१ यूहन्ना 3:1-10
१ यूहन्ना 3:1-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हेर, पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभएको छ, कि हामी परमेश्वरका सन्तान भनी कहलिएकाहरू हौं, र साँच्चै हौं पनि। यसैकारणले त संसारले हामीलाई चिन्दैन, किनभने त्यसले उहाँलाई चिनेन। प्रिय हो, अहिले हामी परमेश्वरका सन्तान हौं, र हामी के होऔंला, सो अहिलेसम्म प्रकट भएको छैन। यति जान्दछौं, कि जब उहाँ प्रकट हुनुहुन्छ, तब हामी उहाँजस्तै हुनेछौं। किनकि उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्नेछौं। अनि जस्तो उहाँ पवित्र हुनुहुन्छ, उहाँमाथि यो आशा राख्ने हरेक मानिसले आफूलाई पवित्र पार्छ। पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्दछ। पाप नै व्यवस्था भङ्ग हो। पाप हरण गर्नलाई नै उहाँ प्रकट हुनुभएको हो भन्ने कुरा तिमीहरू जान्दछौ। र उहाँमा कुनै पाप छैन। उहाँमा रहने कसैले पाप गरिरहँदैन। पाप गरिरहने कसैले उहाँलाई न देखेको छ न त चिनेको नै छ। साना बालकहरू, कुनै मानिसले तिमीहरूलाई छल्न नपाओस्। जो धार्मिकतामा चल्छ, ऊ धर्मी हो, जस्तो उहाँ धर्मी हुनुहुन्छ। जसले पाप गर्छ त्यो दियाबलसको हो। किनकि दियाबलसले त सुरुदेखि नै पाप गर्दैआएको छ। दियाबलसका कामहरू नष्ट पार्नलाई नै परमेश्वरका पुत्र प्रकट हुनुभएको हो। परमेश्वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन, किनकि उहाँको स्वभाव त्यसमा रहन्छ, र त्यसले पाप गरिरहन सक्दैन, किनभने त्यो परमेश्वरबाट जन्मेको हो। परमेश्वरको सन्तान को हो र दियाबलसको सन्तान को हो, यसैबाट प्रष्ट हुन्छ— जो धार्मिकतामा चल्दैन ऊ परमेश्वरको सन्तान होइन, र त्यो व्यक्ति पनि होइन, जसले आफ्नो दाजुभाइलाई प्रेम गर्दैन।
१ यूहन्ना 3:1-10 नेपाली समकालीन संस्करण (NCV)
हेर, पिताले हामीलाई कति महान् प्रेम प्रदान गर्नुभएको छ, कि हामी परमेश्वरका सन्तान कहलिएका छौं; अनि हामी त्यही हौं पनि! संसारले उहाँलाई नचिनेको कारण यसले हामीलाई पनि चिन्दैन। प्रिय मित्रहरूहो, अहिले हामी परमेश्वरका सन्तान हौं, र हामी के हुनेछौं, त्यो अहिलेसम्म प्रकट गरिएको छैन; तर हामी यो जान्दछौं, ख्रीष्ट प्रकट हुनुहुँदा हामी उहाँजस्तै हुनेछौं; किनकि उहाँजस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै नै देख्नेछौं। यो आशा उहाँमाथि राख्ने सबैले आफूलाई शुद्ध राख्छन्, जस्तो उहाँ शुद्ध हुनुहुन्छ। पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्दछ; वास्तवमा पाप नै अधर्म हो। तर तिमीहरू जान्दछौ, हाम्रा पाप हरण गर्नलाई नै उहाँ प्रकट हुनुभएको हो। अनि उहाँमा कुनै पाप छैन। उहाँमा रहने कसैले पनि पाप गरिरहँदैन। पाप गरिरहने कसैले पनि उहाँलाई नदेखेको छ, न ता चिनेको छ। हे प्यारा साना नानीहरूहो, कुनै पनि मानिसले तिमीहरूलाई बहकाउन नपाओस्। जसले ठीक काम गर्छ त्यो धार्मिक हो, जस्तो उहाँ धार्मिक हुनुहुन्छ। जसले पापमय काम गर्दछ, त्यो शैतानको हो; किनकि शैतानले सुरुदेखि नै पाप गर्दै आइरहेको छ। परमेश्वरका पुत्र प्रकट हुनुभएको कारण नै शैतानका कामहरू नष्ट पार्नलाई हो। परमेश्वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन; किनकि परमेश्वरको बीज त्यसमा रहन्छ, त्यसले पाप गरिरहन सक्दैन; किनकि ऊ परमेश्वरबाट जन्मिएको हो। परमेश्वरको सन्तान को हो र, शैतानको सन्तान को हो भन्ने कुरा हामीले यसैबाट जान्दछौं: जे ठीक छ त्यो काम नगर्ने कुनै पनि व्यक्ति र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम नगर्ने व्यक्ति परमेश्वरको सन्तान होइन।
१ यूहन्ना 3:1-10 पवित्र बाइबल (NERV)
हामीलाई पिताले यति विघ्न प्रेम गर्नु भएको छ कि हामी परमेश्वरको बालकहरू भनिनु योग्यका छौं। अनि वास्तवमा हामी परमेश्वरका बालकहरू हौं। तर संसारका मानिसहरू यो बुझ्दैनन् कि हामीहरू परमेश्वरका बालकहरू हौं, किनभने तिनीहरूले उहाँलाई चिनेका छैनन्। प्रिय मित्रहरू, अब हामी परमेश्वरका बालकहरू हौं। हामीलाई अझ यो देखाइएको छैन कि भविष्यमा हामी के हुनेछौं। हामी जान्दछौ कि जति बेला ख्रीष्ट आउँनु हुन्छ हामी उहाँ जस्तै हुनेछौं किनभने हामी उहाँको वास्तविक रुप देख्नेछौं। ख्रीष्ट पवित्र हुनुहुन्छ। अनि हरेक व्यक्ति, जसको ख्रीष्टमा आशा छ, स्वयंलाई ख्रीष्ट जस्तै पवित्र राख्नेछन्। जब एक व्यक्तिले पाप गर्छ, उसले परमेश्वरको नियम भङ्ग गर्छ। हो, पाप गर्नु परमेश्वरको नियम विरुद्ध बाँचेको जस्तै हो। तिमीले जान्दछौ कि ख्रीष्ट मानिसहरूको पापहरू हटाउन आउनु भएको हो। ख्रीष्टमा पाप छैन। यसर्थ जो मानिस ख्रीष्टको विश्वासमा बस्छ उसले पाप गरिरहँदैन। यदि कुनै व्यक्तिले पाप गरिरहन्छ भने उसले कहिल्यै पनि वास्तविक रुपले ख्रीष्टलाई देखेको हुँदैन अनि कहिले पनि ख्रीष्टलाई जानेको छैन। प्यारा बालकहरू, कुनै व्यक्तिले पनि तिमीहरूलाई छल्न नपाओस्। ख्रीष्ट धार्मिक हुनुहुन्छ ख्रीष्ट जस्तो बन्नका निम्ति एक व्यक्तिले जो सही छ त्यो अनुशरण गर्नुपर्छ। शुरुदेखि नै शैतानले पाप गरिरहेछ। त्यो जसले पाप गरिरहन्छ त्यो शैतानको मानिस हो। परमेश्वरका पुत्र आउनको कारण शैतानको कामहरू नष्ट गर्नु हो। जब परमेश्वरका एक व्यक्तिलाई उनको बालक बनाउनु हुन्छ, तब त्यस व्यक्तिले पाप गरिरहँदैन। किनभने परमेश्वरले प्रदान गर्नु भएको नयाँ जीवन उसमा रहेको हुन्छ। यसर्थ त्यो मानिस पाप गरिरहन सक्तैन। किनभने उ परमेश्वरको बालक बनेको हुन्छ। यसरी हामी चिन्न सक्छौं कि परमेश्वरका बालकहरू को हुन्। हामी यो पनि जान्न सक्छौ कि शैतानका बालकहरू को हुन्। मानिसहरू जसले जे उचित छ त्यो गर्दैन, तिनीहरू परमेश्वरका बालकहरू होइनन्। अनि मानिस जसले आफ्ना भाइलाई प्रेम गर्दैन उ परमेश्वरको बालक होइन।
१ यूहन्ना 3:1-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अहो, हामीलाई पिताले कति धेरै प्रेम गर्नुभएको छ! उहाँको प्रेमको कारणले हामी परमेश्वरका सन्तान भनिएका हौं अनि साँच्चै हौं पनि। संसारले परमेश्वरलाई नचिनेकोले हामीलाई पनि चिन्दैन। प्यारा मित्र हो, अहिलेचाहिँ हामी परमेश्वरका सन्तान नै हौं। तर पछि हामी के हुने हौं, हामीलाई थाहा दिइएको छैन। तर ख्रीष्ट आउनुभएपछि हामी पनि उहाँजस्तै हुनेछौं किनभने उहाँ जस्तो हुनुहुन्छ, हामीले त्यस्तै नै उहाँलाई देख्नेछौं। ख्रीष्टमा यस्तो आशा राख्नेहरूले आफूलाई ख्रीष्टलाई जस्तै चोखो पारेर राख्छन्। पाप गरिरहनेहरूलाई व्यवस्था नमानेको दोष लाग्छ किनभने व्यवस्था नमान्नु पाप हो। तिमीहरूलाई थाहा छ कि मान्छेको पाप हटाउन ख्रीष्ट प्रकट हुनुभयो र उहाँमा पापै छैन। यसकारण ख्रीष्टमा रहिरहने मानिसले पाप गरिरहँदैन। पाप गरिरहनेले न त उहाँलाई देखेको हुन्छ न त चिनेकै हुन्छ। प्यारा बालक हो, कसैले तिमीहरूलाई भर्माउन नपाओस्! ठीक काम गर्ने मान्छे नै ख्रीष्टजस्तै ठीक ठहरिन्छ। पाप गरिरहनेचाहिँ शैतानको मानिस हो। शैतानले सुरुदेखि नै पाप गर्दैआएको छ। यसकारण शैतानको कामलाई नाश पार्न परमेश्वरका पुत्र प्रकट हुनुभएको छ। परमेश्वरको बालकले पाप गरिरहँदैन किनभने उसमा परमेश्वरकै स्वभाव परेको हुन्छ। उसले पाप गरिरहनै सक्दैन किनभने परमेश्वर नै उसका पिता हुनुहुन्छ। परमेश्वरका सन्तान र शैतानका सन्तानलाई यसरी नै चिन्न सकिन्छ कि परमेश्वरको अघि ठीक काम नगर्ने र आफ्ना दाजुभाइलाई माया नगर्नेचाहिँ परमेश्वरको सन्तान होइन।