अब नाओमीका पति एलीमेलेकको वंशका एक जना हुनेखाने कुटुम्ब थिए, जसको नाम बोअज थियो। मोआबी रूथले नाओमीलाई भनिन्, “जसले मप्रति कृपादृष्टि देखाउला, त्यसको पछि शिला-बाला बटुल्न मलाई खेतमा जान दिनुहोस्।” नाओमीले तिनलाई भनिन्, “जाऊ, मेरी छोरी।” यसकारण तिनी गइन्। अनि कटनी गर्नेहरूका पछि-पछि शिला-बाला बटुल्न थालिन्। यही क्रममा तिनी बोअजको खेतमा काम गर्न पुगिन्, जो एलीमेलेकका वंशका मानिस थिए। त्यसै बेला बोअज बेथलेहेमबाट आइपुगे। अनि कटनी गर्नेहरूलाई अभिवादन गरे, “याहवेह तिमीहरूसित होऊन्!” तिनीहरूले जवाफ दिए, “याहवेहले तपाईंलाई आशिष् देऊन्!” कटनी गर्नेहरूका नाइकेलाई बोअजले सोधे, “त्यो जवान स्त्री को हो?” त्यस नाइकेले जवाफ दिए, “त्यो एउटी मोआबी स्त्री हो, जो नाओमीसित मोआबबाट आएकी हो। उसले भनी, ‘दया गरी मलाई कटनी गर्नेहरूका पछि-पछि बिटाहरूका बीचमा शिला-बाला बटुल्न दिनुहोस्।’ उसले खेतमा आएर बिहानदेखि अहिलेसम्म नबिसाई काम गरिरहेकी छे; छहारीमुनि एकछिन मात्र आराम गरेकी छे।” यसकारण बोअजले रूथलाई भने, “मेरी छोरी, मेरा कुरा सुन। तिमी यहाँबाट अरू कुनै पनि खेतमा शिला-बाला बटुल्न नजाऊ, र यहाँबाट कहीँ टाढा नजाऊ। मेरो खेतमा काम गर्ने केटीहरूसँग यहीँ बस। मानिसहरूले कहाँ-कहाँ कटनी गर्दैछन्, सो हेर; अनि केटीहरूका पछि-पछि लाग। तिमीलाई नछुनू भनी मैले सेवकहरूलाई भनेको छु। तिमीलाई तिर्खा लागेमा तिनीहरूले भरिराखेका गाग्राहरूबाट पानी पिऊ।”
रूथ 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रूथ 2:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू