देशबाट निकाली कैदमा लगिएका इस्राएली युवकहरूमध्येबाट राजपरिवार र ठूला घरानाका केही पुरुषहरू छान्न राजाले आफ्नो मुख्य हाकिम अशपेनजलाई आज्ञा गरे। ती युवकहरू देख्नमा सुन्दर, बुद्धिमान्, राम्रो तालिम पाएका, नयाँ कुरा झट्टै सिक्न सिपालु र शरीरमा केही खोट नभएका र राजदरबारमा सेवा-कार्य गर्न सबै गुण भएका हुनुपर्छ भन्ने आज्ञा भयो। तिनीहरूलाई अशपेनजले बेबिलोनका भाषा लेख्न र पढ्न सिकाउनुपर्नेभयो। ती इस्राएली युवकहरूलाई पनि प्रतिदिन राजदरबारका भारदारहरूलाई दिइने भोजन र दाख-मद्य नै खान र पिउन दिन र तीन वर्ष तालिम दिएर तिनीहरूलाई राजाको सामुन्ने हाजिर गराउन भनि राजाको आज्ञा भयो। त्यसरी छानिएका युवाहरूमा यहूदा कुलका दानिएल, हनन्याह, मीशाएल र अजर्याह थिए। मुख्य हाकिमले दानिएललाई बेलतसजर, हनन्याहलाई शद्रक, मीशाएललाई मेशक र अजर्याहलाई अबेद्नगो नयाँ नाम दिए। दानिएलले राजदरबारको भोजन खाएर अनि दाखमद्य पिएर आफैंलाई यहूदी विधिअनुसार अशुद्ध नपार्ने सङ्कल्प गरे र अशपेनजलाई यसबारे भने। परमेश्वरले उनको मन दानिएलप्रति दयालु पारिदिनुभयो। तर अशपेनज राजासित डराउँथे र उनले दानिएललाई भने, “तिमीले के खाने र के पिउने हो, सो राजाले खटाइदिनुभएको छ र तिमी अरू ठिटाहरूझैँ हट्टाकट्टा देखिएनौ भने उहाँले मेरो ज्यान लिनुहुनेछ।” यसकारण आफू र आफ्ना साथीहरूमाथि हेरविचार गर्न अशपेनजले खटाएका कारिन्दाकहाँ दानिएल गए र तिनलाई भने, “दश दिनसम्म हामीलाई जाँचेर हेर्नुहोस्। हामीलाई खानलाई साग-सब्जी र पिउनलाई पानी दिनुहोस्। त्यसपछि राजदरबारको भोजन खाने जवानहरूसित हामीलाई दाँज्नुहोस् र हामी कस्ता देखिन्छौं, त्यसअनुसार निर्णय गर्नुहोस्।” दश दिनसम्म तिनीहरूलाई त्यसो गर्न दिन उनी राजी भए। दश दिन बितेपछि तिनीहरू राजदरबारको भोजन खाने जवानहरूभन्दा ज्यादा हट्टाकट्टा र बलिया देखिए। त्यसपछि ती कारिन्दाले तिनीहरूलाई राजाको हुकुमअनुसारको भोजनको सट्टामा सधैँ सागसब्जी खान दिए। परमेश्वरले ती चार युवकहरूलाई ज्ञान-बुद्धि र सबै प्रकारका साहित्य र विद्यामा सिपालु बनाउनुभयो। यसबाहेक दानिएललाई उहाँले सबै प्रकारका दर्शन र सपनाका अर्थ खोल्ने ज्ञान दिनुभयो। राजाले खटाएअनुसार तीन वर्षपछि अशपेनजले सबै युवकहरूलाई नबूकदनेसरकहाँ लगे। राजाले तिनीहरू सबै जनासित कुरा गरे र उनले दानिएल, हनन्याह, मीशाएल र अजर्याहको बराबर कसैलाई पनि पाएनन्। यसकारण तिनीहरू राजाको दरबारका भारदारहरू नियुक्त गरिए।
दानिएल 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: दानिएल 1:3-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू