YouVersion लोगो
खोज आइकन

२ इतिहास 5:11-14

२ इतिहास 5:11-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

पूजाहारीहरू पवित्रस्‍थानबाट बाहिर निस्‍केर आए। त्‍यहाँ हाजिर भएका सबै पूजाहारीहरूले आ-आफ्‍नो दलअनुसार नगरीकनै आफैलाई पवित्र गरेका थिए। सबै लेवी गायकहरू, अर्थात्‌ आसाप, हेमान र यदूतून, तिनीहरूका छोराहरू र कुटुम्‍बहरूसमेत मलमलका कपड़ा लगाएर झ्‍याली, वीणा र सारङ्गीहरू लिएर वेदीको पूर्वपट्टि उभिए। अनि तिनीहरूका साथमा एक सय बीस जना पूजाहारीहरू पनि थिए। तिनीहरूले चाहिँ तुरही बजाए। तुरही बजाउनेहरू र गीत गाउनेहरूले परमप्रभुको प्रशंसा र धन्‍यवादको निम्‍ति एक सोर गरी आवाज निकाले। अनि तुरही, झ्‍याली र अरू बाजाहरूसित परमप्रभुको प्रशंसा गर्नलाई तिनीहरूले यसो भनेर गीतको आवाज निकाले: “उहाँ असल हुनुहुन्‍छ, किनकि उहाँको प्रेम सदासर्वदै रहिरहन्‍छ।” तब परमप्रभुको मन्‍दिर बादलले भरियो, अनि बादलले गर्दा पूजाहारीहरूले सेवा गर्न सकेनन्, किनकि परमेश्‍वरको मन्‍दिर परमप्रभुको महिमाले भरिएको थियो।

शेयर गर्नुहोस्
२ इतिहास 5 पढ्नुहोस्

२ इतिहास 5:11-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यसपछि ती पुजारीहरू पवित्रस्थानबाट पछि हटे। आफ्ना दलहरूको वास्तै नगरी त्यहाँ भएका सबै पुजारीहरूले आफूलाई पवित्र तुल्याएका थिए। सबै लेवी सङ्गीतकारहरू—आसाप, हेमान, यदूतून र तिनीहरूका छोराहरू र आफन्तहरू—मसिनो सुतीका कपडा लगाएर झ्याली, वीणा र सारङ्गीहरू बजाउँदै वेदीको पूर्वतिर खडा थिए। तिनीहरूसित तुरही फुकिरहेका एक सय बीस जना पुजारीहरू थिए। तुरही फुक्नेहरू र गीत गाउनेहरूले याहवेहलाई प्रशंसा र धन्यवाद चढाउन एकसाथ एउटै सोर निकालिरहेका थिए। तिनीहरूले तुरही, झ्याली र अरू बजाउने बाजाहरूसित याहवेहको प्रशंसामा आफ्ना सोर उचालेर यसरी गीत गाए: “उहाँ भलो हुनुहुन्छ; उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।” तब याहवेहको मन्दिर बादलले भरियो; अनि बादलको कारण पुजारीहरूले आफ्ना सेवा गर्न सकेनन्; किनकि परमेश्‍वरको मन्दिर याहवेहको महिमाले भरियो।

शेयर गर्नुहोस्
२ इतिहास 5 पढ्नुहोस्

२ इतिहास 5:11-14 पवित्र बाइबल (NERV)

त्यहाँ भएका सबै पूजाहारीहरूले स्वयंलाई पवित्र तुल्याउने रीति सम्पन्न गरे। तब, पूजाहारीहरू पवित्र स्थानको बाहिर आए, तिनीहरू एकै साथ उभिए, तर तिनीहरूको विशेष समूहमा होइन। लेवी गायकहरू वेदीका पूर्वतर्फ उभीए। आसाप, हेमान अनि यदूतूनका सबै गायक समूहहरू त्यहाँ थिए। तिनीहरूका छोरा अनि आफन्तहरू पनि त्यहाँ थिए। ती लेवी गायकहरू सेतो मलमलका पोशाकमा थिए। तिनीहरू सित झ्याम्टा, वीणा र सारङ्गीहरू थिए। त्यहाँ 120 पूजाहारीहरू ती लेवी गायकहरू साथ थिए। ती 120 पूजाहारीहरूले तुरही बजाए। मानिसहरू कसैले तुरही बजाए कसैले गाए ती एक व्यक्ति जस्तै थिए। तिनीहरूले एउटै ध्वनिमा बजाए जब तिनीहरूले परमप्रभुको स्तुति गरे अनि धन्यवाद ज्ञापन गरे। तिनीहरूले तुरही, झ्याम्टा अनि वाद्य-यन्त्रबाट ठूलो आवाज निकाले। तिनीहरूले यसो भन्दै परमप्रभुको स्तुति गरे, “परमप्रभुको स्तुति गर, किनभने उहाँ असल हुनुहुन्छ। उहाँको सत्य प्रेम सदा-सर्वदा रहि रहन्छ।” तब परमप्रभुको मन्दिर बादलले भरियो। पूजाहारीहरूले सेवा कार्य चलाइ राख्न सकेनन् किनभने यो मन्दिर परमप्रभुको महिमाले बादलको रूपमा भरिएको थियो।

शेयर गर्नुहोस्
२ इतिहास 5 पढ्नुहोस्

२ इतिहास 5:11-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

जुनसुकै दलका भए पनि त्‍यहाँ हाजिर भएका सबै पूजाहारीहरू, आसाप, हेमान, यदूतून र उनका गोत्रका मानिसहरूले मिहिन सुतीका कपडा पहिरिएका थिए। लेवीहरू वेदीको पूर्वमा झ्‍याली र वीणाहरू लिएर खडा थिए। तिनीहरूसित तुरही बजाउने एक सय बीस जना पूजाहारी थिए। गीत गाउनेहरूलाई खुबै सुर र ताल मिलाएर तुरही, झ्‍याली र अरू बाजाहरूले साथ दिइरहेका थिए। गीत गाउँदै तिनीहरूले परमप्रभुको यसरी प्रशंसा गरे: “परमप्रभुको प्रशंसा गर किनभने उहाँ भला हुनुहुन्‍छ र उहाँको प्रेम सदासर्वदा रहिरहन्छ।” परमप्रभुका आँखा तिरमिराउने गरी चम्‍कने महिमाले गर्दा चहकिलो बादलले अचानक मन्‍दिर भरियो र तिनीहरूले आराधना कार्य गरिरहन सकेनन्।

शेयर गर्नुहोस्
२ इतिहास 5 पढ्नुहोस्