YouVersion लोगो
खोज आइकन

आमोस 5:18-27

आमोस 5:18-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

धिक्‍कार तिमीहरूलाई, जो परमप्रभुका दिनको अति इच्‍छा गर्दछौ! परमप्रभुका दिनको तिमीहरू किन इच्‍छा गर्दछौ? त्‍यो दिन त अन्‍धकार हुनेछ, उज्‍यालो होइन। सिंहदेखि भागेर कुनै मानिसको भालूसित भेट भएजस्‍तै, अथवा घरभित्र गएर आराम गर्नलाई भित्तामा हात राख्‍दा साँपले त्‍यसलाई डसेजस्‍तै त्‍यो दिन हुनेछ। के परमप्रभुको दिन उज्‍यालो होइन तर अन्‍धकार हुँदैन र— पटक्‍कै उज्‍यालो नभएको निष्‍पट्ट अन्‍धकार? “तिमीहरूका धार्मिक चाड़हरूलाई म घृणा गर्दछु, तिमीहरूका सभाहरू म सहन सक्‍दिनँ। तिमीहरूले मेरो निम्‍ति होमबलि र अन्‍नबलि चढ़ाए तापनि म ती ग्रहण गर्नेछैनँ। तिमीहरूले चढ़ाएका सबैभन्‍दा असल मेलबलिमाथि पनि म परवाह गर्नेछैनँ। तिमीहरूका सङ्गीतहरूको हल्‍ला मदेखि टाढ़ा राख। म तिमीहरूका वीणाहरूका सङ्गीत सुन्‍न चाहन्‍नँ। तर न्‍यायचाहिँ नदीझैँ र धार्मिकता कहिले नसुक्‍ने खोलाझैँ बगिरहोस्‌! “इस्राएलका मानिस हो, के तिमीहरूले उजाड़-स्‍थानमा ती चालीस वर्षसम्‍म मलाई पशुबलि र भेटीहरू चढ़ायौ र? तिमीहरूले आफ्‍नै निम्‍ति बनाएका राजाको तम्‍बू, तिमीहरूका मूर्तिहरूको थान, र तिमीहरूको तारा-देव उठाएका छौ। यसकारण दमस्‍कसदेखि पनि पारि म तिमीहरूलाई निर्वासनमा पठाइदिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ, जसको नाउँ सर्वशक्तिमान्‌ परमेश्‍वर हो।

शेयर गर्नुहोस्
आमोस 5 पढ्नुहोस्

आमोस 5:18-27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

धिक्‍कार तिमीहरूलाई, जसले याहवेहको दिनको तिर्सना गर्दछौ! तिमीहरू याहवेहको दिनको किन तिर्सना गर्दछौ? त्यो दिन उज्यालो होइन, तर अन्धकारको दिन हुनेछ। कुनै मानिस सिंहबाट भागेर भालुलाई भेटे जस्तै, र घरभित्र पस्दा, र विश्रामको लागि आफ्नो हात भित्तामा राख्दा त्यसलाई सर्पले डसेजस्तै, त्यो दिन हुनेछ। हो, याहवेहको दिन उज्यालो होइन, तर अन्धकारमय हुनेछ; अर्थात् उज्यालोको किरण विनाको घोर अन्धकार। “म तिमीहरूका धार्मिक चाडहरूलाई तुच्छ ठान्छु; मेरा लागि तिमीहरूका सभाहरू दुर्गन्धजस्तै हो। तिमीहरूले मेरा निम्ति होमबलि र अन्‍नबलिहरू चढाए पनि, म ती बलिहरू ग्रहण गर्नेछैनँ। तिमीहरूले अति असल बाछाको मेलबलिहरू चढाए तापनि म ती बलिहरूलाई वास्ता गर्नेछैनँ। तिमीहरूका प्रशंसाको होहल्‍ला मबाट टाढा राख! म तिमीहरूका वीणाको सङ्गीत सुन्‍नेछैनँ। तर न्याय एउटा नदीझैँ बगोस्, र धार्मिकताचाहिँ कहिल्यै नसुक्ने मुहानझैँ! “हे इस्राएलका घराना हो, के तिमीहरूले उजाडस्थानमा चालीस वर्षसम्म मेरा निम्ति बलिदानहरू र भेटीहरू चढायौ? तर तिमीहरूले आफ्ना राज-देव सक्‍कूत, र तिमीहरूको तारा-देव कीयूनका देवस्थानलाई उचालेका छौ, जसलाई तिमीहरूले आफ्नै निम्ति बनाएका थियौ। यसकारण म तिमीहरूलाई दमस्कसभन्दा टाढा निर्वासनमा पठाउनेछु,” याहवेह भन्‍नुहुन्छ, जसको नाम सेनाहरूका परमेश्‍वर हो।

शेयर गर्नुहोस्
आमोस 5 पढ्नुहोस्

आमोस 5:18-27 पवित्र बाइबल (NERV)

आहा, परमप्रभुको बिशेष दिनलाई पर्खिरहेका तिमीहरू आफैंलाई हेर। तिमीहरू किन परमप्रभुको न्यायको दिन चाहन्छौ? यो एउटा गहिरो दिन हुनेवाला छ, उज्यालो होइन। तिमीहरू भालुको सन्मुख नहुनलाई भाग्दा कुनै सिंहको अघि पुगेको मानिसजस्तो हुनेछौ, अथवा तिमीहरू एकजना मानिस जान्छ र आराम गर्नु भित्तामा अडेसलागेको बेला सर्पले डसेको मानिसझैं हुनेछौ। यसकारण परमप्रभुको बिशेष दिन, अँध्यारो हुनेछ उज्यालो हैन, यो सोकको समयमा हर्ष र उल्लास हुनेछैन। “म तिमीहरूको दिनलाई घृणागर्छु। म त्यो स्वीकार गर्दिनँ। म तिमीहरूको धार्मिक सभाको आनन्द लिनेछैन। तिमीहरूसे होमबली र अन्नबली चढाएता पनि म स्वीकार्ने छैन। तिमीहरूले अन्न खुवाएर बलियो पारेको जनावरको शान्तिबलि पनि म स्वीकार गर्नेछैन। तिमीहरूका हल्लै-हल्लाको गीतहरू मबाट टाढैराख, म तिमीहरूको वीणाबाट आएको धुन सुन्ने छैन। तर पानी सरह न्याय बगोस्, र धर्म कहिले पनि शेष नहुने खोला झैं बगोस्। हे इस्राएल! के तिमीहरूले जब तिमीहरू चालिस बर्ष सम्म मरुभुमिमा थियौ मलाई भेटी चढायौ? तिमीहरूले मुर्तिहरूका राजा सिककुतलाई तिमीहरूका राजा, अनि तारा देवता कीयूनलाई देवता झैं मानेका छौ, जो तिमीहरूले आफ्नै निम्ति बनायौ। यसकारण म तिमीहरूलाई दमीशकस भन्दा पर निर्वासित पार्नेछु।” परमप्रभुले यो भन्नु भयो। उहाँको नाउँ सर्वशक्तिमान परमेश्वर हो।

शेयर गर्नुहोस्
आमोस 5 पढ्नुहोस्

आमोस 5:18-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हाय! हाय तिमीहरू, जो परमप्रभुको दिन पर्खिरहन्‍छौ। त्‍यस दिनमा तिमीहरूलाई के लाभ हुन्‍छ? तिमीहरूको लागि त्‍यो दिन अँध्‍यारो हुनेछ, उज्‍यालो होइन। त्‍यो दिन त कुनै मानिस सिंहबाट भाग्‍दा भालुको मुखमा परेको जस्‍तो पो हुनेछ। अथवा कुनै मानिस घर आएर भित्तामा हात राख्‍दा साँपले डसेको जस्‍तो हुनेछ! परमप्रभुको दिन उज्‍यालो होइन, अँध्‍यारो हुनेछ। त्‍यो त पटक्‍कै घाम नलागेको उराठलाग्‍दो दिन हुनेछ। परमप्रभु भन्‍नुहुन्‍छ, “म तिमीहरूका धार्मिक चाड-बाडलाई घृणा गर्दछु। म ती हेर्नै सक्‍दिनँ। तिमीहरूले मलाई होमबलि र अन्‍नबलि चढाउँदा म ती ग्रहण गर्नेछैनँ। तिमीहरूले मलाई बलि चढाउन ल्‍याएका पोसेर मोटाएका पशुहरू म ग्रहण गर्नेछैनँ। गीत गाएर हल्‍ला गर्न बन्‍द गर। म तिम्रो वीणाको सोर सुन्‍न चाहन्‍नँ। बरु त्‍यसको सट्टा न्‍याय खोलाझैँ र धार्मिकता कहिल्यै नसुक्‍ने नदीझैँ बगून्। “हे इस्राएलका मानिसहरू हो, मैले तिमीहरूलाई चालीस वर्ष उजाड-भूमिबाट डोर्‍याएर ल्‍याउँदा के तिमीहरूले बलिदान र भेटी चढायौ? तर अब तिमीहरूले पुजेका मूर्तिहरू अर्थात् तिमीहरूका राज-देव सिक्‍कूत र तिमीहरूका तारा-देव कीयूनलाई उठाएर तिमीहरू हिँड्‍नुपर्नेछ। यसकारण म तिमीहरूलाई दमस्‍कसभन्दा पनि टाढा देशमा बन्‍दी बनाएर लैजानेछु।” यसरी परमप्रभु भन्‍नुहुन्‍छ, जसको नाम सर्वशक्तिमान् परमेश्‍वर हो।

शेयर गर्नुहोस्
आमोस 5 पढ्नुहोस्