२ राजाहरू 21
21
यहूदाका राजा मनश्शे
1जब मनश्शे राजा भए तब तिनी बाह्र वर्षका थिए, र तिनले यरूशलेममा पचपन्न वर्ष राज्य गरे। तिनकी आमाको नाउँ हेप्सीबा थियो। #२ इति ३३:१-२० 2इस्राएलीहरूका सामुन्नेबाट परमप्रभुले धपाउनुभएका जाति-जातिहरूका घिनलाग्दा चालहरूमा हिँड़ेर तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे। #यर १५:४ 3तिनका पिता हिजकियाले सर्वनाश गरेका अल्गा-अल्गा ठाउँहरू तिनले फेरि निर्माण गरे। इस्राएलका राजा आहाबले गरेझैँ तिनले बालको निम्ति वेदीहरू खड़ा गरे, र अशेराको एउटा खम्बा पनि बनाए। तिनले आकाशका सारा तारामण्डललाई घोप्टो परेर दण्डवत् गरे। 4तिनले परमप्रभुको मन्दिरमा वेदीहरू बनाए, जुन मन्दिरको विषयमा परमप्रभुले भन्नुभएको थियो, “यरूशलेममा नै म मेरो नाउँ राख्नेछु।” #२ शमू ७:१३ 5परमप्रभुको मन्दिरका दुवै चोकमा तिनले आकाशका तारामण्डलको निम्ति वेदीहरू बनाए। 6तिनले आफ्नै छोरालाई आगोमा होम गरे, टुनामुना गरे, र जोखना हेरे, र भूतप्रेत र पिशाचहरू खेलाए। तिनले परमप्रभुको दृष्टिमा साह्रै खराबी गरे र उहाँलाई साह्रै रीस उठाए।
7आफूले खोपेर बनाएको अशेरा देवीको मूर्ति तिनले त्यस मन्दिरमा राखे, जसको विषयमा परमप्रभुले दाऊद र तिनका छोरा सोलोमनलाई भन्नुभएको थियो, “यस मन्दिरमा र मैले इस्राएलका सबै कुलहरूमध्ये चुनेको यरूशलेममा सदासर्वदा म मेरो नाउँ राख्नेछु। #१ राज ९:३-५; २ इति ७:१२-१८ 8यदि तिनीहरूले मैले आज्ञा गरेका सबै कुरा गर्न होशियारी गरे र मेरो दास मोशाले तिनीहरूलाई दिएका सारा व्यवस्था पालन गरे भने, मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको देशबाट इस्राएलीहरूका खुट्टा फेरि यताउता घुमफिर गर्न म दिनेछैनँ।” 9तर मानिसहरूले ध्यानै दिएनन्। मनश्शेले तिनीहरूलाई बरालेर लगे, र इस्राएलको सामुन्ने परमप्रभुले सर्वनाश गर्नुभएका जाति-जातिहरूभन्दा पनि अझ बढ़ी खराब काम तिनीहरूले गरे।
10परमप्रभुले आफ्ना दास अगमवक्ताहरूद्वारा यसो भन्नुभयो: 11“यहूदाका राजा मनश्शेले यी घिनलाग्दा कामहरू गरेको छ। त्यसले आफ्ना अघि-अघिका एमोरीहरूले भन्दा ज्यादा घिनलाग्दा कामहरू गरेको छ, र आफ्ना मूर्तिहरूबाट यहूदालाई पाप गर्न लाएको छ। 12यसकारण परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: म यरूशलेम र यहूदामाथि यस्तो सर्वनाश ल्याउनेछु, कि सुन्ने हरेकका कानमा त्यसको गुञ्जन हुनेछ। 13सामरियाको विरुद्धमा प्रयोग गरेको टाँगोले र आहाबको घरानाको विरुद्धमा प्रयोग गरेको साहुलले म यरूशलेमलाई नाप्नेछु। जसरी मानिसले थाल माझेर घोप्ट्याइराख्छ, त्यसरी नै म यरूशलेमलाई माझ्नेछु। 14मेरो उत्तराधिकारमा बाँकी रहेको भागलाई म त्यागिदिनेछु, र तिनीहरूलाई आफ्नै शत्रुहरूका हातमा सुम्पिदिनेछु। तिनीहरूका सबै वैरीहरूद्वारा तिनीहरू लुटिनेछन् र जबरदस्तसाथ खोसिनेछन्, 15किनभने तिनीहरूले मेरो दृष्टिमा जे कुरो खराब थियो त्यही गरेका छन्, र मिश्रदेशबाट आएको दिनदेखि आजको दिनसम्म तिनीहरूका पिता-पुर्खाहरूले मलाई रीस उठाएका छन्।
16यसबाहेक मनश्शेले यति निर्दोषी रगत बगाए कि यरूशलेम एक कुनादेखि अर्को कुनासम्म भरिएको थियो। अनि तिनले यहूदालाई पाप गर्न लाएका थिए, र तिनीहरूले परमप्रभुको दृष्टिमा जे कुरो खराब छ, त्यही गरे।
17मनश्शेको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू, तिनले गरेका पापसमेत के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र? 18मनश्शे आफ्ना पित्रहरूसित सुते, र आफ्नै उज्जाको बगैँचामा गाड़िए। अनि तिनीपछि तिनका छोरा आमोन राजा भए।
यहूदाका राजा आमोन
19जब आमोन राजा भए तब तिनी बाईस वर्षका थिए, र तिनले यरूशलेममा दुई वर्ष राज्य गरे। तिनकी आमाको नाउँ हारूसकी छोरी मशुल्लेमेत थियो। तिनी योत्बाकी थिइन्। #२ इति ३३:२१-२५ 20तिनका पिता मनश्शेले गरेझैँ तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे। 21तिनी आफ्ना पिताका सबै चालहरूमा हिँड़े, र तिनका पिताले पुजेका मूर्तिहरूको सामु घोप्टो परेर पूजा गरे। 22तिनले परमप्रभु आफ्ना पिता-पुर्खाहरूका परमेश्वरलाई त्यागे, र परमप्रभुको चालमा तिनी हिँडेनन्।
23आमोनका अधिकारीहरूले तिनको विरुद्धमा षड्यन्त्र रचे, र राजालाई तिनकै राजमहलमा हत्या गरे। 24तब देशका मानिसहरूले राजा आमोनको विरुद्धमा षड्यन्त्र गर्ने सबैलाई मारे, र तिनका छोरा योशियाहलाई तिनको सट्टामा राजा तुल्याए।
25आमोनको राजकालका अरू घटनाहरू र तिनले गरेका कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र? 26तिनी उज्जाको बगैँचामा भएको आफ्नै चिहानमा गाड़िए। अनि तिनीपछि तिनका छोरा योशियाह राजा भए।
अहिले सेलेक्ट गरिएको:
२ राजाहरू 21: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012