूलाई दश गुणा असल भेट्टाए।
21अनि कोरेस राजाका शासनकालको पहिलो वर्षसम्म दानिएल त्यहाँ रहे।
अहिले सेलेक्ट गरिएको:
दानिएल 1: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012