प्रेरित 7:55-60
प्रेरित 7:55-60 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर तिनले चाहिँ पवित्र आत्माले भरिपूर्ण भईकन स्वर्गतिर एकटक लाएर हेरे, र परमेश्वरको महिमा र येशूलाई परमेश्वरको दाहिनेपट्टि उभिरहनुभएको देखे। तिनले भने, “हेर, स्वर्ग उघ्रेको म देख्छु, र मानिसको पुत्रलाई परमेश्वरको दाहिनेपट्टि उभिरहनुभएको म देख्तछु।” तर तिनीहरू उच्च सोरले कराई उठे, र आ-आफ्ना कान थुने, र तिनीहरू एकसाथ तिनीमाथि झम्टे। तिनीहरूले तिनलाई सहर बाहिर निकाली लगे, र तिनीमाथि ढुङ्गा बर्साए। र साक्षीहरूले आफ्ना वस्त्रहरू शाऊल नाउँ भएको एक जना युवकका खुट्टानेर राखे। जसै तिनीहरूले स्तिफनसमाथि ढुङ्गा हानिरहेका थिए, तिनले प्रार्थना गरे, “हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस्।” तिनले घुँडा टेकेर ठूलो सोरले कराएर भने, “हे प्रभु, यो पापको दोष यिनीहरूलाई नलागोस्।” यति भनेर तिनले प्राण त्याग गरे।
प्रेरित 7:55-60 नेपाली समकालीन संस्करण (NCV)
तर स्तिफनस पवित्र आत्माले भरिपूर्ण भएर स्वर्गतिर हेरे। त्यहाँ उनले परमेश्वरको महिमा र येशूलाई परमेश्वरको दाहिने हातपट्टि उभिरहनुभएको देखे। अनि तिनले भने, “हेर्नुहोस्, स्वर्ग उघ्रेको म देख्छु र त्यहाँ परमेश्वरको दाहिने हातपट्टि मानिसको पुत्र उभिरहनुभएको देख्दछ।” यो सुनेर तिनीहरूले आफ्नो कान थुने, र उच्च सोरले कराएर तिनीहरू सबै एकैसाथ तिनलाई झम्टिन पुगे। अनि स्तिफनसलाई शहरबाहिर घिस्याउँदै लगेर ढुङ्गा प्रहार गर्न थाले। त्यसै बेला त्यस घटनाका साक्षीहरूले आफ्ना लुगाफाटाहरू हेरविचार गर्न शाऊल नाउँको एउटा युवकको पाउमा राखे। जुन बेला स्तिफनसलाई ढुङ्गा बर्साइरहेको थियो। तिनले यसरी प्रार्थना गरे, “प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस्।” त्यसपछि उनले घुँडा टेक्दै उच्च सोरमा भने, “प्रभु, यस पापको दोषी यिनीहरूलाई नबनाउनुहोस्।” यति भन्नसाथ उनको मृत्यु भयो।
प्रेरित 7:55-60 पवित्र बाइबल (NERV)
तर स्तिफनस पवित्र-आत्माले परिपूर्ण थिए। स्तिफनसले उँभो आकाश तिर हेरे। उनले परमेश्वरको महिमा देखे। अनले येशूलाई परमेश्वरको दाहिने तर्फ उभिरहेको देखे। स्तिफनसले भने, “हेर! मैले स्वर्ग खुल्ला अनि मानिसको पुत्र परमेश्वरको दाहिने तर्फ उभिरहेको देख्छु!” तुरून्तै समस्त यहूदी अगुवाहरू एकसाथ ठूलो स्वरमा चिच्याए। तिनीहरूले आफ्ना हातले कान बन्द गरे। तिनीहरू सबै एकसाथ स्तिफनस तिर दौडे। तिनीहरूले उनलाई शहर बाहिर फ्याँके अनि ढुङ्गा हान्न थाले। ती मानिसहरू ज-जसले स्तिफनसको विरूद्ध झूटो कुरा गरेका थिए, तिनीहरूले आफ्ना पोशाक खोलेर शावल नाउँको एक युवकलाई दिए। अनि त्यसपछि तिनीहरूले स्तिफनस माथि ढुङ्गा हान्न शुरू गरे। तर स्तिफनस प्रार्थना गरिरहेका थिए। उनले भने, “प्रभु येशू, मेरो आत्मा ग्रहण गर्नुहोस्!” तब उनले घूँडा टेके अनि जोडले चिच्याए, “प्रभु, यिनीहरूलाई यो पापका निम्ति दोष नदिनुहोस्!” यति भनिसके पछि स्तिफनसले देह त्याग गरे।
प्रेरित 7:55-60 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर स्तिफनसले पवित्र आत्माबाट भरपूर भएर स्वर्गतिर हेरे। उनले परमेश्वरको शक्तिशाली महिमा देखे, येशू पनि उहाँको दाहिनेपट्टि हुनुहुन्थ्यो। त्यहाँ उनले परमेश्वर र उहाँको दाहिनेपट्टि येशूलाई ठूलो महिमामा बास गर्नुभएको देखे। उनले भने, “हेर, म स्वर्ग उघ्रिएको र मानव पुत्र येशूलाई परमेश्वरको दाहिनेपट्टि उभिरहनुभएको देख्तै छु।” त्यत्तिकैमा तिनीहरूले जोडले कराउँदै आ-आफ्ना कान थुने र सबै उनीमाथि जाइलागे। तिनीहरूले स्तिफनसलाई ढुङ्गाले हानेर मार्न सहरदेखि घिस्याउँदै बाहिर निकाले। साक्षीहरूले आ-आफ्नो कोट फुकालेर शाऊल भन्ने ठिटाको जिम्मा लगाई स्तिफनसलाई ढुङ्गाले हिर्काउन लागे। तिनीहरूले ढुङ्गाले हिर्काइरहँदा स्तिफनसले प्रभुलाई पुकार्दै भने, “हे प्रभु येशू, मेरो आत्मालाई लिनुहोस्।” त्यसपछि उनले घुँडा टेकेर ठूलो सोर निकालेर भने, “हे प्रभु, यो पाप यिनीहरूलाई नलागोस्!” यति भनेर उनले आफ्नो प्राण त्यागे।