१ कोरिन्थी 4:6-21
१ कोरिन्थी 4:6-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भाइ हो, मैले आफ्नो र अपोल्लोसको उदाहरण दिएर, तिमीहरूका भलाइको निम्ति यी सब कुरा लेखेको छु, ताकि हामीबाट पवित्र धर्मशास्त्रअनुसार तिमीहरू जिउन सिक, र तिमीहरूमध्ये कोही पनि एक अर्काको विरुद्धमा घमण्डले नफुल। किनभने अरूहरूभन्दा तिमीहरू कुन कुरामा फरक छौ? तिमीहरूसित के छ, जो तिमीहरूले पाएका होइनौ? अनि तिमीहरूले त्यो पाएका छौ भने त्योचाहिँ वरदान होइनजस्तै गरी किन तिमीहरू घमण्डले फुल्दछौ? तिमीहरू तृप्त भइसकेका छौ। तिमीहरू धनी भइसकेका छौ। हामीविना नै तिमीहरू राजा भएका छौ। तिमीहरूले साँच्चै राज्य गरेका भए हुन्थ्यो, ताकि हामी पनि तिमीहरूसँगै राज्य गर्न सकौं! किनभने मलाई यस्तो लाग्दछ परमेश्वरले हामी प्रेरितहरूलाई मृत्युदण्ड पाएकाहरूलाई जस्तै सबैभन्दा पछि प्रदर्शनमा राख्नुभएकोछ। किनकि संसार, स्वर्गदूतहरू र मानिसहरूका निम्ति हामी तमाशा भएका छौं। हामी ख्रीष्टको खातिर मूर्ख छौं, तर तिमीहरू त ख्रीष्टमा बुद्धिमान् छौ। हामी दुर्बल छौं, तर तिमीहरू बलिया छौ। तिमीहरूको आदर छ, तर हाम्रोचाहिँ अनादर। यस घड़ीसम्म हामी भोका र प्यासा छौं, नाङ्गा छौं, कुटाइ खाँदैछौं र घरविहीन छौं। आफ्नै हातले काम गरेर हामी मेहनत गर्छौं। अपमानित हुँदा हामी आशीर्वाद दिन्छौं। सताइँदा हामी सहन्छौं। हाम्रो बदनाम हुँदा प्रेमपूर्वक जवाफ दिन्छौं। अहिलेसम्म हामी संसारका फोहोर र पृथ्वीका कसिङ्गर बनेका छौं। तिमीहरूलाई शर्ममा पार्नलाई यी कुरा मैले लेखेको होइनँ, तर मेरा प्यारा बालकहरूलाई जस्तै अर्ती दिनलाई हो। किनकि ख्रीष्टमा तिमीहरूका दश हजार शिक्षकहरू भए पनि तिमीहरूका धेरै पिता त छैनन्। किनकि सुसमाचारद्वारा ख्रीष्ट येशूमा म तिमीहरूका पिता बनें। यसकारण तिमीहरू मेरा अनुसरण गर्नेहरू होओ भनी म तिमीहरूलाई आग्रह गर्दछु। यसैले तिमीहरूकहाँ तिमोथीलाई पठाउँदैछु। तिनी प्रभुमा मेरा प्यारा र विश्वासी छोरा हुन्। मैले सबै ठाउँमा सारा मण्डलीमा सिकाएबमोजिम ख्रीष्टमा मेरो जीवन कस्तो छ, सो तिनले तिमीहरूलाई सम्झना गराउनेछन्। म तिमीहरूकहाँ नआउने भन्ठानेर कति जना अहङ्कारी भएका छन्। तर प्रभुको इच्छा भयो भने म तिमीहरूकहाँ चाँड़ै आउनेछु, र ती अहङ्कारी मानिसहरूको कुरा होइन, तर तिनीहरूको शक्तिचाहिँ के रहेछ त्यसको पत्ता लाउनेछु। किनकि परमेश्वरको राज्य कुरामा होइन, तर शक्तिमा हुन्छ। तिमीहरू के इच्छा गर्छौ? म तिमीहरूकहाँ छड़ी लिएर आऊँ, कि नम्रताको आत्मामा प्रेमसाथ?
१ कोरिन्थी 4:6-21 नेपाली समकालीन संस्करण (NCV)
अब दाजुभाइ-दिदीबहिनीहरूहो, मैले तिमीहरूका भलाइको लागि यी कुराहरू आफू र अपोल्लोसलाई उदाहरणको रूपमा प्रयोग गरेको छु, ताकि हामीबाट तिमीहरूले भनाइको अर्थ सिक्न सक, “लेखिएको कुराभन्दा टाढा नजाओ।” तब तिमीहरू एउटाको विरुद्धमा अर्कोको अनुयायी भनी घमण्डले नफुल। कसले तिमीलाई अरूभन्दा श्रेष्ठ तुल्यायो? तिमीसँग परमेश्वरले नदिनुभएको के छ र? र यदि तिमीलाई सबै थोक परमेश्वरले दिनुभएको हो भने केही नपाएको जस्तो गरी किन घमण्ड गर्दछौ? तिमीहरूले चाहेका कुराहरू अघि नै पाइसकेका छौ! तिमीहरू धनी भइसकेका छौ! हामीविना नै तिमीहरू राजा भएका छौ। म तिमीहरू साँच्चै राजा भएर काम गरेको चाहन्छु, ताकि हामी पनि तिमीहरूसँगै राज्य गर्न सकौं! किनकि मलाई यस्तो लाग्छ कि परमेश्वरले हामी प्रेरितहरूलाई मैदानमा दोष लगाएर मारिनलाई लगिएको मानिसहरूका ताँतीमा जस्तै पछिल्तिर प्रदर्शनको लागि राख्नुभएको छ। हामी सारा संसारका, स्वर्गदूतहरूका र मानव जातिहरूका अगाडि तमाशा बनाइएका छौं। हामी ख्रीष्टका निम्ति मूर्ख छौं, तर तिमीहरू ख्रीष्टमा बुद्धिमान् छौ। हामी दुर्बल छौं, तर तिमीहरू बलवान् छौ। तिमीहरूले सम्मान पाएका छौ, तर हामीले अपमान। अहिले पनि हामी भोकाएका र तिर्खाएका छौं, हामी झुत्रे-झाम्रे छौं, हामीलाई क्रूरतासाथ व्यवहार गरिन्छ र हामी घरविहीन छौ। हामी आफ्नै हातले कठोर परिश्रम गर्छौं। जब हामीलाई गिल्ला गरिन्छ, हामी आशिष दिन्छौं; जब हामीलाई सताइन्छ, हामी सहन्छौं। जब हामी निन्दित हुन्छौं, नम्रतापूर्वक जवाफ दिन्छौं। अहिले पनि हामी संसारका कसिङ्गर र फोहोर भएका छौं। मैले यी कुराहरू तिमीहरूलाई शर्ममा पार्नलाई होइनँ, तर मेरा प्यारा सन्तानहरूलाईझैं चेतावनी दिनलाई लेख्दैछु। ख्रीष्टमा तिमीहरूका दश हजार अभिभावकहरू हुन सक्लान्, तिमीहरूका धेरै पिताहरू हुँदैनन्, किनकि ख्रीष्ट येशूमा सुसमाचारद्वारा म तिमीहरूका पिता भएको छु। यसकारण म तिमीहरूलाई मेरो अनुकरण गर भनी विन्ती गर्दछु। यसैकारण मैले मेरो छोरो तिमोथी, जसलाई म प्रेम गर्छु, जो प्रभुमा विश्वासयोग्य छ, उसलाई तिमीहरूकहाँ पठाएको छु। उसले तिमीहरूलाई ख्रीष्ट येशूमा मेरो जीवन जिउने तरिका सम्झना गराउनेछ, जुनचाहिँ सबै ठाउँहरूका सबै मण्डलीहरूमा मैले सिकाएबमोजिम छ। म तिमीहरूकहाँ आउँदिनँ जस्तो ठानेर तिमीहरूमध्ये कतिजना घमण्डी भएका छौ। तर यदि प्रभुको इच्छा भयो भने म चाँडै आउनेछु र यी घमण्डी मानिसहरूले के भनिरहेका छन् भन्ने मात्र होइन, तर तिनीहरूसँग कस्तो शक्ति छ त्यो पनि म पत्तो लगाउनेछु। किनकि परमेश्वरको राज्य कुरा गराइमा होइन, तर शक्तिमा हुन्छ। तिमीहरू के चाहन्छौ? के म तिमीहरूकहाँ अनुशासनको छडी लिएर आऊँ, वा प्रेममा र नम्रताको आत्मासाथ आऊँ?
१ कोरिन्थी 4:6-21 पवित्र बाइबल (NERV)
दाज्यू-भाइ, दिदी-बहिनीहरू! मैले अपोल्लोस र आफैंलाई पनि तिमीहरूका अधि उदाहरणको रूपमा देखाँए। मैले यसो गरें किनभने यसबाट तिमीहरूले यसको अर्थ के हो बुझ्न सक्नेछौ। “लेखिएकोबाट बाहिर नजाऊ।” तब तिमीहरूले एकलाई सुविस्ता र अर्कोको तिस्कार गर्ने छैनौ। तिमीहरू अरू भन्दा असल छौ भनेर कसले भन्छ? तिमीहरूसित के छ जो तिमीहरूलाई दिइएको होइन? यसैले जब तिमीहरूसित भएको हरेक थोक तिमीहरूलाई दिइएको हो भने ती आफ्नो शक्तिले अर्जेको जस्तो त्यसकोलागि किन घमण्ड गर्दछौ? तिमीहरू सम्झन्छौ तिमीहरूलाई जे चाहिन्छ तिमीहरू सम्पन्न छौ अनि हामी बिनै तिमीहरू राजा भएका छौ। म आशा गर्छु तिमीहरू साँच्चै राजाहरू हुन्थ्यौ। तर मलाई यस्तो लाग्छ परमेश्वरले मलाई र अरू प्रेरितहरूलाई सबै भन्दा पछि पार्नु भएको छ। मरूभूमिमा मृत्यु दण्ड दिनुलाई निश्चित गरिएको मानिस झैं हामी छौं। सारा संसार स्वर्गदूतहरू र मानिसहरूकालागी हामीले तमाशा जस्तो बनाइएका छौं। ख्रीष्टका निम्ति हामी मूर्ख हौं। तर तिमीहरू चाँहि सम्झन्छौ तिमीहरू ख्रीष्टका निम्ति खुबै बुद्धिमानी छौ। हामी कमजोर छौं, तर तिमीहरू सम्झन्छौ तिमीहरू बलिया छौ। मानिसहरू तिमीहरूलाई आदर गर्छन्, तर हामीलाई अनादर गर्छन। अहिले पनि हामीले प्रशस्त खान र पिउन पाएका छैनौं अनि हाम्रा लुगा-फाटा पनि प्रशस्त छैन। हामी कहिले-काहीं कुटाई समेत खाँदछौं। हाम्रो घर छैन। जिउनको लागि हामी आफ्नै हातले कठोर परिश्रम गर्दछौं। मानिसहरू हामीलाई सराप्छन् तर हामी तिनीहरूलाई आशीर्वाद दिन्छौं। मानिसहरू हाम्रो खेदो गर्छन् तर हामी सहन्छौं। मानिसहरू हाम्रो बारे निन्दा गर्छन् तर हामी उनीहरू सँग मित्र भावले बोल्छौ। अहिलेसम्म मानिसहरू हामीलाई संसारको कसिङ्गर र धर्तीको मैला जस्तो सम्झन्छन्। तिमीहरूलाई शर्ममा पार्नलाई यी कुरा मैले लेखेको होइन। तर तिमीहरूलाई आफ्नै प्यारो बालकहरू जस्तो सम्झी सम्झाउनुलाई म यी कुराहरू लेख्दैछु। ख्रीष्टमा तिम्रो दस हजार शिक्षकहरू हुन सक्लान् तर तिम्रो धेरै पिताहरू हुँदैनन्। सुसमाचारद्वारा ख्रीष्ट येशूमा म तिमीहरूका पिता भएँ। यसैले तिमीहरू पनि म जस्तै होऊ भनि बिन्ती गर्छु। यसकारण म तिमोथीलाई तिमी भएकोमा पठाउँदैछु। परमप्रभुमा उनी मेरा पुत्र हुन्। म तिमोथीलाई माया गर्छु, उनी विश्वासनीय छन्। म ख्रीष्ट येशूमा कुन प्रकारले रहेकोछु त्यो उनले तिमीहरूलाई सम्झाउनेछन्। यही जीवन मार्ग म सबै ठाउँहरूका मण्डलीहरूलाई सिकाँउछु। तिमीहरूमध्ये कति जना घमण्ड गरिरहेका होलान् किनभने तिनीहरू सम्झन्छन् कि म फेरि तिमीहरू भएकोमा आउँदिन। तर म चाँहि सबै तिमीहरूकहाँ चाँडै आउनेछु। परमप्रभुले चाहनु भए म अवश्यै आउनेछु। तब म केवल हेर्दिन कि यी घमण्डीहरू के भन्न सक्दो रहेछन् तर म यो हेर्छु कि तिनीहरू के गर्न सक्दो रहेछन्। किनकि परमेश्वरको राज्य कुरामा व्यक्त गरिदैन, तर शक्तिमा छ। तिमीहरू कुन चाँहि चाहन्छौ: म तिमीहरूकहाँ डन्डा लिएर आउनु अथवा प्रेम र नम्रता लिएर आउनु?
१ कोरिन्थी 4:6-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
भाइहरू हो, तिमीहरूका लागि नै मैले अपोल्लोस र आफ्नै नमुना दिएर बुझाएको हुँ। ठीकठीक नियम पालन गर्नुपर्छ भनेको तिमीहरूले बुझ। एक जनाको पक्ष लिएर अर्कोलाई हेला गर्ने काम ठीक होइन। कसले तिमीलाई अरूभन्दा ठूलो बनायो? के तिमीसँग भएका कुरा परमेश्वरले नै दिनुभएको होइन र? त्यसो भए किन तिमी कसैले दिएकै होइनजस्तै गरी घमण्ड गर्छौ? चाहिए जति सबै तिमीहरूले पाएका छौ रे? तिमीहरू धनी भएका छौ रे? हामी नभए पनि के तिमीहरू राजा भयौ? साँच्चै तिमीहरू राजा नै भएको राम्रो हुन्थ्यो अनि तिमीहरू राजा हुँदा हामी पनि राजा हुन सक्नेथियौं किनभने मलाई यस्तो लाग्छ, हामी प्रेरितहरूलाई चाहिँ परमेश्वरले सबैभन्दा तल्लो ठाउँमा राख्नुभएको छ। परमेश्वरले नै हामीलाई संसार, स्वर्गदूत र मानिसका अघि ज्यान सजाय पाउने मानिसहरूलाई झैँ तमाशा बनाउनुभयो। ख्रीष्टको लागि हामीहरू मूर्ख भएका छौं, तर तिमीहरूचाहिँ ख्रीष्टमा रहेर ज्ञानी छौ। हामी बल नभएका छौं, तिमीहरू बलिया छौ। हाम्रो घृणा हुन्छ, तिमीहरूको मान-मनितो। अहिले पनि हामीहरू खान-पिउन नपाएर भोकभोकै हिंड्छौं, झुत्रे-झाम्रे लुगा लगाएका छौं, हामी कुटिएका छौं, हाम्रो घरबार छैन अनि खान-लाउन हामीले आफ्नै हातले मेहनत गर्छौं। अरूले सराप्दा हामी आशीर्वाद दिन्छौं। सताउँदा सहन्छौं। हाम्रो बेइज्जती हुँदा हामी मीठै बोली गर्छौं। हामी संसारको फोहर नै भएका छौं र अहिले पनि मैला फाल्ने कसिङ्गरजस्तै छौं। तिमीहरूलाई लाजमा पार्न होइन, आफ्नै प्यारा बालकहरूलाई झैँ तिमीहरूलाई सल्लाह दिन यो लेख्दछु किनभने ख्रीष्टमा तिमीहरूका हजारौं हेर-विचार गर्ने भए पनि बुबा त धेरै हुँदैनन्। सुसमाचार सुनाएर येशू ख्रीष्टलाई चिनाउने म तिमीहरूका बुबा भएको छु। त्यसैकारण मबाट सिक भनी बिन्ती गर्छु। यसैकारणले म तिमीहरूकहाँ ख्रीष्टमा मेरो प्यारो विश्वासी छोरा तिमोथीलाई पठाउँदै छु। मैले सबै ठाउँमा र हरेक ख्रीष्टिय मण्डलीमा सिकाएअनुसार ख्रीष्ट येशूबाट पाएको नयाँ जीवनमा मेरो जीवनको रहनसहन कस्तो छ, उनले तिमीहरूलाई बताउनेछन्। तिमीहरूमा कोहीकोहीचाहिँ म त्यहाँ आउँदिनँ भन्ने सम्झी ठूलो भएर हिंड्छौ। परमेश्वरको इच्छा भयो भने म तिमीहरूकहाँ चाँडै आउनेछु र ठूलो भएर हिंड्नेहरूका कुरा होइन, तिनीहरूको शक्ति हेर्नेछु। परमेश्वरको राज्य बोलीमा होइन, शक्तिमा छ। तिमीहरू के चाहन्छौ? म छडी लिएर आऊँ कि नम्र आत्मा र प्रेम लिएर आऊँ?