YouVersion लोगो
खोज आइकन

राजाहरूको दोस्रो पुस्तक 21

21
मनश्शे यहूदामा कुशासन शुरू गर्छन्
1मनश्शे बाह्र बर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा 55 बर्ष शासन गरे। उनको आमाको नाउँ हेप्सीबा थियो।
2मनश्शेले ती कामहरू गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। मनश्शेले अरू मानिसहरूले गरे जस्तै डरलाग्दा कामहरू गरे। (अनि परमप्रभुले ती राष्ट्रहरूलाई आफ्ना देश छोड्नु वाध्य गराउनुभयो जब इस्राएलीहरू आए।) 3मनश्शेले अग्लाठाउँहरू फेरि बनाए जसलाई उनका पिताले भत्काएका थिए। मनश्शेले बालका लागि वेदीहरू पनि बनाए अनि अशेरा खाँबो निर्माण गरे जसरी इस्राएलका राजाले गरेका थिए। मनश्शेले आकाशका ताराहरूको पूजा गरे अनि सेवा गरे। 4मनश्शेले परमप्रभुको मन्दिरमा असत्य देवताहरूको पूजा गर्न वेदीहरू बनाए। (यो त्यही ठाउँ हो जसको बारेमा परमप्रभु बोल्नु हुन्थ्यो जब उहाँले भन्नुभयो, “म मेरो नाउँ यरूशलेममा राख्नेछु।”) 5मनश्शेले परमप्रभुको मन्दिरको दुइवटा आँगनमा अकाशका ताराहरूका लागि वेदीहरू बनाए। 6मनश्शेले आफ्नो छोराको बलि दिए अनि यसलाई वेदीमाथि जलाए। मनश्शेले भविष्य जान्नकालागि धेरै तरीकाहरू प्रयोग गरे। उनले भूत-प्रेत र पिशाचहरूसँग समर्पक राख्ने मानिसहरू अनि तंत्र-मंत्रगर्नेहरूलाई भेटे।
मनश्शेले ति कामहरू बढिभन्दा बढी गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। यसले परमप्रभुलाई रीस उठायो। 7मनश्शेले अश्तारोत देवीको मूर्ति बनाए। उनले मूर्तिलाई मन्दिरमा स्थापित गरे। परमप्रभुले दाऊद दाऊदका छोरा सुलेमानलाई यस मन्दिरको विषयमा भन्नुभएको थियो, “इस्राएलका सबै शहरहरूमध्ये मैले यरूशलेमलाई चुनेको थिएँ। म यरूशलेमको मन्दिरमा आफ्नो नाउँ सदाका लागि राख्नेछु। 8म इस्राएलका मानिसहरूलाई कहिल्यै पनि भूमि छोड्न वाध्य गराउने छैन जुन मैले उनका पिता-पुर्खाहरूलाई दिएको थिएँ। म मानिसहरूलाई तिनीहरूको आफ्नो देशमा बस्न दिनेछु यदि तिनीहरू मैले दिएको आदेशहरू पालन गर्छन् र मेरो सेवक मोशाले दिएको शिक्षा पालन गर्छन्।” 9तर मानिसहरूले परमेश्वरको कुरा सुनेनन्। मनश्शेले इस्राएली आउन अघि कनानमा बस्ने सबै राष्ट्रहरूले गरेको भन्दा बढी दुष्कर्म गरे। अनि परमप्रभुले ती राष्ट्रहरूलाई खत्तम पार्नुभयो जब इस्राएलका मानिसहरू त्यो भूमिमा आए।
10परमप्रभुले यी कुराहरू भन्नको लागि आफ्ना सेवक अगमवक्ताहरूलाई प्रयोग गर्नुभयोः 11“यहूदाका राजा मनश्शेले उनी अघिका एमोरीहरूले भन्दा बढी घृणित र दुष्कर्म गरे। मनश्शेले देवी देवताका मूर्तिहरूले गर्दा यहूदालाई पनि पाप गर्न लगाए। 12यसर्थ इस्राएलका परमप्रभु भन्नुहुन्छ सुन, ‘म यरूशलेम र यहूदामा धेरै सङ्कट ल्याउनेछु जसले यस विषयमा सुन्नेहरू छक्क पर्नेछ। 13म सामरियाको नाप्ने सीमा रेखा र आहाबको परिवारलाई नाप्ने साहुल यरूशलेमसम्म फिजाउनेछु। एउटा मानिसले थाल माझ्छ र यसलाई घोप्टाउँछ। त्यतै म यरूशलेमलाई गरिदिनेछु। 14तर म मेरो बाँकी मनिसहरूलाई छोड्नेछु। म तिनीहरूलाई तिनीहरूका शत्रुद्वारा पराजित गराउँने छु। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई बन्दी बनाउनेछन्। तिनीहरू सैनिकहरूले युद्धको बेलामा पाउने बहुमूल्य चीजहरू जस्तै हुनेछन्। 15म यस्तो गर्नेछु किनभने मेरा मानिसहरूले मैले गल्ती हो भनेको काम गरे। तिनीहरूले मलाई रीस उठाउने काम मिश्रबाट तिनीहरूका पिता-पुर्खाहरू निस्केको दिनदेखि गरेका छन्। 16अनि मनश्शेले धेरै निर्दोष मानिसहरूलाई मारे। उनले यरूशलेममा एक छेऊदेखि अर्को छेउसम्म रगतले भरे अनि ती सबै पाप कामहरूको अतिरिक्त छन् जसले यहूदालाई पाप काम गर्न लगाए। मनश्शेले यहूदालाई ती कामहरू गर्न लगाए जसलाई परमप्रभुले नराम्रो भन्नु भएको थियो।’”
17सबै कामहरू जो मनश्शेले गरे जसमा उनले गरेको पाप कामहरू पनि छ जसको विषयमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। 18मनश्शेको मृत्यु भयो अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। मनश्शेलेलाई उनको महलको बगैंचामा गाडियो। यसलाई, “उज्जाको बगैंचा” भनिन्थ्यो। मनश्शेका छोरा आमोन उनीपछि नयाँ राजा भए।
आमोनको छोटो शासन
19आमोन 22 बर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा दुइ बर्ष शासन गरे। उनको आमाको नाउँ मशूलेमेत थियो जो योत्बाका हारूसकी छोरी थिइन्।
20आमोनले आफ्ना पिता मनश्शे जस्तै ती कामहरू गरे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। 21आमोनले आफ्ना पिता जस्तै जीवन यापन गरे। आमोनले ती देवमूर्तीहरूको पूजा र सेवा गरे जसलाई उनका पिताले गरेका थिए। 22आमोनले आफ्ना पुर्खाहरूका परमप्रभु, परमेश्वरलाई त्यागे अनि परमप्रभुले चाहे जस्तो जीवन यापन गरेनन्।
23आमोनका सेवकहरूले उनको विरोधमा षड्यन्त्र गरे अनि उनको आफ्नो महलमा नै उनको हत्या गरे। 24साधारण मानिसहरूले ती सबै अधिकारीहरूको हत्या गरे जसले राजा आमोनको विरोधमा षड्यन्त्र गरेका थिए। त्यसपछि मानिसहरूले आमोनका छोरा योशियाहलाई उनीपछि नयाँ राजा बनाए।
25आमोनले गरेको अरू कामहरूको विषयमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। 26आमोनलाई उज्जाका बगैंचामा उनको चिहानमा गाडियो। आमोनका छोरा योशियाह नयाँ राजा भए।

अहिले सेलेक्ट गरिएको:

राजाहरूको दोस्रो पुस्तक 21: NERV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्