YouVersion लोगो
खोज आइकन

आमोस 5

5
विलाप र पश्‍चात्तापको आह्वान
1हे इस्राएलका घराना हो, तिमीहरूका विषयमा मैले गरेको यो विलाप सुन: 2“कन्‍ये-केटी इस्राएल फेरि कहिल्‍यै नउठ्‌ने गरी लोटेकी छ, त्‍यो आफ्‍नै देशमा त्‍यागिएकी छ, त्‍यसलाई उठाउने कोही छैन।”
3परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “जुन सहरबाट इस्राएलको निम्‍ति हजार जना बाहिर निस्‍कन्‍छन्, त्‍यसमा एक सय मात्र रहन्‍छन्‌। सय जना बाहिर निस्‍कनेका दश जना मात्र बाँच्‍नेछन्‌।”
4इस्राएलका घरानालाई परमप्रभु यसो भन्‍नुहुन्‍छ: “मलाई खोज र बाँच। 5बेथेललाई नखोज, गिलगालमा नजाओ, बेर्शेबामा यात्रा नगर, किनकि गिलगाल अवश्‍य निर्वासनमा जानेछ, र बेथेलचाहिँ केही न केहीको हुनेछ।” 6परमप्रभुको खोजी गर र बाँच, नत्रता उहाँ योसेफको घरानामा आगोजस्‍तै भएर जानुहुनेछ, र त्‍यसले भस्‍म पार्छ, र बेथेलमा त्‍यो निभाउने कोही हुनेछैन।
7न्‍यायलाई तीतो बनाउने र धर्मलाई माटोमा मिलाउने तिमीहरू हौ। 8(किरकिटी र मृगशिरा तारा-समूहलाई सृजनुहुने, र घोर अन्‍धकारलाई प्रभातकालको उज्‍यालोमा परिवर्तन गर्नुहुने, दिनलाई अँध्‍यारो पारेर रात बनाउनुहुने, जसले समुद्रको पानीलाई बोलाउनुहुन्‍छ र त्‍यसलाई जमिनमा खन्‍याउनुहुन्‍छ— उहाँको नाउँ परमप्रभु नै हो। #अयू ९:९; ३८:३१ 9उहाँले बलियाको विरुद्ध एक्‍कासि सर्वनाश ल्‍याउनुहुन्‍छ, र किल्‍लाबन्‍दी गरिएको सहर नाश गर्नुहुन्‍छ), 10न्‍यायालयमा बसेर हप्‍काउनेलाई तिमीहरू घृणा गर्छौ, र सत्‍य बोल्‍नेलाई पनि तिमीहरू घृणा गर्छौ।
11तिमीहरू कङ्गालीलाई कुल्‍चन्‍छौ, र अन्‍न दिन तिनीहरूलाई करकाप गर्दछौ। यसैकारण ढुङ्गाका ठूला-ठूला घरहरू तिमीहरूले बनाए तापनि तिमीहरू तिनमा बस्‍नेछैनौ। तिमीहरूले लहलहाउँदो दाखबारी लगाए तापनि तिमीहरूले तिनका दाखमद्य पिउनेछैनौ। 12किनकि म जान्‍दछु, तिमीहरूका दोषहरू कति धेरै छन्, र तिमीहरूका पाप कति ठूला छन्‌।
तिमीहरू धर्मात्‍माहरूलाई सताउँदछौ र घूस लिन्‍छौ। न्‍यायालयमा गरीबहरूलाई न्‍यायदेखि वञ्‍चित गर्छौ। 13यसैकारण बुद्धिमान्‌ मानिस यस्‍तो समयमा चूप लागिरहन्‍छ, किनकि समय खराब छ।
14भलाइको खोजी गर, खराबीको होइन, र तिमीहरू बाँचिरहो। तब तिमीहरूले भनेझैँ सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर तिमीहरूसँग रहनुहुनेछ। 15खराबीलाई घृणा, भलाइलाई प्रेम गर। न्‍यायालयमा न्‍याय कायम राख। शायद सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वरले योसेफका बाँचेकाहरूमाथि कृपा गर्नुहुनेछ।
16यसकारण परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “सबै सड़कहरूमा रुवाबासी हुनेछ, र हरेक चोकमा तिनीहरूले हाय, हाय गर्नेछन्‌। किसानहरू विलाप गर्न र मलामीहरू शोक गर्न बोलाइनेछन्‌। 17सबै दाखबारीमा रुवाबासी हुनेछ, किनकि म तिमीहरूका बीचबाट भएर जानेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।
परमप्रभुको दिन
18धिक्‍कार तिमीहरूलाई, जो परमप्रभुका दिनको अति इच्‍छा गर्दछौ! परमप्रभुका दिनको तिमीहरू किन इच्‍छा गर्दछौ? त्‍यो दिन त अन्‍धकार हुनेछ, उज्‍यालो होइन। 19सिंहदेखि भागेर कुनै मानिसको भालूसित भेट भएजस्‍तै, अथवा घरभित्र गएर आराम गर्नलाई भित्तामा हात राख्‍दा साँपले त्‍यसलाई डसेजस्‍तै त्‍यो दिन हुनेछ। 20के परमप्रभुको दिन उज्‍यालो होइन तर अन्‍धकार हुँदैन र— पटक्‍कै उज्‍यालो नभएको निष्‍पट्ट अन्‍धकार?
21“तिमीहरूका धार्मिक चाड़हरूलाई म घृणा गर्दछु, तिमीहरूका सभाहरू म सहन सक्‍दिनँ। 22तिमीहरूले मेरो निम्‍ति होमबलि र अन्‍नबलि चढ़ाए तापनि म ती ग्रहण गर्नेछैनँ। तिमीहरूले चढ़ाएका सबैभन्‍दा असल मेलबलिमाथि पनि म परवाह गर्नेछैनँ। 23तिमीहरूका सङ्गीतहरूको हल्‍ला मदेखि टाढ़ा राख। म तिमीहरूका वीणाहरूका सङ्गीत सुन्‍न चाहन्‍नँ। 24तर न्‍यायचाहिँ नदीझैँ र धार्मिकता कहिले नसुक्‍ने खोलाझैँ बगिरहोस्‌!
25“इस्राएलका मानिस हो, के तिमीहरूले उजाड़-स्‍थानमा ती चालीस वर्षसम्‍म मलाई पशुबलि र भेटीहरू चढ़ायौ र? 26तिमीहरूले आफ्‍नै निम्‍ति बनाएका राजाको तम्‍बू, तिमीहरूका मूर्तिहरूको थान, र तिमीहरूको तारा-देव उठाएका छौ। 27यसकारण दमस्‍कसदेखि पनि पारि म तिमीहरूलाई निर्वासनमा पठाइदिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ, जसको नाउँ सर्वशक्तिमान्‌ परमेश्‍वर हो।

अहिले सेलेक्ट गरिएको:

आमोस 5: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्