२ राजाहरू 21:1-26
२ राजाहरू 21:1-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब मनश्शे राजा भए तब तिनी बाह्र वर्षका थिए, र तिनले यरूशलेममा पचपन्न वर्ष राज्य गरे। तिनकी आमाको नाउँ हेप्सीबा थियो। इस्राएलीहरूका सामुन्नेबाट परमप्रभुले धपाउनुभएका जाति-जातिहरूका घिनलाग्दा चालहरूमा हिँड़ेर तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे। तिनका पिता हिजकियाले सर्वनाश गरेका अल्गा-अल्गा ठाउँहरू तिनले फेरि निर्माण गरे। इस्राएलका राजा आहाबले गरेझैँ तिनले बालको निम्ति वेदीहरू खड़ा गरे, र अशेराको एउटा खम्बा पनि बनाए। तिनले आकाशका सारा तारामण्डललाई घोप्टो परेर दण्डवत् गरे। तिनले परमप्रभुको मन्दिरमा वेदीहरू बनाए, जुन मन्दिरको विषयमा परमप्रभुले भन्नुभएको थियो, “यरूशलेममा नै म मेरो नाउँ राख्नेछु।” परमप्रभुको मन्दिरका दुवै चोकमा तिनले आकाशका तारामण्डलको निम्ति वेदीहरू बनाए। तिनले आफ्नै छोरालाई आगोमा होम गरे, टुनामुना गरे, र जोखना हेरे, र भूतप्रेत र पिशाचहरू खेलाए। तिनले परमप्रभुको दृष्टिमा साह्रै खराबी गरे र उहाँलाई साह्रै रीस उठाए। आफूले खोपेर बनाएको अशेरा देवीको मूर्ति तिनले त्यस मन्दिरमा राखे, जसको विषयमा परमप्रभुले दाऊद र तिनका छोरा सोलोमनलाई भन्नुभएको थियो, “यस मन्दिरमा र मैले इस्राएलका सबै कुलहरूमध्ये चुनेको यरूशलेममा सदासर्वदा म मेरो नाउँ राख्नेछु। यदि तिनीहरूले मैले आज्ञा गरेका सबै कुरा गर्न होशियारी गरे र मेरो दास मोशाले तिनीहरूलाई दिएका सारा व्यवस्था पालन गरे भने, मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको देशबाट इस्राएलीहरूका खुट्टा फेरि यताउता घुमफिर गर्न म दिनेछैनँ।” तर मानिसहरूले ध्यानै दिएनन्। मनश्शेले तिनीहरूलाई बरालेर लगे, र इस्राएलको सामुन्ने परमप्रभुले सर्वनाश गर्नुभएका जाति-जातिहरूभन्दा पनि अझ बढ़ी खराब काम तिनीहरूले गरे। परमप्रभुले आफ्ना दास अगमवक्ताहरूद्वारा यसो भन्नुभयो: “यहूदाका राजा मनश्शेले यी घिनलाग्दा कामहरू गरेको छ। त्यसले आफ्ना अघि-अघिका एमोरीहरूले भन्दा ज्यादा घिनलाग्दा कामहरू गरेको छ, र आफ्ना मूर्तिहरूबाट यहूदालाई पाप गर्न लाएको छ। यसकारण परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: म यरूशलेम र यहूदामाथि यस्तो सर्वनाश ल्याउनेछु, कि सुन्ने हरेकका कानमा त्यसको गुञ्जन हुनेछ। सामरियाको विरुद्धमा प्रयोग गरेको टाँगोले र आहाबको घरानाको विरुद्धमा प्रयोग गरेको साहुलले म यरूशलेमलाई नाप्नेछु। जसरी मानिसले थाल माझेर घोप्ट्याइराख्छ, त्यसरी नै म यरूशलेमलाई माझ्नेछु। मेरो उत्तराधिकारमा बाँकी रहेको भागलाई म त्यागिदिनेछु, र तिनीहरूलाई आफ्नै शत्रुहरूका हातमा सुम्पिदिनेछु। तिनीहरूका सबै वैरीहरूद्वारा तिनीहरू लुटिनेछन् र जबरदस्तसाथ खोसिनेछन्, किनभने तिनीहरूले मेरो दृष्टिमा जे कुरो खराब थियो त्यही गरेका छन्, र मिश्रदेशबाट आएको दिनदेखि आजको दिनसम्म तिनीहरूका पिता-पुर्खाहरूले मलाई रीस उठाएका छन्। यसबाहेक मनश्शेले यति निर्दोषी रगत बगाए कि यरूशलेम एक कुनादेखि अर्को कुनासम्म भरिएको थियो। अनि तिनले यहूदालाई पाप गर्न लाएका थिए, र तिनीहरूले परमप्रभुको दृष्टिमा जे कुरो खराब छ, त्यही गरे। मनश्शेको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू, तिनले गरेका पापसमेत के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र? मनश्शे आफ्ना पित्रहरूसित सुते, र आफ्नै उज्जाको बगैँचामा गाड़िए। अनि तिनीपछि तिनका छोरा आमोन राजा भए। जब आमोन राजा भए तब तिनी बाईस वर्षका थिए, र तिनले यरूशलेममा दुई वर्ष राज्य गरे। तिनकी आमाको नाउँ हारूसकी छोरी मशुल्लेमेत थियो। तिनी योत्बाकी थिइन्। तिनका पिता मनश्शेले गरेझैँ तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे। तिनी आफ्ना पिताका सबै चालहरूमा हिँड़े, र तिनका पिताले पुजेका मूर्तिहरूको सामु घोप्टो परेर पूजा गरे। तिनले परमप्रभु आफ्ना पिता-पुर्खाहरूका परमेश्वरलाई त्यागे, र परमप्रभुको चालमा तिनी हिँडेनन्। आमोनका अधिकारीहरूले तिनको विरुद्धमा षड्यन्त्र रचे, र राजालाई तिनकै राजमहलमा हत्या गरे। तब देशका मानिसहरूले राजा आमोनको विरुद्धमा षड्यन्त्र गर्ने सबैलाई मारे, र तिनका छोरा योशियाहलाई तिनको सट्टामा राजा तुल्याए। आमोनको राजकालका अरू घटनाहरू र तिनले गरेका कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र? तिनी उज्जाको बगैँचामा भएको आफ्नै चिहानमा गाड़िए। अनि तिनीपछि तिनका छोरा योशियाह राजा भए।
२ राजाहरू 21:1-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
राजा हुँदा मनश्शे बाह्र वर्षका थिए। तिनले यरूशलेममा पचपन्न वर्ष राज्य गरे। तिनकी आमाको नाम हेप्सीबा थियो। याहवेहले इस्राएलीहरूको सामुबाट धपाइदिनुभएका जातिहरूका घिनलाग्दा रीतिहरूको पछि लागेर तिनले याहवेहको दृष्टिमा दुष्टता गरे। आफ्ना पिता हिजकियाले भत्काएका देवस्थानहरू तिनले फेरि बनाए। तिनले बाल देवताका निम्ति वेदीहरू पनि बनाए। इस्राएलका राजा आहाबले झैँ अशेरा देवीको खाँबो बनाए। तिनी सारा तारामण्डलको अगि निहुरे, र तिनीहरूलाई पुजे। तिनले “यरूशलेममा म आफ्नो नाम राख्नेछु” भन्नुहुने याहवेहको मन्दिरमा अरू देवी-देवताहरूका वेदीहरू बनाए। याहवेहको मन्दिरका दुवै चोकहरूमा तिनले सारा तारामण्डलका निम्ति वेदीहरू बनाए। तिनले आफ्नै छोरालाई आगोमा बलि गरे; तन्त्रमन्त्र र जोखना हेर्न लगाए, र भूतप्रेत खेलाउनेहरूसित सल्लाह लिए। तिनले याहवेहको दृष्टिमा धेरै दुष्टता गरेर उहाँलाई रिस उठाए। तिनले आफूले बनाएका अशेरा देवीको खाँबो लिएर त्यसलाई मन्दिरमा राखे, जसको विषयमा याहवेहले दावीद र तिनका छोरा सोलोमनलाई यसो भन्नुभएको थियो, “यस मन्दिरमा र मैले इस्राएलीहरूका सबै कुलहरूबाट चुनेको यरूशलेममा म सदाका निम्ति आफ्नो नाम राख्नेछु। यदि तिनीहरूले मैले तिनीहरूलाई आज्ञा गरेका प्रत्येक कुरा होसियारीसाथ पालन गरे, र मेरो सेवक मोशाले तिनीहरूलाई दिएका सम्पूर्ण व्यवस्था पालन गरे भने मैले तिनीहरूका पितापुर्खाहरूलाई दिएको यो देशबाट फेरि इस्राएलीहरूका पाउहरू यताउता घुमफिर गर्न म दिनेछैनँ।” तर मानिसहरूले मानेनन्। मनश्शेले तिनीहरूलाई बहकाइदिए। तिनीहरूले इस्राएलीहरूको सामु याहवेहले नाश गर्नुभएका जातिहरूले भन्दा बढी दुष्टता गरे। याहवेहले आफ्ना सेवक अगमवक्ताहरूद्वारा भन्नुभयो, “यहूदाका राजा मनश्शेले यस्ता घिनलाग्दा पाप गरेको छ। उसले आफूभन्दा अगिका एमोरीहरूलेभन्दा बढी दुष्टता गरेर आफ्ना मूर्तिहरूद्वारा यहूदालाई पापमा डोर्याएको छ। यसकारण याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: म यरूशलेम र यहूदामाथि यस्तो विपत्ति ल्याउनेछु, कि यसको बारेमा सुन्ने हरेकका कान झन्झनाउनेछन्। म यरूशलेममाथि सामरियाको विरुद्धमा प्रयोग गरिएको नाप्ने टाँगो र आहाबको घरानाको विरुद्धमा प्रयोग गरिएको साहुल तेर्साउनेछु। यरूशलेमलाई कसैले थाल माझेर घोप्टाएझैँ म त्यसलाई उल्टो पारिदिनेछु। आफ्नै अधिकारको बाँकी रहेको भागलाई त्यागिदिनेछु, र तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनेछु। तिनीहरू आफ्ना सबै शत्रुहरूद्वारा लुटिनेछन् र लुटका सामानसरह हुनेछन्। तिनीहरूका पितापुर्खाहरू इजिप्टबाट निस्किआएको दिनदेखि आजसम्म नै तिनीहरूले मेरो दृष्टिमा जे दुष्टता छ, त्यही गरेर मलाई रिस उठाएका छन्।” यसबाहेक मनश्शेले पनि यति धेरै निर्दोष रगत बगाए कि तिनले यरूशलेमलाई एक कुनादेखि अर्को कुनासम्म रगतले भरिदिए। यहूदालाई पाप गर्न लगाए र तिनीहरूले याहवेहको दृष्टिमा दुष्टता गरे। मनश्शेको शासनका अरू घटनाहरू र तिनले गरेका सबै काम र तिनले गरेका पापहरूको विषयमा, के ती यहूदाका राजाहरूका इतिहासका पुस्तकमा लेखिएका छैनन् र? मनश्शे आफ्ना पुर्खाहरूसित विश्राममा गए। अनि आफ्नो महलको बगैँचामा अर्थात् उज्जाको बगैँचामा गाडिए। तिनीपछि तिनका छोरा आमोन राजा भए। राजा हुँदा आमोन बाइस वर्षका थिए। तिनले यरूशलेममा दुई वर्ष राज्य गरे। तिनकी आमाको नाम मशुल्लेमेत थियो, जो हारूसकी छोरी थिइन्। तिनी योत्बाकी थिइन्। तिनले आफ्ना पिता मनश्शेले गरेझैँ याहवेहको दृष्टिमा दुष्टता गरे। तिनी आफ्ना पिताका पूरा चालहरूमा हिँडे; अनि आफ्ना पिताले पुजेका मूर्तिहरू पुजे, र तिनीहरूका सामु निहुरिए। तिनले याहवेह आफ्ना पितापुर्खाहरूका परमेश्वरलाई त्यागे, र याहवेहको मार्गमा हिँडेनन्। आमोनका अधिकृतहरूले तिनको विरुद्धमा षड्यन्त्र गरेर राजालाई तिनकै महलमा हत्या गरे। तब देशका मानिसहरूले आमोनलाई मार्ने सबैलाई मारे; अनि तिनीहरूले तिनका छोरा योशियाहलाई तिनको सट्टामा राजा बनाए। आमोनको शासनका अरू घटनाहरू र तिनले गरेका कामहरूको विषयमा, के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र? तिनी उज्जाको बगैँचामा आफ्नो चिहानमा गाडिए। तिनीपछि तिनका छोरा योशियाह राजा भए।
२ राजाहरू 21:1-26 पवित्र बाइबल (NERV)
मनश्शे बाह्र बर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा 55 बर्ष शासन गरे। उनको आमाको नाउँ हेप्सीबा थियो। मनश्शेले ती कामहरू गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। मनश्शेले अरू मानिसहरूले गरे जस्तै डरलाग्दा कामहरू गरे। (अनि परमप्रभुले ती राष्ट्रहरूलाई आफ्ना देश छोड्नु वाध्य गराउनुभयो जब इस्राएलीहरू आए।) मनश्शेले अग्लाठाउँहरू फेरि बनाए जसलाई उनका पिताले भत्काएका थिए। मनश्शेले बालका लागि वेदीहरू पनि बनाए अनि अशेरा खाँबो निर्माण गरे जसरी इस्राएलका राजाले गरेका थिए। मनश्शेले आकाशका ताराहरूको पूजा गरे अनि सेवा गरे। मनश्शेले परमप्रभुको मन्दिरमा असत्य देवताहरूको पूजा गर्न वेदीहरू बनाए। (यो त्यही ठाउँ हो जसको बारेमा परमप्रभु बोल्नु हुन्थ्यो जब उहाँले भन्नुभयो, “म मेरो नाउँ यरूशलेममा राख्नेछु।”) मनश्शेले परमप्रभुको मन्दिरको दुइवटा आँगनमा अकाशका ताराहरूका लागि वेदीहरू बनाए। मनश्शेले आफ्नो छोराको बलि दिए अनि यसलाई वेदीमाथि जलाए। मनश्शेले भविष्य जान्नकालागि धेरै तरीकाहरू प्रयोग गरे। उनले भूत-प्रेत र पिशाचहरूसँग समर्पक राख्ने मानिसहरू अनि तंत्र-मंत्रगर्नेहरूलाई भेटे। मनश्शेले ति कामहरू बढिभन्दा बढी गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। यसले परमप्रभुलाई रीस उठायो। मनश्शेले अश्तारोत देवीको मूर्ति बनाए। उनले मूर्तिलाई मन्दिरमा स्थापित गरे। परमप्रभुले दाऊद दाऊदका छोरा सुलेमानलाई यस मन्दिरको विषयमा भन्नुभएको थियो, “इस्राएलका सबै शहरहरूमध्ये मैले यरूशलेमलाई चुनेको थिएँ। म यरूशलेमको मन्दिरमा आफ्नो नाउँ सदाका लागि राख्नेछु। म इस्राएलका मानिसहरूलाई कहिल्यै पनि भूमि छोड्न वाध्य गराउने छैन जुन मैले उनका पिता-पुर्खाहरूलाई दिएको थिएँ। म मानिसहरूलाई तिनीहरूको आफ्नो देशमा बस्न दिनेछु यदि तिनीहरू मैले दिएको आदेशहरू पालन गर्छन् र मेरो सेवक मोशाले दिएको शिक्षा पालन गर्छन्।” तर मानिसहरूले परमेश्वरको कुरा सुनेनन्। मनश्शेले इस्राएली आउन अघि कनानमा बस्ने सबै राष्ट्रहरूले गरेको भन्दा बढी दुष्कर्म गरे। अनि परमप्रभुले ती राष्ट्रहरूलाई खत्तम पार्नुभयो जब इस्राएलका मानिसहरू त्यो भूमिमा आए। परमप्रभुले यी कुराहरू भन्नको लागि आफ्ना सेवक अगमवक्ताहरूलाई प्रयोग गर्नुभयोः “यहूदाका राजा मनश्शेले उनी अघिका एमोरीहरूले भन्दा बढी घृणित र दुष्कर्म गरे। मनश्शेले देवी देवताका मूर्तिहरूले गर्दा यहूदालाई पनि पाप गर्न लगाए। यसर्थ इस्राएलका परमप्रभु भन्नुहुन्छ सुन, ‘म यरूशलेम र यहूदामा धेरै सङ्कट ल्याउनेछु जसले यस विषयमा सुन्नेहरू छक्क पर्नेछ। म सामरियाको नाप्ने सीमा रेखा र आहाबको परिवारलाई नाप्ने साहुल यरूशलेमसम्म फिजाउनेछु। एउटा मानिसले थाल माझ्छ र यसलाई घोप्टाउँछ। त्यतै म यरूशलेमलाई गरिदिनेछु। तर म मेरो बाँकी मनिसहरूलाई छोड्नेछु। म तिनीहरूलाई तिनीहरूका शत्रुद्वारा पराजित गराउँने छु। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई बन्दी बनाउनेछन्। तिनीहरू सैनिकहरूले युद्धको बेलामा पाउने बहुमूल्य चीजहरू जस्तै हुनेछन्। म यस्तो गर्नेछु किनभने मेरा मानिसहरूले मैले गल्ती हो भनेको काम गरे। तिनीहरूले मलाई रीस उठाउने काम मिश्रबाट तिनीहरूका पिता-पुर्खाहरू निस्केको दिनदेखि गरेका छन्। अनि मनश्शेले धेरै निर्दोष मानिसहरूलाई मारे। उनले यरूशलेममा एक छेऊदेखि अर्को छेउसम्म रगतले भरे अनि ती सबै पाप कामहरूको अतिरिक्त छन् जसले यहूदालाई पाप काम गर्न लगाए। मनश्शेले यहूदालाई ती कामहरू गर्न लगाए जसलाई परमप्रभुले नराम्रो भन्नु भएको थियो।’” सबै कामहरू जो मनश्शेले गरे जसमा उनले गरेको पाप कामहरू पनि छ जसको विषयमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। मनश्शेको मृत्यु भयो अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। मनश्शेलेलाई उनको महलको बगैंचामा गाडियो। यसलाई, “उज्जाको बगैंचा” भनिन्थ्यो। मनश्शेका छोरा आमोन उनीपछि नयाँ राजा भए। आमोन 22 बर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा दुइ बर्ष शासन गरे। उनको आमाको नाउँ मशूलेमेत थियो जो योत्बाका हारूसकी छोरी थिइन्। आमोनले आफ्ना पिता मनश्शे जस्तै ती कामहरू गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। आमोनले आफ्ना पिता जस्तै जीवन यापन गरे। आमोनले ती देवमूर्तीहरूको पूजा र सेवा गरे जसलाई उनका पिताले गरेका थिए। आमोनले आफ्ना पुर्खाहरूका परमप्रभु, परमेश्वरलाई त्यागे अनि परमप्रभुले चाहे जस्तो जीवन यापन गरेनन्। आमोनका सेवकहरूले उनको विरोधमा षड्यन्त्र गरे अनि उनको आफ्नो महलमा नै उनको हत्या गरे। साधारण मानिसहरूले ती सबै अधिकारीहरूको हत्या गरे जसले राजा आमोनको विरोधमा षड्यन्त्र गरेका थिए। त्यसपछि मानिसहरूले आमोनका छोरा योशियाहलाई उनीपछि नयाँ राजा बनाए। आमोनले गरेको अरू कामहरूको विषयमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। आमोनलाई उज्जाका बगैंचामा उनको चिहानमा गाडियो। आमोनका छोरा योशियाह नयाँ राजा भए।
२ राजाहरू 21:1-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मनश्शे यहूदाका राजा हुँदा बाह्र वर्षका थिए र उनले यरूशलेममा पचपन्न वर्ष राज्य गरे। उनकी आमा हेप्सीबा थिइन्। आफ्ना प्रजा अघि बढेर आउँदा जुन-जुन जातिलाई परमप्रभुले धपाउनुभएको थियो, तिनीहरूकै घिनलाग्दा चालहरू सिकेर मनश्शेले परमप्रभुको विरुद्धमा पाप गरे। उनले आफ्ना बुबा हिजकियाले नाश पारेका मूर्तिपूजकहरूका पूजा-स्थलहरू फेरि बनाइदिए। इस्राएलका राजा आहाबले झैँ उनले बाल-देवताको पूजा गर्ने वेदीहरू, अशेरा देवीको एउटा मूर्ति बनाए। मनश्शेले पनि ताराहरूको पूजा गर्थे। परमप्रभुले यस ठाउँमा मेरो आराधना गरिनुपर्छ भन्नुभएको मन्दिरमा पनि उनले मूर्तिपूजा गर्ने वेदीहरू बनाए। मन्दिरका दुई चोकमा उनले ताराहरू पुज्ने वेदीहरू बनाए। उनले आफ्नै छोरोलाई होमबलि चढाए। तिनले जोखना हेराउँथे, जादूगरी चलाउँथे र ज्योतिषी र मरेका आत्मा खेलाउनेहरूको सल्लाह लिन्थे। उनले परमप्रभुको विरुद्धमा अति धेरै पाप गरे र उहाँको क्रोध दन्काए। उनले अशेरा देवीको खम्बा मन्दिरमा राखे, जुन मन्दिरबारे परमप्रभुले दाऊद र उनको छोरो सोलोमनलाई यसो भन्नुभएको थियो, “यहाँ यरूशलेमको यस मन्दिरमा त्यो स्थान छ, जुन मैले इस्राएलका बाह्रै कुलका जम्मै भूभागबाट मेरो आराधना गरिनलाई आराधना-स्थल छानेको छु। अनि इस्राएलका मानिसहरूले मेरा सबै आज्ञाहरू पालन गरे र मेरो सेवक मोशाले दिएका सम्पूर्ण नियमहरू माने भने म तिनीहरूका पिता-पुर्खालाई दिएको देशबाट तिनीहरूलाई धपाइन दिनेछैनँ।” तर यहूदाका मानिसहरूले परमप्रभुको आज्ञा मानेनन् र मनश्शेले तिनीहरूलाई ठूल्ठूला पापहरू गर्न लाए। तिनीहरूका पाप परमप्रभुले जुन-जुन जातिलाई आफ्ना प्रजा अघि बढेर आएका बेलामा त्यस देशबाट धपाउनुभएको थियो, ती जातिहरूले गरेका पापभन्दा ठूला थिए। परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरूद्वारा भन्नुभयो, “मनश्शे राजाले यी घिनलाग्दा कुराहरूले कनानीहरूले गरेको भन्दा धेरै खराब पाप गरेको छ र आफूले बनाएका मूर्तिहरूद्वारा यहूदाका मानिसहरूलाई पाप गर्न लाएको छ। यसकारण म परमप्रभु इस्राएलका परमेश्वरले यस्तो विपत्ति यरूशलेम र यहूदामाथि ल्याउनेछु कि त्यसको बारेमा सुन्ने हरेक व्यक्तिको कानमा गुञ्जिरहनेछ। सामरिया, इस्राएलका राजा आहाब र उनका सन्तानलाई झैँ म यरूशलेमलाई दण्ड दिनेछु। जसरी एउटा थाल सफा गरी घोप्ट्याएर राखिन्छ, त्यसरी नै म यरूशलेमलाई सफा गरिदिनेछु। नमरी बाँच्नेहरूलाई म त्याग्नेछु र उनीहरूका शत्रुहरूका हातमा दिनेछु। शत्रुहरूले उनीहरूमाथि विजय गर्नेछन् र उनीहरूको देश लुट्नेछन्। आफ्ना पिता-पुर्खाहरू मिश्रबाट निस्केर आएदेखि आजसम्म नै मेरो प्रजाले मेरो विरुद्धमा पाप गरेको र मेरो क्रोध जगाएको हुनाले म उनीहरूलाई त्यसो गर्नेछु।” मनश्शेले यति धरै निर्दोष मानिसहरूलाई मारे कि यरूशलेमका बाटामा रगतका खोला बग्थे। यहूदाका मानिसहरूलाई उनले परमेश्वरको विरुद्धमा मूर्तिपूजा गरी पाप गर्न त लाए नै, त्यसमाथि उनले यसरी रगतका खोला पनि बगाएका थिए। मनश्शेले गरेका अरू सबै कुरा, उनले गरेका पाप कर्महरू पनि यहूदाका राजाको इतिहासमा लेखिएको छ। मनश्शे मरे र राजाहरूको बगैँचामा गाडिए, जसलाई उज्जाको बगैँचा भनिन्थ्यो र त्यसपछि उनका छोरा आमोन राजा भए। आमोन यहूदाका राजा हुँदा बाईस वर्षका थिए र उनले यरूशलेममा दुई वर्ष राज्य गरे। उनकी आमा योत्बा सहरका हारूसकी छोरी मशुल्लेमेत थिइन्। आफ्ना बुबा मनश्शेले झैँ उनले परमप्रभुको विरुद्धमा पाप गरे। उनी आफ्ना बुबाको चालमा चले र बुबाले पुजेका मूर्तिहरू उनले पनि पुजे। आफ्ना पुर्खाका परमेश्वरलाई उनले इन्कार गरे र उहाँका आज्ञाहरू पालन गरेनन्। आमोनका भारदारहरूले उनको विरुद्धमा षडयन्त्र रचे र उनलाई राजमहलमा हत्या गरे। यहूदाका मानिसहरूले उनको हत्याराहरूलाई मारे र उनका छोरा योशियाहलाई राजा बनाए। आमोनले गरेका अरू सबै काम यहूदाका राजाको इतिहासमा लेखिएको छ। आमोन उज्जाको बगैँचाको चिहानमा गाडिए र उनका छोरा योशियाह राजा भए।