तीतस 3
3
जे असल छ त्यही गर्नु
1शासकहरू तथा अख्तियारवालाहरूको अधीनतामा बस्नू, आज्ञाकारी हुनू, जे असल छ, सो गर्नू भनी तिनीहरूलाई सम्झना गराउनू। 2तिनीहरूले कसैको बदनामी नगरून्, मिलापमा रहून्, विचारशील होऊन् र सधैं सबै मानिसहरूप्रति नम्रता देखाऊन्।
3कुनै समय हामी पनि मूर्ख, अनाज्ञाकारी, अनि सबै किसिमका अभिलाषा र सुख विलासद्वारा ठगिएका र सेवक बनाइएकाहरू थियौं। हामी द्वेष र डाहामा जिउने, घृणा गरिएका र एक-अर्कालाई घृणा गर्नेहरू थियौं। 4तर जब हाम्रा मुक्तिदाता परमेश्वरको दया र प्रेम देखा पर्यो, 5उहाँले आफ्ना कृपाको कारण हामीलाई बचाउनुभयो। हामीले गरेका धार्मिक कामहरूको कारणले होइन। उहाँले हामीलाई पुनर्जीवनको स्नान अनि पवित्र आत्माको नवीकरणद्वारा बचाउनुभयो, 6जुन आत्मालाई उहाँले हाम्रा मुक्तिदाता येशू ख्रीष्टद्वारा हामीमा प्रशस्त गरी खन्याउनुभयो। 7उहाँको अनुग्रहद्वारा हामीलाई धर्मी ठहराउनुभयो र अनन्त जीवनको उत्तराधिकारी हुनेछौं भन्ने आशा दिनुभयो। 8यो भनाइ विश्वासयोग्य छ। तिमीले यी कुराहरूमा जोड दिएको म चाहन्छु, कि जसले परमेश्वरमा भरोसा राखेका छन्, तिनीहरूले जे असल छ, सो गर्नमा आफूलाई लगाऊन्। यी कुराहरू हरेकको लागि अति उत्तम र लाभदायक छन्।
9तर मूर्खतापूर्ण विवादहरू, वंशावलीहरूका महान्ताको बारेमा कुरा गर्नमा, व्यवस्थाबारे तर्कवितर्क र झगडाहरूबाट अलग बस; किनकि यी बेफाइदा र व्यर्थका हुन्। 10विभाजन ल्याउने व्यक्तिहरूलाई दोस्रो पटकसम्म चेतावनी देऊ, त्यसपछि तिनीहरूसित तिमीहरूको कुनै सम्बन्ध नहोस्। 11तिमीलाई यो थाहै छ, कि यस्ता मानिसहरू पापमा लागेका हुन्छन्, र तिनीहरूका आफ्नै पापले तिनीहरूलाई दोषी ठहराइएका हुन्छन्।
अन्तिम सल्लाहहरू
12मैले अर्तिमास अथवा तुखिकसलाई तिमीकहाँ पठाउनासाथै, तिमी मकहाँ निकोपोलिसमा आउनलाई सकभर प्रयास गर, किनकि मैले त्यहाँ हिउँद कटाउने निश्चय गरेको छु। 13कानूनविद् जेनास र अपोल्लोसलाई यात्रामा सहायता दिनलाई भरमग्दूर प्रयत्न गर; ताकि तिनीहरूलाई आवश्यक पर्ने हरेक थोक प्राप्त होस्।
14जे असल छ, हाम्रा मानिसहरूले त्यो गर्न सिकून्, ताकि नभई नहुने खाँचोहरूका लागि तिनीहरूले मदत दिन सकून्; र तिनीहरूका जीवन निष्फल नहोस्।
15मसँग भएका सबैले तिमीलाई अभिवादन पठाएका छन्।
हामीलाई विश्वासमा प्रेम गर्ने सबैलाई हाम्रो अभिवादन भनिदेऊ।
तिमीहरू सबैसँग अनुग्रह रहोस्!
अहिले सेलेक्ट गरिएको:
तीतस 3: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.