YouVersion लोगो
खोज आइकन

1 कोरिन्थी 4:6-21

1 कोरिन्थी 4:6-21 NCV

अब दाजुभाइ-दिदीबहिनीहरूहो, मैले तिमीहरूका भलाइको लागि यी कुराहरू आफू र अपोल्‍लोसलाई उदाहरणको रूपमा प्रयोग गरेको छु, ताकि हामीबाट तिमीहरूले भनाइको अर्थ सिक्न सक, “लेखिएको कुराभन्दा टाढा नजाओ।” तब तिमीहरू एउटाको विरुद्धमा अर्कोको अनुयायी भनी घमण्डले नफुल। कसले तिमीलाई अरूभन्दा श्रेष्‍ठ तुल्यायो? तिमीसँग परमेश्‍वरले नदिनुभएको के छ र? र यदि तिमीलाई सबै थोक परमेश्‍वरले दिनुभएको हो भने केही नपाएको जस्तो गरी किन घमण्ड गर्दछौ? तिमीहरूले चाहेका कुराहरू अघि नै पाइसकेका छौ! तिमीहरू धनी भइसकेका छौ! हामीविना नै तिमीहरू राजा भएका छौ। म तिमीहरू साँच्‍चै राजा भएर काम गरेको चाहन्छु, ताकि हामी पनि तिमीहरूसँगै राज्य गर्न सकौं! किनकि मलाई यस्तो लाग्छ कि परमेश्‍वरले हामी प्रेरितहरूलाई मैदानमा दोष लगाएर मारिनलाई लगिएको मानिसहरूका ताँतीमा जस्तै पछिल्तिर प्रदर्शनको लागि राख्नुभएको छ। हामी सारा संसारका, स्वर्गदूतहरूका र मानव जातिहरूका अगाडि तमाशा बनाइएका छौं। हामी ख्रीष्‍टका निम्ति मूर्ख छौं, तर तिमीहरू ख्रीष्‍टमा बुद्धिमान् छौ। हामी दुर्बल छौं, तर तिमीहरू बलवान् छौ। तिमीहरूले सम्मान पाएका छौ, तर हामीले अपमान। अहिले पनि हामी भोकाएका र तिर्खाएका छौं, हामी झुत्रे-झाम्रे छौं, हामीलाई क्रूरतासाथ व्यवहार गरिन्छ र हामी घरविहीन छौ। हामी आफ्नै हातले कठोर परिश्रम गर्छौं। जब हामीलाई गिल्‍ला गरिन्छ, हामी आशिष दिन्छौं; जब हामीलाई सताइन्छ, हामी सहन्छौं। जब हामी निन्दित हुन्छौं, नम्रतापूर्वक जवाफ दिन्छौं। अहिले पनि हामी संसारका कसिङ्गर र फोहोर भएका छौं। मैले यी कुराहरू तिमीहरूलाई शर्ममा पार्नलाई होइनँ, तर मेरा प्यारा सन्तानहरूलाईझैं चेतावनी दिनलाई लेख्दैछु। ख्रीष्‍टमा तिमीहरूका दश हजार अभिभावकहरू हुन सक्लान्, तिमीहरूका धेरै पिताहरू हुँदैनन्, किनकि ख्रीष्‍ट येशूमा सुसमाचारद्वारा म तिमीहरूका पिता भएको छु। यसकारण म तिमीहरूलाई मेरो अनुकरण गर भनी विन्ती गर्दछु। यसैकारण मैले मेरो छोरो तिमोथी, जसलाई म प्रेम गर्छु, जो प्रभुमा विश्‍वासयोग्य छ, उसलाई तिमीहरूकहाँ पठाएको छु। उसले तिमीहरूलाई ख्रीष्‍ट येशूमा मेरो जीवन जिउने तरिका सम्झना गराउनेछ, जुनचाहिँ सबै ठाउँहरूका सबै मण्डलीहरूमा मैले सिकाएबमोजिम छ। म तिमीहरूकहाँ आउँदिनँ जस्तो ठानेर तिमीहरूमध्ये कतिजना घमण्डी भएका छौ। तर यदि प्रभुको इच्छा भयो भने म चाँडै आउनेछु र यी घमण्डी मानिसहरूले के भनिरहेका छन् भन्‍ने मात्र होइन, तर तिनीहरूसँग कस्तो शक्‍ति छ त्यो पनि म पत्तो लगाउनेछु। किनकि परमेश्‍वरको राज्य कुरा गराइमा होइन, तर शक्‍तिमा हुन्छ। तिमीहरू के चाहन्छौ? के म तिमीहरूकहाँ अनुशासनको छडी लिएर आऊँ, वा प्रेममा र नम्रताको आत्मासाथ आऊँ?

1 कोरिन्थी 4 पढ्नुहोस्