हबकूक 3
3
हबकूकको प्रार्थना
1शिग्गिओनोथको रागमा हबकूक अगमवक्ताको प्रार्थना।
2हे याहवेह, मैले तपाईंको कीर्ति सुनेको छु;
हे याहवेह, म तपाईंका कामहरूद्वारा अचम्मित भएको छु!
हाम्रो समयमा पनि त्यस्ता कामहरू फेरि गर्नुहोस्;
हाम्रो समयमा ती कार्यहरू फेरि प्रकट गर्नुहोस्।
तपाईंको क्रोधमा आफ्नो दया सम्झनुहोस्!
3परमेश्वर तेमानबाट आउनुभयो,
पवित्र परमेश्वर पारान पर्वतबाट आउनुभयो। सेला
उहाँको गौरवले आकाशमण्डललाई ढाक्यो;
अनि उहाँको प्रशंसाले सारा पृथ्वी भरियो।
4उहाँको गौरव सूर्योदय जस्तै थियो;
उहाँका हातबाट ज्योतिको किरण चम्कन्थ्यो,
जहाँ उहाँको शक्ति लुकेको थियो।
5उहाँको अगाडि महामारी फैलिँदै गयो;
उहाँको पछि-पछि रूढी लाग्यो।
6उहाँ उभिनुभयो र पृथ्वीलाई हल्लाउनुभयो;
उहाँले हेर्नुभयो र राष्ट्रहरू थरथर काँप्न थाले।
प्राचीन पर्वतहरू चकनाचुर भए;
अनि पुराना पहाडहरू ध्वस्त भए।
तर उहाँका मार्गहरू अनन्तकालसम्म उस्तै छन्।
7मैले कूशनका पालहरू कष्टमा परेका देखेँ;
मिद्यानका वासस्थानहरू त्रासले काँपिरहेको देखेँ।
8हे याहवेह, के तपाईं नदीहरूसँग रिसाउनुभएको थियो?
के तपाईंको क्रोध खोलानालाको विरुद्धमा थियो?
जब तपाईं आफ्ना घोडा
र विजयका रथहरूमा सवार हुनुहुन्थ्यो,
तब के तपाईं समुद्रको विरुद्धमा क्रोधित हुनुहुन्थ्यो?
9तपाईंले आफ्नो धनु निकाल्नुभयो,
र तपाईंले ताँदोमा धेरै वाणहरू चढाउनुभयो। सेला
तपाईंले पृथ्वीलाई नदीहरूले विभाजन गर्नुभयो;
10तपाईंलाई देखेर पर्वतहरू थर्किए।
प्रचण्ड जलस्रोतहरू वेगले बगेर गए;
गहिरो समुद्र गर्ज्यो
र त्यसका छालहरू माथिसम्म उठे।
11वेगले उडेका तपाईंका वाणहरू चम्कँदा,
तपाईंको चम्किलो भाला बिजुलीझैँ चम्कँदा,
आकाशमा सूर्य र चन्द्रमा टक्क अडिए।
12क्रोधमा तपाईं पृथ्वी पार गर्दै हिँड्नुभयो,
र रिसमा तपाईंले राष्ट्रहरूलाई दाइँ गर्नुभयो।
13तपाईं आफ्नो जातिलाई छुटकारा दिन
र आफ्ना अभिषिक्त जनलाई उद्धार गर्नका लागि निस्केर आउनुभयो।
तपाईंले दुष्टताको देशका मुख्य अगुवालाई कुल्चनुभएर
त्यसलाई टाउकोदेखि पैतालासम्म नाङ्गो पार्नुभयो।
14जब त्यसका योद्धाहरू हामीलाई तितरबितर पार्नलाई खनिएका थिए,
र लुकिबसेका दुःखीहरूलाई निल्न रमाउँदै आएका थिए,
तब तपाईंले त्यसको आफ्नै भालाले
त्यसको टाउको छेडिदिनुभयो।
15तपाईंले महासागरलाई मन्थन गर्दै,
आफ्ना घोडाहरूले समुद्रलाई कुल्चनुभयो।
16मैले यी सबै सुन्दा मेरो मुटुको ढुकढुकी बढ्यो;
त्यो आवाज सुनेर मेरा ओठहरू कामे;
मेरा हाडहरू भित्रभित्रै मक्किए,
र मेरा खुट्टाहरू थरथर कामे।
तरै पनि म त्यो विपत्तिको दिनलाई धैर्यतासाथ पर्खनेछु,
जुन हामीलाई आक्रमण गर्ने राष्ट्रमाथि आउनेछ।
17चाहे नेभाराको रूखमा मुनाहरू नलागोस्,
र अङ्गुरको बोटमा फल नफलोस्;
चाहे जैतुनको रूखले फल नफलाओस्,
र खेतबारीले अन्नबाली नउब्जाओस्,
चाहे खोरमा भेडाबाख्रा
र गोठहरूमा गाईबस्तु नरहून्।
18तापनि म याहवेहमा रमाउनेछु।
मेरो उद्धारकर्ता परमेश्वरमा आनन्दित हुनेछु।
19प्रभु याहवेह मेरो बल हुनुहुन्छ;
उहाँले मेरा खुट्टालाई हरिणीका खुट्टाझैँ बनाउनुहुन्छ;
उहाँले मलाई अग्ला-अग्ला स्थानहरूमा हिँड्न सक्षम बनाउनुहुन्छ।
सङ्गीत निर्देशकको निम्ति। मेरो तारवाला बाजामा बजाइने राग।
अहिले सेलेक्ट गरिएको:
हबकूक 3: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.