1 यूहन्ना 3
3
1हेर, पिताले हामीलाई कति महान् प्रेम प्रदान गर्नुभएको छ, कि हामी परमेश्वरका सन्तान कहलिएका छौं; अनि हामी त्यही हौं पनि! संसारले उहाँलाई नचिनेको कारण यसले हामीलाई पनि चिन्दैन। 2प्रिय मित्रहरूहो, अहिले हामी परमेश्वरका सन्तान हौं, र हामी के हुनेछौं, त्यो अहिलेसम्म प्रकट गरिएको छैन; तर हामी यो जान्दछौं, ख्रीष्ट प्रकट हुनुहुँदा हामी उहाँजस्तै हुनेछौं; किनकि उहाँजस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै नै देख्नेछौं। 3यो आशा उहाँमाथि राख्ने सबैले आफूलाई शुद्ध राख्छन्, जस्तो उहाँ शुद्ध हुनुहुन्छ।
4पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्दछ; वास्तवमा पाप नै अधर्म हो। 5तर तिमीहरू जान्दछौ, हाम्रा पाप हरण गर्नलाई नै उहाँ प्रकट हुनुभएको हो। अनि उहाँमा कुनै पाप छैन। 6उहाँमा रहने कसैले पनि पाप गरिरहँदैन। पाप गरिरहने कसैले पनि उहाँलाई नदेखेको छ, न ता चिनेको छ।
7हे प्यारा साना नानीहरूहो, कुनै पनि मानिसले तिमीहरूलाई बहकाउन नपाओस्। जसले ठीक काम गर्छ त्यो धार्मिक हो, जस्तो उहाँ धार्मिक हुनुहुन्छ। 8जसले पापमय काम गर्दछ, त्यो शैतानको हो; किनकि शैतानले सुरुदेखि नै पाप गर्दै आइरहेको छ। परमेश्वरका पुत्र प्रकट हुनुभएको कारण नै शैतानका कामहरू नष्ट पार्नलाई हो। 9परमेश्वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन; किनकि परमेश्वरको बीज#3:9 बीज यसको अर्थ वचन हो त्यसमा रहन्छ, त्यसले पाप गरिरहन सक्दैन; किनकि ऊ परमेश्वरबाट जन्मिएको हो। 10परमेश्वरको सन्तान को हो र, शैतानको सन्तान को हो भन्ने कुरा हामीले यसैबाट जान्दछौं: जे ठीक छ त्यो काम नगर्ने कुनै पनि व्यक्ति र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम नगर्ने व्यक्ति परमेश्वरको सन्तान होइन।
एक-अर्कामा प्रेम
11तिमीहरूले सुरुदेखि नै सुनेको सन्देश यही हो; हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ। 12कयिनजस्तो नहोओ, जो दुष्टको थियो, र आफ्नै भाइलाई त्यसले हत्या गर्यो। त्यसले आफ्नो भाइलाई किन मार्यो? किनकि त्यसका आफ्ना कामहरू दुष्ट थिए, तर त्यसको भाइका चाहिँ कामहरू धार्मिक थिए। 13त्यसैले हे मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने अचम्म नमान। 14हामी जान्दछौं, हामी ता मृत्युबाट जीवनमा सरिसकेका छौं; किनकि हामी आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्छौं। जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहिरहन्छ। 15हरेक जसले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई घृणा गर्छ, त्यो हत्यारा हो; र कुनै पनि हत्यारासँग अनन्त जीवन हुँदैन भन्ने तिमीहरू जान्दछौ।
16प्रेम के हो भन्ने कुरा हामी यसैबाट थाहा पाउँछौं; येशू ख्रीष्टले हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो। अनि हामीले पनि आफ्ना दाजुभाइ-दिदीबहिनीहरूका निम्ति आफ्नो प्राण अर्पण गर्नुपर्छ। 17यदि कसैसँग भौतिक धनसम्पत्ति छ, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई खाँचोमा परेको देख्छ; तर पनि त्यसप्रति दया देखाउँदैन भने त्यसले कसरी परमेश्वरको प्रेम त्यससँग रहेको दाबी गर्न सक्छ र? 18प्यारा साना नानीहरूहो, हामीले वचन र जिब्रोले मात्र होइन, तर कामद्वारा र सत्यतामा प्रेम गरौं।
19त्यसकारण यसैबाट नै हामी सत्यका हौं भनी जान्दछौं, र यसरी हामी उहाँको उपस्थितिमा निर्धक्क भएर खडा हुन सक्छौं। 20जब हाम्रो हृदयले हामीलाई दोष दिन्छ भने याद राख, परमेश्वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सबै कुरा जान्नुहुन्छ। 21प्रिय मित्रहरूहो, यदि हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने परमेश्वरको सामुन्ने हामीलाई साहस हुन्छ, 22अनि हामीले जे माग्दछौं, सो उहाँबाट पाउँछौं; किनकि हामी उहाँका आज्ञाहरू पालन गर्दछौं, र जुन कुराले उहाँलाई प्रसन्न तुल्याउँछ, त्यही गर्दछौं। 23अनि उहाँको आज्ञा यही हो—उहाँका पुत्र येशू ख्रीष्टको नाउँमा विश्वास गर्नुपर्छ, र उहाँले हामीलाई आज्ञा दिनुभएअनुसार एक-अर्कालाई प्रेम गर्नुपर्छ। 24जसले उहाँका आज्ञाहरू पालन गर्छन्, तिनीहरू उहाँमा रहन्छन्, र उहाँ तिनीहरूमा। उहाँ हामीमा रहनुहुन्छ भन्ने कुरा उहाँले हामीलाई दिनुभएको पवित्र आत्माद्वारा हामी जान्दछौं।
अहिले सेलेक्ट गरिएको:
1 यूहन्ना 3: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.