YouVersion लोगो
खोज आइकन

१ कोरिन्थी 4:6-21

१ कोरिन्थी 4:6-21 NNRV

भाइ हो, मैले आफ्‍नो र अपोल्‍लोसको उदाहरण दिएर, तिमीहरूका भलाइको निम्‍ति यी सब कुरा लेखेको छु, ताकि हामीबाट पवित्र धर्मशास्‍त्रअनुसार तिमीहरू जिउन सिक, र तिमीहरूमध्‍ये कोही पनि एक अर्काको विरुद्धमा घमण्‍डले नफुल। किनभने अरूहरूभन्‍दा तिमीहरू कुन कुरामा फरक छौ? तिमीहरूसित के छ, जो तिमीहरूले पाएका होइनौ? अनि तिमीहरूले त्‍यो पाएका छौ भने त्‍योचाहिँ वरदान होइनजस्‍तै गरी किन तिमीहरू घमण्‍डले फुल्‍दछौ? तिमीहरू तृप्‍त भइसकेका छौ। तिमीहरू धनी भइसकेका छौ। हामीविना नै तिमीहरू राजा भएका छौ। तिमीहरूले साँच्‍चै राज्‍य गरेका भए हुन्‍थ्‍यो, ताकि हामी पनि तिमीहरूसँगै राज्‍य गर्न सकौं! किनभने मलाई यस्तो लाग्दछ परमेश्‍वरले हामी प्रेरितहरूलाई मृत्युदण्ड पाएकाहरूलाई जस्तै सबैभन्दा पछि प्रदर्शनमा राख्‍नुभएकोछ। किनकि संसार, स्‍वर्गदूतहरू र मानिसहरूका निम्‍ति हामी तमाशा भएका छौं।‍ हामी ख्रीष्‍टको खातिर मूर्ख छौं, तर तिमीहरू त ख्रीष्‍टमा बुद्धिमान्‌ छौ। हामी दुर्बल छौं, तर तिमीहरू बलिया छौ। तिमीहरूको आदर छ, तर हाम्रोचाहिँ अनादर। यस घड़ीसम्‍म हामी भोका र प्‍यासा छौं, नाङ्गा छौं, कुटाइ खाँदैछौं र घरविहीन छौं। आफ्‍नै हातले काम गरेर हामी मेहनत गर्छौं। अपमानित हुँदा हामी आशीर्वाद दिन्‍छौं। सताइँदा हामी सहन्‍छौं। हाम्रो बदनाम हुँदा प्रेमपूर्वक जवाफ दिन्‍छौं। अहिलेसम्‍म हामी संसारका फोहोर र पृथ्‍वीका कसिङ्गर बनेका छौं। तिमीहरूलाई शर्ममा पार्नलाई यी कुरा मैले लेखेको होइनँ, तर मेरा प्‍यारा बालकहरूलाई जस्‍तै अर्ती दिनलाई हो। किनकि ख्रीष्‍टमा तिमीहरूका दश हजार शिक्षकहरू भए पनि तिमीहरूका धेरै पिता त छैनन्‌। किनकि सुसमाचारद्वारा ख्रीष्‍ट येशूमा म तिमीहरूका पिता बनें। यसकारण तिमीहरू मेरा अनुसरण गर्नेहरू होओ भनी म तिमीहरूलाई आग्रह गर्दछु। यसैले तिमीहरूकहाँ तिमोथीलाई पठाउँदैछु। तिनी प्रभुमा मेरा प्‍यारा र विश्‍वासी छोरा हुन्‌। मैले सबै ठाउँमा सारा मण्‍डलीमा सिकाएबमोजिम ख्रीष्‍टमा मेरो जीवन कस्‍तो छ, सो तिनले तिमीहरूलाई सम्‍झना गराउनेछन्‌। म तिमीहरूकहाँ नआउने भन्‍ठानेर कति जना अहङ्कारी भएका छन्‌। तर प्रभुको इच्‍छा भयो भने म तिमीहरूकहाँ चाँड़ै आउनेछु, र ती अहङ्कारी मानिसहरूको कुरा होइन, तर तिनीहरूको शक्तिचाहिँ के रहेछ त्‍यसको पत्ता लाउनेछु। किनकि परमेश्‍वरको राज्‍य कुरामा होइन, तर शक्तिमा हुन्‍छ। तिमीहरू के इच्‍छा गर्छौ? म तिमीहरूकहाँ छड़ी लिएर आऊँ, कि नम्रताको आत्‍मामा प्रेमसाथ?