सपन्याह 1
1
1आमोनका छोरा यहूदाका राजा योशियाहको शासनकालमा राजा हिजकियाका खनाति, अमर्याहका पनाति, गदल्याहका नाति, कूशीका छोरा सपन्याहकहाँ आएको याहवेहको वचन यही हो:
याहवेहको दिनमा सारा पृथ्वीको न्याय
2“म पृथ्वीको सतहबाट
सबै थोक नाश गर्नेछु,”
याहवेह घोषणा गर्नुहुन्छ।
3“म मानिस र पशुप्राणी दुवैलाई नाश गर्नेछु;
म आकाशका पक्षीहरू
र समुद्रका माछाहरूलाई नाश गर्नेछु।
दुष्टलाई ठेस लगाउने ती मूर्तिहरूलाई पनि नाश गर्नेछु।”#1:3 मूल भाषामा यो पङ्क्तिको अर्थ निश्चित छैन।
“अनि म सबै मानव-जातिलाई
पृथ्वीको सतहबाट मेटिदिनेछु,”
याहवेह घोषणा गर्नुहुन्छ।
4“म यहूदाको विरुद्धमा
र यरूशलेममा बास गर्ने सबै मानिसहरूका विरुद्धमा मेरो हात पसार्नेछु।
यस ठाउँमा बाल-देवताको पूजा गर्न बचेका हरेकलाई,
र त्यसका मूर्तिपूजक पुजारीहरूका नामनिशानै मेटिदिनेछु;
5तिनीहरूलाई, जसले आफ्ना घरका छानामाथि
आकाशका तारामण्डललाई दण्डवत् गर्दै पूजा गर्नेहरू,
दण्डवत् गर्ने र याहवेहको नाममा शपथ खानेहरू
र मोलेख#1:5 मोलेख जसको अर्को नाम हो मल्काम देवताको नाममा पनि शपथ खानेहरू,
6याहवेहबाट पछि फर्केर तर्किएर जानेहरू;
अनि याहवेहको खोजी नगर्नेहरू,
र उहाँको बारेमा सोधपुछ नगर्नेहरूलाई समेत म नाश गरिदिनेछु।”
7प्रभु याहवेहको सामु चुपचाप बस;
किनकि याहवेहको दिन नजिकै छ।
याहवेहले एउटा बलिदान तयार पार्नुभएको छ;
अनि उहाँले निमन्त्रणा गर्नुभएकाहरूलाई पवित्र पार्नुभएको छ।
8“याहवेहको बलिदानको दिन,
म अगुवाहरू
र राजाका छोराहरू;
अनि विदेशी कपडा लगाउनेहरू
सबैलाई दण्ड दिनेछु।
9त्यस दिन सँघारमाथि पाइला टेक्न इन्कार गर्नेहरू,
आफ्ना देवताहरूका मन्दिरलाई हिंसा
र छलले भर्नेहरू सबैलाई
म दण्ड दिनेछु।
10“त्यस दिन”
याहवेह भन्नुहुन्छ,
“माछा मूलढोकाबाट रुवाबासी सुनिनेछ;
सहरका नयाँ टोलबाट विलाप
र डाँडाहरूबाट ठूलो आवाज सुनिनेछ।
11तिमी बजारमा बास बस्नेहरू, विलाप गर;
तिम्रा सारा व्यापारीहरूको नामनिशानै मेटिनेछन्,
चाँदीका व्यापार गर्नेहरू सबै नाश हुनेछन्।
12त्यस बेला म यरूशलेमलाई बत्ती बालेर खोज्नेछु,
र आफैँमा ढुक्क भएर बस्नेहरू,
जो मद्यका थिग्राजस्तै छन्,
जसले, ‘याहवेहले न असल, न त खराब नै
गर्नुहुन्छ’ भन्नेहरूलाई दण्ड दिनेछु।
13तिनीहरूका धनसम्पत्तिहरू लुटिनेछन्,
तिनीहरूका घरहरू भत्काइनेछन्।
तिनीहरूले घर बनाउनेछन्,
तर त्यसमा तिनीहरू बस्न पाउनेछैनन्;
तिनीहरूले दाखबारी लगाउनेछन्,
तर तिनीहरूले दाखमद्य पिउन पाउनेछैनन्।”
14याहवेहको महान् दिन नजिकै छ—
त्यो नजिकै छ, र अब त्यो चाँडै आउँदैछ।
याहवेहको त्यो दिनको रुवाइ-कराइ अत्यन्तै तितो हुनेछ;
त्यो दिन वीर योद्धा पनि आफ्नो युद्धको निम्ति चिच्याउँदै रुनेछन्।
15त्यो दिन क्रोधको दिन हुनेछ—
सङ्कष्ट र वेदनाको दिन,
कष्ट र सर्वनाशको दिन,
अन्धकार र निराशाको दिन,
बादल र घोर अन्धकारको दिन।
16सुरक्षित किल्ला भएका सहरहरूका विरुद्धमा
र कुनाहरूमा रहेका धरहराहरूको विरुद्धमा
तुरही र लडाइँको आवाज सुनिने दिन।
17“म सबै मानिसहरूमाथि यस्तो सङ्कष्ट ल्याउनेछु,
कि तिनीहरू अन्धा मानिसहरूजस्तै छामछाम-छुमछुम गर्नेछन्;
किनकि तिनीहरूले याहवेहको विरुद्धमा पाप गरेका छन्।
तिनीहरूको रगत धुलोझैँ
र तिनीहरूका आन्द्राभुँडी गोबरझैँ फ्याँकिनेछन्।
18तिनीहरूलाई याहवेहको क्रोधको दिनमा,
न त तिनीहरूका सुनले,
न त तिनीहरूका चाँदीले तिनीहरूलाई बचाउनसक्नेछ।”
उहाँको डाहको आगोमा
सारा संसार भस्म पारिनेछ;
किनकि यस पृथ्वीमा बसोबास गर्ने
सबैलाई उहाँले अचानक अन्त्य गर्नुहुनेछ।
अहिले सेलेक्ट गरिएको:
सपन्याह 1: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.